पोखरा- राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बुधबार मनोनयन दर्ता हुँदैछ। गण्डकी प्रदेशमा रिक्त दुई सिटका लागि बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। उनले मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
न्यौपानेले भने, ‘पोखराको राष्ट्र बैंकचोकस्थित कार्यालयमा आवश्यक सामग्रीहरु तयारी अवस्थामा राखिएको छ भने यसअघि दलहरूसँग पनि छलफल भइसकेको छ।’ प्रदेश निर्वाचन कार्यालय पोखरामा राजनीतिक दलका प्रतिनिधिहरुसमेतको उपस्थितिमा गत साता प्रदेशस्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो। आयोगले कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई निर्वाचन अधिकृत तोकेको छ।
गण्डकीमा अन्य क्लष्टर र महिला खुला क्लष्टरमा आगामी ११ माघमा निर्वाचन हुनेछ। यसअघि निर्वाचित नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले) नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएको हो।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने व्यवस्था छ। प्रदेश सांसदको मतदाता ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ। यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ थियो।
६० सदस्यीय गण्डकी प्रदेशसभामा राजीव गुरुङ (दीपक मनाङे) हाल कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकाले उनी मतदानमा भाग लिन पाउने छैनन्। ८५ पालिका रहेको गण्डकीमा हाल प्रमुख उपप्रमुख गरी १७० जना छन्।
गण्डकीमा मतभार कति?
गण्डकी प्रदेशसभामा हाल नेपाली कांग्रेसका सबैभन्दा धेरै २७ जना सांसद छन्। एमालेका २२ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ७ जना सांसद छन्। राप्रपाका २, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का १ जना सांसद छन्। स्वतन्त्र उम्मेदवार मनाङे कारागारमा छन्।
प्रदेशसभा तथा पालिकातर्फ सबैभन्दा ठूलो दल कांग्रेस र एमाले नै हुन्। प्रदेशसभातर्फ कांग्रेस एक्लैको १४३१ मतभार छ। एमालेको ११६६ छ। यसै गरी, पालिकातर्फ कांग्रेसका निर्वाचित ६७ जना प्रमुख–उपप्रमुखबाट मतभार १२७३ हुन आउँछ। यसरी प्रदेश र पालिकाबाट कांग्रेसको कुल मतभार २७०४ रहेको छ।
उता, एमालेको पालिकातर्फ ७० जना प्रमुख–उप्रमुखबाट मतभार १३३० छ। प्रदेश र पालिका दुबै जोड्दा एमालेको २४९६ रहेको छ।
प्रदेशमा समेत कांग्रेस र एमाले गठबन्धनले निरन्तरता पाए दुबै दलका उम्मेदवार निर्वाचित हुने पक्का छ। नेकपाको ७ सांसदको मतभार ३७१ छ। पालिकामा ३० जनप्रतिनिधि (एकीकृत समाजवादीसमेत) ५७० मतभार छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एकीकत समाजवादीबाट निर्वाचित भएका थिए। पालिकामा ३ पद जितेको राष्ट्रिय जनमोर्चाको ५७ मतभार छ। राप्रपाका २ सांसदको मतभार १०६ मतभार छ। नयाँ शक्तिको मात्र ५३ मतभार छ। दलहरु गठबन्धनबारे अझै पनि छलफलमै छन्। उम्मेदवार टुंगो लागिसकेको छैन।



