महन्थको परिवार ‘मोह’ : जसपा नेपालमा विद्रोह

हिमाल प्रेस १२ माघ २०८२ १४:०५
22
SHARES
महन्थको परिवार ‘मोह’ : जसपा नेपालमा विद्रोह

काठमाडौँ- महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर यसपालि राष्ट्रियसभा सदस्य बन्न रुचाए। ठाकुरकै सम्मानका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उनले प्रतिस्पर्धा गरेको खुला समूहमा मधेश प्रदेशमा आफ्नो उम्मेदवार उठाएनन्। बरु ठाकुरलाई जिताउन उनको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन गरे।

प्रदेशको मतभारको हिसाबले आआफ्नो उम्मेदवार जिताउन कांग्रेस र एमालेकै गठबन्धन पर्याप्त थियो। लोसपा अध्यक्ष ठाकुरलाई राष्ट्रियसभा सदस्य निर्वाचित गराउन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि समर्थन जनायो। त्यसअघि लोसपा र जसपा नेपालबीच एकीकरण गर्ने समझदारी भइसके पनि औपचारिकता भने पूरा गर्न बाँकी थियो।

कांग्रेस-एमालेले ठाकुरलाई समर्थन जनाइरहेकै बेला जसपा नेपालले राष्ट्रियसभा निर्वाचनको अन्य समूहमा आफ्नो छुट्टै उम्मेदवार खडा गर्‍यो। जसका कारण कांग्रेस-एमालेसँग भएको गठबन्धन भाँडिएर ठाकुरको उम्मेदवारी संकटमा पर्ने सम्भावना बढेको थियो।

तर लोसपासँग एकीकरण गर्ने समझदारीमा हस्ताक्षर भएकै दिन जसपा नेपालले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवारहरूको उम्मेदवारी निष्क्रिय गर्ने निर्णय गर्‍यो। आफ्नो उम्मेदवारहरूको उम्मेदवारी निष्क्रिय गर्ने निर्णयसँगै कांग्रेस-एमालेसँगको गठबन्धन यथावत् रहँदा ठाकुर अब राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन्।

उपेन्द्रसँग पार्टी एकता गरेर जसपा नेपालको संरक्षकको जिम्मेवारीमा पुगेका ठाकुर राष्ट्रियसभा सदस्य जाने तय भएसँगै पार्टीका तर्फबाट महोत्तरी-३ का लागि उम्मेदवारको खोजी सुरु भएको थियो।

प्रतिनिधिसभा सदस्यबाट ठाकुरले विराम लिने भएपछि महोत्तरी-३ बाट उम्मेदवार बन्न जसपा नेपालका महासचिव रामकुमार शर्मा, हरिनारायण यादवलगायतका नेताहरू इच्छुक देखिएका थिए। जिल्लाले पनि सम्भावित उम्मेदवारका रूपमा महासचिव शर्मा, हरिनारायण र कृष्णशंकर साहको नाम सिफारिस गरेर पठाएको थियो।

जिल्लाबाट तीनजनाको नाम सिफारिस भए पनि महोत्तरी-३ बाट जसपा नेपालका तर्फबाट बलियो दाबेदार थिए- महासचिव शर्मा र हरिनारायण। जिल्ला र प्रदेशले महासचिव शर्माको पहिलो नम्बरमा नाम सिफारिस गरेको थियो। त्यस्तै दोस्रो नम्बरमा हरिनारायणको नाम सिफारिस भएको थियो।

२०७९ सालको निर्वाचनमा तत्कालीन लोसपा अध्यक्ष ठाकुरसँगै प्रतिस्पर्धा गरेर निकटतम प्रतिद्वन्द्वी भएका हरिनारायणलाई महोत्तरी-३ मा जसपा नेपालको मुख्य दाबेदार ठानिएको थियो। त्यो निर्वाचनमा ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा हरिनारायणले १४ हजार ३२५ मत प्राप्त गरेका थिए।

नाम सिफारिस भएकाहरूलाई किनारा लगाएर संरक्षक ठाकुर भने आफ्नो रुचिअनुसारको उम्मेदवार खडा गर्न चाहेका थिए, महोत्तरी-३ मा।  ठाकुरको रुचिको उम्मेदवार थिइन् आफ्नै छोरी डा. मीनाक्षी ठाकुर। संरक्षक ठाकुरले जिल्लाबाट नामै सिफारिस नभएको छोरी मीनाक्षीलाई महोत्तरी-३ बाट टिकट दिलाए।

ठाकुरले छोरी मीनाक्षीलाई टिकट दिलाएसँगै जसपा नेपाल महोत्तरीमा ‘विद्रोह’ भएको छ। मधेशी जनअधिकार फोरमको स्थापनाकालदेखि पार्टीमा सक्रिय हरिनारायण ‘विद्रोह’ गर्दै स्वतन्त्र उम्मेदवार बनेका छन्। उम्मेदवारी फिर्ता गराउने प्रयास भए पनि हरिनारायण तयार नभएको नेताहरू बताउँछन्।

पार्टीमा योगदान नभएका व्यक्तिलाई उम्मेदवार बनाएपछि आफू स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको हरिनारायण बताउँछन्। ‘ठाकुरलाई नेता मान्यौँ, अब उहाँकी छोरीलाई पनि मानिदिनुपर्ने? त्यसैले स्वतन्त्र उम्मेदवारी दिएँ,’ उनले भने।

विद्रोह गरेर हरिनारायणले स्वतन्त्र उम्मेदवारी दिएपछि महोत्तरी-३ का जसपा नेपालका नेताकार्यकर्ता बाँडिएका छन्। एकीकरणअघि जसपा नेपालमा आबद्ध कतिपय नेताकार्यकर्ता हरिनारायणको समर्थनमा देखिएका छन् भने लोसपासँग आबद्ध मीनाक्षीका पक्षमा उभिएका छन्।

जसपा नेपालका महासचिव रामकुमार शर्मा पार्टीको निर्णय सबैले स्वीकार गर्नुपर्ने बताउँछन्। आफ्नो नाम पहिलो नम्बरमै सिफारिस भए पनि टिकट दिने पार्टीको निर्णय स्वीकार गरेको उनको भनाइ छ। ‘हरिनारयणजीले विद्रोह गर्नु उपयुक्त होइन, पार्टीको निर्णय सर्वोपरि हुन्छ,’ शर्माले भने, ‘पहिलो नम्बरमा मेरो नाम सिफारिस भएको थियो। मीनाक्षीजीलाई टिकट दिने पार्टीको निर्णय स्वीकार गरेँ।’

हरिनारायण यसअघि चारपटक चुनाव लडिसकेकाले यसपालि विद्रोह गर्नुको औचित्य नभएको उनको भनाइ छ। आफू राष्ट्रियसभातर्फ जाने भएपछि छोरीलाई टिकट दिन लगाएर ठाकुर परिवार ‘मोह’ मा फसेको भन्दै आलोचना भइरहेको छ। राजनीतिमा योगदान नगरेकी छोरीलाई उनले टिकट दिन लगाएको आरोप लागेको छ।

संरक्षक ठाकुर भने छोरीलाई टिकट दिन लगाएपछि आलोचना गर्नुको कुनै औचित्य नभएको बताउँछन्। ‘मैले सबैथोक गुमाएको छु, अरूको घरमा बसिरहेको छु, छोरीज्वाइँको घरमा बसिरहेको छु, किन? कसका लागि? त्यसबेला कोही सोध्न आएन,’ छोरी मीनाक्षीको मनोनयन दर्तापछि ठाकुरले भनेका थिए, ‘भारतमा जाँदा जेल, यता आउँदा पनि जेल। त्यसबेला त विद्रोही हामी, आज हामीलाई प्रश्न गर्ने?’आफूमाथि लगाइएको परिवारवादको आरोप निराधार रहेको उनको भनाइ छ। ठाकुर भन्छन्, ‘हामीले युवा पुस्ताको प्रतिनिधित्व गराउन उम्मेदवारी दिएको हो, परिवारवाद र नातावाद होइन।’

संरक्षक ठाकुरले नेता हरिनारायणको ‘विद्रोह’ लाई स्वाभाविक ठान्छन्। उनको भनाइमा यो प्रकृतिको नियम हो। उनी भन्छन्, ‘जान्छन्, यो त ल अफ नेचर हो। पुराना जान्छन्, नयाँ आउँछन्। परिवारमा मातापिता जान्छन्, छोराछोरी आउँछन्।’

महन्थको परिवार ‘मोह’

पहिलो संविधानसभाको असफलतापछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भयो। रेग्मी नेतृत्वको अन्तरिम सरकारमा सहभागी गराइएको मन्त्रीहरू अधिकांश पूर्वसचिव थिए। त्यो सरकारमा उमाकान्त झा ऊर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिँचाइमन्त्री बनेका थिए। त्योबेला मन्त्री बनेका झा जसपा नेपालका संरक्षक ठाकुरका सम्धी हुन्। झालाई मन्त्री बनाउन ठाकुरले नै भूमिका खेलेको बताइन्छ।

त्यसपछि पहिलो संविधानसभामा ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीबाट इन्दिरा झा समानुपातिक सांसद बनेकी थिइन्। इन्दिरा ठाकुरकी सम्धिनी हुन्। सम्धिनीलाई समानुपातिक सांसद बनाउँदा ठाकुरको चर्को आलोचना भएको थियो।

त्यसपछि ठाकुरले सम्धी झालाई प्रदेश प्रमुखसमेत बनाउन लगाए। २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री छँदा उनले सम्धी झालाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख बनाउन लगाएका थिए। ठाकुर नेतृत्वको पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका झा पछिल्लो समय लोसपा र जसपा नेपाल एकीकरण हुँदा समेत समन्वय समितिमा परेका छन्।

कांग्रेस छोडेर मधेश केन्द्रित राजनीतितिर

ठाकुर नेपाली कांग्रेसमा राम्रो पकड भएको नेताका रूपमा स्थापित थिए। कांग्रेसबाटै मन्त्रीसमेत भएका उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। तर दोस्रो मधेश आन्दोलनताका उनले कांग्रेस छोडेर आफ्नै नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी स्थापना गरे।

कांग्रेसको कोषाध्यक्ष रहेकै बेला २०६४ माघ ५ मा उनले तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए। तराई मधेश लोकतान्त्रिक पार्टीले दोस्रो मधेश आन्दोलन सुरु गरेको थियो जसको नेतृत्व ठाकुरले गरेका थिए।

कांग्रेस परित्याग गरेर ठूलो जोखिम मोलेको भन्दै मधेशमा ठाकुरको छवि ‘त्यागी’ नेताको रूपमा थियो। तर, तिनै ठाकुर पछिल्लो समय परिवारवादमा फस्दै आएको आरोप लाग्न थालेको छ।

मधेश आन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ठाकुरले तत्कालीन सर्लाही-४ बाट चुनाव लडे। यो उनको पकड भएको क्षेत्र थियो। २०४८ पछि भएका तीनवटा चुनाव कांग्रेसको प्रत्यासी बनेर उनले त्यो क्षेत्रबाट जितिसकेका थिए।

तर पहिलो संविधानसभा निर्वाचनमा उनी सर्लाही-४ बाट तत्कालीन मधेशी जनअधिकार फोरमका शिवपुजन यादवसँग पराजित भए। त्यस्तै २०७० सालको दोस्रो संविधानसभा चुनावमा ठाकुर कांग्रेसका अमरेशकुमार सिंहसँग हार बेहोरे।

सर्लाहीमा लगातार दुईपटक हार बेहोर्नुपरेपछि २०७४ सालको निर्वाचनमा ठाकुरले महोत्तरी-३ रोजे। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महोत्तरी-३ मा ठाकुर उम्मेदवार बनेपछि सहयोग गर्न भन्दै नेपाली कांग्रेसले आफ्नो उम्मेदवार बजरंग नेपालीलाई उम्मेदवारी फिर्ता गर्न लगाएको थियो।

कांग्रेसले उम्मेदवारी फिर्ता लिएर ठाकुरलाई चुनाव जिताउन प्रचारप्रसारमै जुटेको थियो। २०७९ सालको निर्वाचनमा गठबन्धनमै परेका कारण कांग्रेसले महोत्तरी–३ मा उम्मेदवार नै दिएन। फागुन २१ गते हुने निर्वाचनमा भने कांग्रेसले तिनै बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: १२ माघ २०८२ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast