काठमाडौँ- ठमेलमा रहेकाे एलओडी क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२६ का लागि क्याम्पेनमा एलओडी पुनः परेको हो।
डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गरिरहेको हुन्छ।
यस वर्ष पनि एलओडी क्लबले टप १०० क्लबको सूचीमा परेकाले भोट गर्न अपिल गरेको छ। एलओडी नेपालको वेभसाइटमा गएर डिजे टप १०० क्लबमा क्लिक गरेर भोट गर्न सकिने छ।
एलओडी डिजे म्याग टप १०० को छनोटका लागि नोमिनेसनमा पर्नुले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए। सय क्लबको छनोटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ ।
विश्वका उत्कृष्ट क्लबहरूमध्ये एलओडी ४४ औँ स्थानमा छ। एलओडी क्लब सन् २०२२ मा ५२, २०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ।
सन् २०१९ मा स्थापना भएको एलओडीले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल बनाएको श्रेष्ठले बताए। उनका अनुसार साउन्ड र लाइट सिस्टमलाई स्तरोन्नति गर्दै पाहुनाहरूका लागि अझ सहज र सुरक्षित वातावरण बनाएको छ।



