काठमाडौँ- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नुवाकोटको ककनीमा दुईदिने राष्ट्रिय एकता कला कार्यशाला सुरु भएको छ। ऐतिहासिक ककनी पौवा गुठीको आयोजनामा पुस २६ र २७ गते सञ्चालन हुने कार्यशालामा देशका प्रतिष्ठित ललितकला कलाकारहरू सहभागी छन्।
प्रथम प्रधानमन्त्री भीमसेन थापाका कान्छा भाइ कमान्डर रणवीरसिंह थापा (स्वामी अभयानन्द) ले १८८८ सालमा बटुवाहरूलाई बास, पानी र बस्ती विस्तार गर्ने उद्देश्यले २४ हजार रोपनी जग्गा गुठी राखेर पौवा स्थापना गरेका थिए। सोही ऐतिहासिक स्थलमा आयोजित कार्यशालाको मुख्य उद्देश्य कलाका माध्यमबाट राष्ट्रिय एकता, इतिहास र संस्कृतिको संरक्षण गर्नु रहेको आयोजकले जनाएका छन्।
कार्यक्रममा ककनी पौवा गुठीका गुठियार शशिविक्रम थापाले गुठीको जग्गा र यसको ऐतिहासिक पहिचानमाथि भइरहेको आक्रमणप्रति चिन्ता व्यक्त गरे। ‘पहिले २४ हजार रोपनी रहेको यो गुठीको जग्गा विभिन्न मन्त्रिपरिषद्का निर्णय र अतिक्रमणका कारण अहिले निकै खुम्चिएको छ’, थापाले भने, ‘गुठी मासिए हाम्रो संस्कृति र पहिचान समाप्त हुन्छ भन्ने तथ्यलाई सबैले बुझ्न जरुरी छ।’
उनले ककनी पौवाको ऐतिहासिक मौलिकतालाई लिएर सञ्चारमाध्यममा भइरहेको ‘भ्रामक प्रचार’ को पनि खण्डन गरे। लेखक डायमनशमशेर राणाको उपन्यास ‘बसन्ती’ मा आधारित चलचित्रको छायांकन यसै परिसरमा भएपछि कतिपय मिडियाले यसलाई ‘बसन्ती दरबार’ भनी गलत प्रचार गरेको र यसले गर्दा पौवा गुठीको वास्तविक इतिहास ओझेलमा परेको उनको भनाइ छ।

चित्रमार्फत ‘पृथ्वी पथ’ को खोजी
‘एउटा चित्रले हजार शब्द बोल्छ’ भन्ने मान्यताका साथ गुठीको संघर्ष, इतिहास र पृथ्वीनारायण शाहले देखाएको ‘पृथ्वीपथ’ का सिद्धान्तलाई रङ र रेखामार्फत अभिव्यक्त गर्न कलाकारहरू सक्रिय छन्। कार्यशालामा तयार पारिएका चित्रहरूलाई ककनी पौवा गुठी परिसरमै चित्र संग्रहालयका रूपमा जीवन्त प्रदर्शनी गरिने उद्देश्य राखिएको छ।
कार्यशालामा रामकृष्ण थापा, सुवास आचार्य, केदार दाहाल, दिवेश प्रधान, आवरण पौडेल, हरि प्रजापति, प्रवीण श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, मंगल प्रजापति, गौरी मैया कोजु, राजेन्द्र याकामी, लक्ष्मीप्रसाद खोटेजा र सुभाष खड्काले आफ्ना कलाकृति सिर्जना गरिरहेका छन्।
अभियान सफल बनाउन स्याटरडे प्लेनियर, पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति, बर्ड हिल फार्मस्टे, इन्फिनिटी र प्रिज्मा आर्ट प्रिन्ट स्टेसनरीले सहयोग पुर्याएका छन्।



