आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट ५ प्रतिशत नगद लाभांश स्वीकृत

हिमाल प्रेस २४ पुष २०८२ १५:२७ | Thursday, January 8, 2026
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट ५ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौँ- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँको भाटभटेनीस्थित अम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ।

सभामा अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित जोखिमबाट उत्पन्न आर्थिक संकट न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।

बीमा बजारको विकास, पहुँच र विश्वसनीयता कुनै पनि राष्ट्रको आर्थिक स्थायित्व र दिगोपनको सूचक हुने बताउँदै कम्पनीले बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउँदै बीमितको हकहित संरक्षणमा सदैव प्रतिबद्ध रहेको बताए।

सभाले समीक्षा वर्षका लागि सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। साथै कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा निर्माण सम्पन्न भएको ११ तले भवन (२ तले पार्किङसहित) माघ २०८२ भित्र हस्तान्तरण भई प्रधान कार्यालय नारायणचौरबाट सोही भवनमा सर्ने जानकारी दिइयो। आवश्यक चार तल्ला प्रयोग गरी बाँकी तल्ला भाडामा लगाइने पनि सभालाई अवगत गराइयो।

सभामा जानकारी गराइएअनुसार चालु आर्थिक वर्षको भदौ २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’ का कारण निर्जीवन बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको दाबी परेको छ भने असोज १८ पछि परेको अविरल वर्षा, बाढी र पहिरोबाट करिब ४ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। यद्यपि सरकारी नीतिगत सुधार, आर्थिक सूचकांक र सेयर बजारमा देखिएको सकारात्मक संकेतले आगामी दिनमा आर्थिक गतिविधि सुदृढ हुँदै जाने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए।

प्रविधिमैत्री सेवा अपरिहार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले डिजिटल, सरल र ग्राहकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेको जानकारी पनि सभामा दिइयो। त्यस अवसरमा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले देशका सातै प्रदेशमा फैलिएका ९० शाखा सञ्जालमार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरद्वारा सेवा दिइरहेको जानकारी गराए। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको र निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनीका रूपमा रहेको उनले बताए।

उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा क्षेत्रको कुल बीमा प्रिमियम ४१ अर्ब १७ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षमा ६.७७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा कम्पनीले ६.३२ प्रतिशत वृद्धि गर्दै ३ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ। समीक्षा वर्षमा १८ हजार ५०० दाबीका लागि २ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरिएको र सरकारलाई कर बापत ७९ करोड ८७ लाख रुपैयाँ योगदान गरेको जानकारी पनि दिइयो।

कम्पनीले स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्दै नयाँ स्वास्थ्य बीमा योजना सुरु गरेको छ जसअन्तर्गत नेपालका अधिकांश अस्पतालबाट नगद रहित सेवा उपलब्ध हुने तथा भारतमा समेत सेवा लिन सकिने व्यवस्था गरिएको छ। साथै पहिलोपटक नेपालमा विदेशी ट्रेकिङ तथा पर्वतारोहण पर्यटकका लागि विशेष नगद रहित बीमा योजना सुरु गरिएको जानकारी पनि सभामा दिइयो।

सभाको अन्त्यमा अध्यक्ष ढकालले सभामा सहभागी भई सबै प्रस्तावहरू अनुमोदन गर्ने सेयरधनीप्रति आभार व्यक्त गर्दै नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नियामक निकाय तथा ग्राहकप्रति धन्यवाद ज्ञापन गरे।

प्रकाशित: २४ पुष २०८२ १५:२७ | Thursday, January 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast