काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी नेपालसँग सहकार्यको सम्भावनाबारे छलफल भइरहेको जानकारी गराएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा खड्काले संविधान निर्माण र संरक्षणमा भूमिका खेलेका शक्तिहरू एक ठाउँमा उभिनु आवश्यक रहेको बताउँदै त्यसका लागि चार दलबीच सहकार्यको तयारी अघि बढिरहेको ब्रिफिङ गरे।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। निर्वाचनबाट रिक्त हुने १९ मध्ये १८ पदका लागि मतदान हुनेछ। कांग्रेसले यस निर्वाचनमा कम्तीमा ६ र बढीमा ८ सिट हासिल गर्ने दाबी गर्दै आएको छ।



