राष्ट्रिय राजनीतिमा मधेशका मुद्दा उठ्ने मात्र होइन, अब सम्बोधन हुन्छ : सभापति थापा

हिमाल प्रेस १३ माघ २०८२ १३:२७ | Tuesday, January 27, 2026
14
SHARES
राष्ट्रिय राजनीतिमा मधेशका मुद्दा उठ्ने मात्र होइन, अब सम्बोधन हुन्छ : सभापति थापा सर्लाहीमा स्थानीयसँग छलफल गर्दै सभापति थापा।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा स्थानीयसँग कुरा गर्दै सुझबुझका साथ आफू मधेश झरेको बताएका छन्।

थापाले मधेशका समस्या शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएका र ती विषय समग्र देशकै समस्या भएको बताए। त्यसैले मधेशबाट निर्वाचन लड्ने निर्णय आफूले सोचविचार गरेर गरेको उनको भनाइ छ।

‘यहाँका समस्याहरू शिक्षामा छन्, स्वास्थ्यमा छन्, रोजगारीमा छन्, जुन कुरा देशसँग पनि जोडिन्छन्। त्यसैले मधेश आउने कुरा मेरो छनोटको कुरा हो, मेरो सुझबुझको कुरा हो,’ उनले भने, ‘मैले एकदमै रोजेर, छानेर यहाँको माटोसँग आफूलाई जोड्न आएको हुँ।’

उनले सर्लाही जिल्ला पार्टी समितिले पटकपटक उम्मेदवार बन्न आग्रह गर्दै आएको पनि बताए। ‘यो पटक पनि फेरि मलाई यहीँ माया गरेर बोलाउनुभयो। त्यसैले मधेश जाने मेरो मन भएको र सर्लाही क्षेत्र नम्बर ४ ले मलाई अवसर दिनुभएको कारण यहाँ आउने अवस्था बन्यो,’ थापाले भने।

मधेशका मुद्दा नजिकबाट बुझ्न, तिनको पक्षमा लड्न र बहस गर्न सहज होस् भन्ने उद्देश्यले भित्री मधेशको जिल्ला आफ्नो रोजाइमा परेको उनले स्पष्ट पारे।

थापाले अब काठमाडौँमा मधेशसम्बन्धी बहसको स्वरूप नै बदलिने दाबी गरे। ‘अब यति कुरा म विश्वासका साथ भन्न सक्छु कि काठमाडौँमा मधेशको बारेमा हुने बहस अब भिन्न ढंगले हुन्छ,’ उनले भने, ‘हिजो कुनै बेला मधेशका मुद्दा नै उठ्दैनथे। पछि उठ्न थाले, म उठेन भन्दिनँ, तर अब मधेशका मुद्दा उठ्ने मात्र होइन, सम्बोधन पनि हुन्छ।’

प्रकाशित: १३ माघ २०८२ १३:२७ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast