झापाबाट काठमाडौँ फर्कँदा विमानस्थलमा अपमानित हुनपर्‍यो : ओली

हिमाल प्रेस १० माघ २०८२ १७:०३ | Saturday, January 24, 2026
58
SHARES
झापाबाट काठमाडौँ फर्कँदा विमानस्थलमा अपमानित हुनपर्‍यो : ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

शनिबार पार्टी कार्यालय च्यासलमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।

‘हामी आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो अझै पनि भन्न सकिँदैन,’ ओलीले भने।

अध्यक्ष ओलीले शुक्रबार आफू झापाबाट काठमाडौँ फर्कँदा विमानस्थलमा अपमानित हुनपरेको बताए। माथिबाट आदेश भन्दै आफूलाई सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै उनले आपत्ति जनाए।

‘अस्ती म यताबाट झापा जाँदा मलाई अलिकति राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरूमा,’ ओलीले भने,‘हिजो फर्केर आउँदा के के न म सुन तस्कर हो कि जस्तो चेकिङ गरेको छ, हैरान पारेको छ, अचम्मै त्यो। विदेश जाँदा पनि चिनेका ठाउँमा हामीलाई त्यस्तो गर्दैन, नचिनेको ठाउँमा प¥यो भने देखिन्छ नेपालीहरूलाई हेपेको, हिजो एयरपोर्टमा त्यस्तै गरी हेप्यो, किन यस्तो ग¥या भन्दा माथिबाट आदेश आएको छ भन्यो। ’

अध्यक्ष ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको भन्दै देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे। नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ।

उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दलमात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गरे। नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे। ‘एमाले गन्तव्य नभएको पार्टी होइन, पार्टीहरुको लाइनमा एउटा पार्टीमात्रै होइन,’ उनले भने,‘गन्तव्यमा नपुग्ने गरी ट्रेडमिलमा यात्रा गर्ने पार्टी होइन एमाले, गन्तव्यमा पुग्न यात्रा गर्ने पार्टी हो।’

उनले नयाँ आएका पार्टीहरूको गन्तव्य छैन। ओलीले चुनावअगाडि एमाले सिध्यो भन्ने हल्ला चले पनि चुनावपछाडि सरकार एमालेले नै बनाउने दाबी गरे।

त्यसैगरी एमाले प्रवेश गर्दै अग्रवालले पुँजी बजारको सुरक्षित भविष्य सुनिश्चित गर्न नेकपा (एमाले) मा प्रवेश गरेको बताए। अग्रवालले पारदर्शी, सुरक्षित र लगानीमैत्री पुँजी बजारको माग गर्दै आएको उल्लेख गरे।

प्रकाशित: १० माघ २०८२ १७:०३ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast