प्रतिनिधिमूलक तस्बिर।
ओखलढुंगा- जिल्ला प्रहरी कार्यालयले शृंखलाबद्ध हत्यामा संलग्न आरोपमा चार युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
गत असोजमा चार्खुमा भएको एकल महिलाको हत्या र यही महिना भदौरेमा भएको मगर दम्पत्तिको हत्याको आरोपमा प्रहरीले चिशङ्खुगढी गाउँपालिका-३, दियालेका २८ वर्षीय सङ्गम राई, सोई गाउँपालिका-४, रातमाटेका ३० वर्षीय विनोद राई, रातमाटेकै ३० वर्षीय प्रकाश भुजेल र सोइ गाउँपालिका-८, माम्खाका ३० वर्षीय अशोक भुजेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
सिद्धिचरण नगरपालिका-४, चार्खुकी ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवालको गत असोज २६ गते राति घरमै हत्या गरिएको थियो। हत्यामा संलग्नहरू गरगहना र नगदसमेत लुटेर फरार भएका थिए।
यसैगरी, चिशङ्खुगढी-६, भदौरेमा यही पुस १५ गते किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापामगरको हत्या गरिएको थियो। उनीहरूको हत्या गरी रु एक लाख, सुनको गहना दुई तोला लुटपाट गरी हत्यारा फरार भएका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।



