गृहमन्त्री ओमप्रकाश अर्याल। फाइल तस्बिर।
काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन्। आज भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उनले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिए।
गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए। ‘आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,’ उनले भने,‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानुपर्छ।’
सभाका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनःस्थापना र पुनर्लाभको औजार बनाउनुपर्ने बताइन्
कार्यक्रममा कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुनसक्ने बताए।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरू, महानगरपालिकाका नगर सभा सदस्यहरू, विभागीय प्रमुखहरू, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
१९९० माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले बेहाेर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ।



