जनकपुरधाम- प्रदर्शनको जगमा बनेको वर्तमान मधेश सरकारमाथि घाइते प्रदर्शनकारीले बेवास्ता गरेको छ। एमाले नेता सरोज यादव नेतृत्वको सरकार अवैधानिक हो भन्दै खारेजीको मागसहित गरिएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका आन्दोलनकारीमाथि प्रदेश सरकारले बेवास्ता गरेको पीडितले बताए।
प्रदर्शनका क्रममा घाइते भएका महोत्तरीको बलवा नगरपालिका-१० निवासी रामेश्वर मण्डलले प्रदर्शनको बलमा बनेको मधेश सरकारले आफ्नो पीडा नसुनेको बताए। उनले भने, ‘प्रदर्शनका क्रममा मेरो खुट्टा भाँचियो। प्रदेश सरकारले उपचारमा लागेको रकम उपलब्ध गराउन त के, एकपटक सोधखोज पनि गरेन।’
एमाले नेता सरोज यादव नेतृत्वको सरकार अवैधानिक रहेको भन्दै खारेजको मागसहित गरिएको सातदलीय गठबन्धनको प्रदर्शनका क्रममा लोसपाका कार्यकर्ता मण्डल प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका थिए।
बायाँ खुट्टा भाँचिएका मण्डललाई सुरुमा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्रमा सेन्टरमा रेफर गरिएको थियो।
ट्रमा सेन्टरमा समेत तत्काल उपचार सम्भव नभएपछि उनलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। केही दिनपछि पुनः ट्रमा सेन्टरमै लगेर खुट्टाको शल्यक्रिया गरिएको थियो। मण्डलले उपचारका लागि ऋणसापटी लिएर अढाई लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको बताए। ‘बैसाखीको सहारामा सामान्य हिँडडुल गरिरहेको छु। उपचारमा लिइएको ऋणसाप्टी रकम चुक्ता गर्नुपर्ने र परिवारको जोहो कसरी गर्ने चिन्ताले सताइरहेको छ।’
दुई महिनादेखि अस्पतालमा उपचाररत मण्डललाई अस्पतालले अझै ३/४ महिना बेड रेस्टमा बस्न भनेको छ।
मुख्यमन्त्रीसहितका प्रतिनिधिले उनको सोधखोज नगर्दा उनी निकै चिन्तित देखिएका छन्। ‘जुन आन्दोलनको बलमा सातदलीय गठबन्धनले कांग्रेसका कृष्ण यादवको नेतृत्वमा सरकार गठन गर्यो, त्यही सरकारका मुख्यमन्त्रीसहित कुनै पनि प्रतिनिधिले स्वास्थ्य अवस्थाबारे सोधखोजसमेत गरेको छैनन्’, मण्डलले भने। उनले आफ्नै पार्टी लोसपाबाट मन्त्री बनेकी रानीशर्मा तिवारीले पनि चासो नदिएको बताए।
प्रहरीको लाठीबाट प्रदर्शनकारीतर्फ मण्डलसहित लोसपाका मधेश प्रदेशका प्रमुख सचिव रामविनोद चौधरी (पप्पु), विधान झा (कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाका छोरा), वीरेन्द्र यादव, ज्ञानेन्द्र झा ‘ज्ञानु’, सौरभ चौधरी, वीरेन्द्र मण्डल, बजरंग साह, रामेश्वर मण्डल, देवेन्द्रकुमार यादव, नवीनकुमार झा, अजय पण्डित, अजयकुमार राउत, जयप्रकाश झा, आदर्श मण्डल, मुकेश झा र पत्रकार सुरेन्द्र यादव घाइते भएका थिए। अन्य सबै घाइते उपचारपछि घर फर्किसकेका छन्।
कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका यादव २४ गते बिहान बर्दिवासस्थित एउटा होटेलमा शपथग्रहण गरेपछि विवादमा परेका थिए। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी सात दल आक्रोशित बनेका थिए।
मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन असर पर्ने कुनै कार्य नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको अवस्थामा पदबहाली गर्न खोज्दा विवाद भएको थियो।
पदबहाली कार्यक्रम रोक्न कांग्रेस, जनमत पार्टी, जसपा नेपाल, लोसपा, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत सात दलले जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो।




