जनकपुरधाम- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशबाट रिक्त हुन लागेका चार सिटका लागि राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारहरूको टुंगो लगाएको हो।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र जसपा नेपालले गठबन्धन गरेको छ भने नेकपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको हो।
तीनदलीय गठबन्धनका तर्फबाट कांग्रेसका रञ्जित कर्ण (अपाङ्गत/अल्पसंख्यक) र धर्मेन्द्र पासवान (दलित), एमालेकी रेखा झा (महिला) तथा जसपा नेपाल–लोसपाका तर्फबाट महन्थ ठाकुर (अन्य) क्लस्टरबाट उम्मेदवार बनेका छन्।
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने सहमति भएपछि ठाकुरलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरिएको हो। महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका ठाकुर यसपालि राष्ट्रियसभातिर गएका हुन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले उम्मेदवारी दिने पक्का जस्तै भएपछि उनी राष्ट्रियसभा रोजेको बताइन्छ। यसअघि २०७४ सालको निर्वाचनमा ठाकुरलाई सहयोग गर्न कांग्रेबाट चुनाव लडेका बजरंग नेपालीले गठबन्धन नभए पनि उम्मेदवारी नै फिर्ता लिएका थिए।
२०७९ को निर्वाचनमा गठबन्धनमा परेका कारण कांग्रेसले महोत्तरी ३ मा आफ्नो उम्मेदवार दिएन। यसपालि भने कांग्रेसले महोत्तरी ३ बाट पुराना नेता रामचन्द्र तिवारीलाई सिफारिस गरेको छ।
पुस १४ गते जसपा नेपाल र लोसपाबीच पार्टी एकीकरण गर्ने निर्णय भएपछि जसपा नेपालले ठाकुरलाई राष्ट्रियसभा निर्वाचनका लागि अघि सारेको हो।
त्यस्तै नेकपाले पनि मधेश प्रदेशबाट रिक्त हुन लागेका चारवटै सिटका लागि उम्मेदवार खडा गरेको छ। नेकपाले शम्भु पासवान, लक्ष्मण पौडेल, रामानन्द प्रसाद र समी अग्रवाललाई उम्मेदवार बनाएको छ।
मधेश प्रदेशमा दलित, अपाङ्गता/अल्पसंख्यक, महिला र अन्य समूहका लागि राष्ट्रियसभा निर्वाचनका लागि चुनाव हुन लागेको हो।
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। उम्मेदवारी दर्ताका लागि विभिन्न दलबाट छानिएका उम्मेदवारहरू प्रदेश राजधानी जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्।



