विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आधिकारिक कलेज छान्न शिक्षा मन्त्रालयको आग्रह

हिमाल प्रेस ११ माघ २०८२ १६:४६ | Sunday, January 25, 2026
18
SHARES
विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आधिकारिक कलेज छान्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय वा कलेजको आधिकारिकता अनिवार्य रूपमा यकिन गर्न आग्रह गरेको छ।

मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृतिपत्र (एनओसी) अनलाइन पोर्टलमार्फत जारी गरिँदै आएको भए पनि पछिल्लो समय विभिन्न देशमा अध्ययनरत विद्यार्थीहरूबाट आफू अध्ययन गरिरहेको शिक्षण संस्था आधिकारिक नभएको, भौतिक तथा शैक्षिक सुविधा कमजोर रहेको र ठगीमा परेको गुनासो बढ्दै गएको जनाएको छ।

यस्ता गुनासोलाई मध्यनजर गर्दै मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ (संशोधनसहित) को दफा १८ उपदफा ४ अनुसार विश्वविद्यालय वा शिक्षण संस्थाको वेबसाइट उपलब्ध भएको र टाइम्स हाइयर एजुकेशन, क्यूएस वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङ वा साङ्घाई जियातोङ्ग युनिभर्सिटी र्‍याङ्किङको सूचीमा परेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार विभिन्न समयमा विदेशस्थित नेपाली राजदूतावासहरूले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत पठाएका पत्रहरूमा सम्बन्धित देशका आधिकारिक विश्वविद्यालय तथा कलेज पहिचान गर्न सकिने लिङ्कहरू उपलब्ध गराइएका छन्। ती देशहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूले सम्बन्धित आधिकारिक वेबसाइटबाट जारी अफर लेटर, कन्फर्मेसन अफ इन्क्रोलमेन्ट, आई-ट्वेन्टीजस्ता कागजातको आधारमा संस्थाको आधिकारिकता यकिन गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

यसैगरी, अन्य देशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले पनि विश्वविद्यालय वा कलेज उक्त अन्तर्राष्ट्रिय र्‍याङ्किङ सूचीमा परे नपरेको यकिन गरेर मात्र  एनओसी अनलाइन फारम भर्न र वैदेशिक अध्ययनका लागि जान मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले आधिकारिकता नपुगेका शिक्षण संस्थामा अध्ययन गर्न जाँदा भविष्यमा शैक्षिक तथा कानुनी समस्या आउन सक्ने भन्दै विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैलाई सचेत रहन अनुरोध गरेको छ।

प्रकाशित: ११ माघ २०८२ १६:४६ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast