काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका मधेश प्रदेशबाट मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन्। आइतबारसम्म मनोनयन फिर्ताका लागि अन्तिम समय रहेकोमा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन कार्यालयले जनाएको हो।
राष्ट्रियसभा सदस्य निर्वाचन कार्यालय मधेश प्रदेशका निर्वाचन अधिकृत सुभाषबाबु पुरीले कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नलिँदा ११ उम्मेदवार कायम रहेको जानकारी दिए।
मधेश प्रदेशमा अन्य, अपाङ्गता÷अल्पसंख्यक, महिला र दलित गरी चार समुहका लागि निर्वाचन हुन लागेकोे हो।
नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनसँग सहकार्य गरेर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनय दर्ता गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारहरूले समेत मनोनयन फिर्ता लिएका छैनन्।
कांग्रेस–एमाले गठबन्धनमा रहेको जसपा नेपाललाई मधेश प्रदेशबाट अन्यमा एक सिट दिने सहमति भएको थियो। यही सहमतिअनुसार तत्कालीन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उम्मेदवार बनाइएको थियो।
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय भए पनि त्यो बेलासम्म एकीकरणले औपचारिकता पाएको थिएन। एकीकरणले औपचारिकता पाउन बाँकी रहेको भन्दै जसपा नेपालले अपाङ्गता÷अल्पसंख्यक, महिला र दलित समूहमा उम्मेदवारी दिएको थियो।
जसपा नेपालले दलित समूहतर्फ चमेली देवी दास, महिलातर्फ चन्द्रकला साह र अल्पसंख्यकतर्फ शैलेश चौधरीलाई उम्मेदबार बनाएको थियो। कांग्रेस–एमाले गठबन्धनसँग थप एक सिट पाउनुपर्ने सर्त राख्दै जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको थियो।
तर, आइतबार जसपा नेपाल र लोसपाबीच एकीकरणको औपचारिक घोषणा भएको छ। दुवै दलबीच औपचारिक घोषणा भएसँगै राष्ट्रियसभामा मधेश प्रदेशबाट जसपा नेपालका उम्मेदवारहरूको उम्मेदवारी निष्क्रिय पार्ने सहमति भएको छ।
जसपा नेपालका केन्द्रीय समन्वय समिति सदस्य एवं तत्कालीन लोसपा नेता जितेन्द्र सोनलले समय सकिएकोले उम्मेदवारी फिर्ता हुन नसकेको बताए। उम्मेदवारी फिर्ता नभए पनि निष्क्रिय पार्ने सहमति भएको उल्लेख गरे। यसमा गठबन्धनले शंका उपशंका गर्ने कुनै ठाउँ नभएको सोनलको भनाइ छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनबाट अल्पसंख्यक र दलिततर्फ कांग्रेसका रञ्जित कर्ण र धर्मेन्द्र पासवान, अन्यतर्फ जसपा नेपालका संरक्षक महन्थ ठाकुर र महिलातर्फ एमालेकी रेखा झा उम्मेवार छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट शम्भु पासवान, लक्ष्मण पौडेल, रामानन्द प्रसाद र समी अग्रवाल उम्मेदवार रहेका छन्। मतभारको हिसाबले कांग्रेस–एमाले–जसपा नेपालको गठबन्धनका उम्मेदवारहरूको जित निश्चतजस्तै देखिएको छ।



