म्युजिक नेपालले ल्यायो १० करोडको लगानीमा पहिलो ‘डल्बी एट्मस’ स्टुडियो

हिमाल प्रेस ४ माघ २०८२ ११:१८
12
SHARES
म्युजिक नेपालले ल्यायो १० करोडको लगानीमा पहिलो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौँ- नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यसहित म्युजिक नेपालले पहिलोपटक डल्बी एट्मस द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ।

कम्पनीले करिब १० करोड रुपैयाँको लगानीमा गौशालाको पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा स्टुडियो निर्माण गरेको हो। स्टुडियो हिजो शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

यो स्टुडियो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना रहेको म्युजिक नेपालले जनाएको छ। उक्त स्टुडियोको सेटअपका लागि बलिउडका साउन्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र वरिष्ठ इन्जिनियर भरत रेड्डी काठमाडौँ आएका थिए।

म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार, स्टुडियो बुकिङ गर्ने पहिलो ३ ग्राहकलाई ५० प्रतिशत छुट दिइनेछ। त्यस्तै, जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

‘नेपाली फिल्ममा जुन लेभलको ध्वनि प्रभाव हुनुपर्ने हो, त्यो नभएको महसुस गरेर हामीले यो जोखिम मोलेका हौं’ ,शर्माले भने, ‘डल्बीले प्रमाणित गरेपछि अब हलिउड र नेपालको ध्वनिको गुणस्तर बराबर हुनेछ।’

डल्बीद्वारा मान्यताप्राप्त स्टुडियो भएकाले अन्तर्राष्ट्रियस्तरमा ध्वनिको गुणस्तर पाइने उनले बताए। ‘डल्बीको लागि यहाँ र हलिउडको साउन्डको लेभल बराबर हुनुपर्छ’ उनले गुणस्तरबारे भने, ‘डल्बीले सर्टिफाइड गरिसक्यो, यो ठूलो उपलिब्ध हो।’

स्टुडियोमा सम्पादन, डीआई, रेकर्डिङ स्टुडियो, प्रि-मिक्सका सबै कार्य हुने जनाइएको छ। ‘फिल्मका सबै पोस्ट-प्रोडक्सन कार्य यहाँ हुन्छ। सुटिङ गरेर आएपछिका सबै काम हुन्छ’ शर्माले भने।

उनका अनुसार स्टुडियोलाई नेपाली मौलिकता दिन विभिन्न कक्षहरूको नाम ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल र राष्ट्रिय चराको नामबाट राखिएको छ।

सगरमाथा कक्षः डल्बी एट्मस मिक्सिङ, मनास्लु कक्षः बहुउद्देश्यीय कोठा, अन्नपूर्ण र ल्होत्सेः एडिटिङ र मिक्सिङ स्विट, धौलागिरीः रेकर्डिङ र कन्ट्रोल रुम, डाँफेः डीआई रुमकाे काम गरिनेछ।

यस स्टुडियोको ठूलो विशेषता यसको ३२.१ डल्बी एट्मस कन्फिगरेसन हो। साधारणतया ५.१ वा ७.१ साउन्ड सिस्टममा आवाज वरिपरिबाट मात्र आउँछ भने ३२.१ डल्बी एट्मस प्रविधिले दर्शकलाई आवाजको बीचमा भएको महसुस गराउने जनाइएकाे छ।

केही समयअघि डल्बीका इन्जिनियर भरत रेड्डीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा नेपालका २० जना साउन्ड इन्जिनियरहरूलाई विशेष तालिमसमेत दिएका थिए।

प्रकाशित: ४ माघ २०८२ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast