नयाँ दिल्ली- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले टी-२० विश्वकपका खेल स्थल परिवर्तन गर्न गरेको माग अस्वीकार गरेको छ। आईसीसीले बंगलादेशले भारतमै खेल्नुपर्ने बताएको छ। यदि बंगलादेशले खेल्न अस्वीकार गरेमा उसले अंक गुमाउनुपर्नेछ।
मुस्तफिजुर रहमानलाई आईपीएलबाट बाहिर राखिएको र सुरक्षा कारण देखाउँदै बीसीबीले भारतमा टी-२० विश्वकपका खेल खेल्न अस्वीकार गरेको थियो। साथै, आफ्ना खेल श्रीलंकामा सार्न आईसीसीसँग अनुरोध गरेको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार आईसीसी अध्यक्ष जय शाहसहित केही अधिकारीहरू मुम्बईमा उपस्थित थिए। उनीहरूले पहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का अधिकारीहरूसँग छलफल गरे र त्यसपछि बंगलादेश क्रिकेट बोर्डसँग वार्ता गरेका थिए।
आईसीसीले खेलस्थल परिवर्तन नहुने र बंगलादेशले भारतमै विश्वकपका खेल खेल्नुपर्ने निर्णय सुनाएको छ। अन्यथा अंक कटौती गरिने चेतावनी पनि दिएको छ।
विवाद के हो?
डिसेम्बर १६ मा आईपीएल मिनी अक्सनमा कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई ९ करोड २० लाख रुपैयाँमा खरिद गरेको थियो। त्यसपछि बंगलादेशमा हिन्दुहरूको हत्या भएको घटनाका कारण भारतमा मुस्तफिजुरको विरोध हुन थाल्यो। हालसम्म त्यहाँ ६ जना हिन्दुको हत्या भइसकेको बताइएको छ।
पछि बीसीसीआईले मुस्तफिजुरलाई आईपीएल खेल्न अनुमति नदिएको र ३ जनवरीमा केकेआरले उनलाई रिलिज गरेको थियो।
बंगलादेशले आईपीएल प्रसारणमा प्रतिबन्ध लगायो
मुस्तफिजुरलाई केकेआरबाट रिलिज गरिएपछि बंगलादेश क्रिकेट बोर्ड र त्यहाँको सरकारले आईपीएलको प्रसारणमा प्रतिबन्ध लगाएका छन्। साथै भारतमा विश्वकपका खेल खेल्न अस्वीकार गर्दै स्थान परिवर्तनका लागि आईसीसी लाई इमेल पठाएका थिए।
ग्रुप सी मा बंगलादेश
टी-२० विश्वकपमा बंगलादेश ग्रुप सी मा परेको छ। टोलीले फेब्रुअरी ७ मा वेस्टइन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इंग्ल्यान्डसँग खेल्नेछ। यी तीनै खेल कोलकाताको इडेन गार्डेन्स स्टेडियममा हुनेछन्। समूह चरणको अन्तिम खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुनेछ।
पाकिस्तान पनि भारतमा खेल्ने छैन
टी-२० विश्वकपमा पाकिस्तानले पहिले नै आफ्ना खेल श्रीलंकामा सारिसकेको छ। भारत-पाकिस्तानबीचको राजनीतिक विवादका कारण दुवै टोली एकअर्काको देशमा क्रिकेट खेल्दैनन्।
भारतले गत वर्ष च्याम्पियन्स ट्रफीका खेल पाकिस्तानमा खेलेको थिएन। अब पाकिस्तानले पनि भारतमा टी-२० विश्वकपका खेल खेल्ने छैन। भारत-पाकिस्तानबीचको खेलसमेत श्रीलंकाको कोलम्बोमा खेलाइनेछ। दैनिक भास्करबाट



