पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट एवं पार्टी प्रवेश कार्यक्रम भएको छ। पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको समारोहमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु रास्वपा प्रवेश गरेका छन्।
संघदेखि प्रदेशको मन्त्रीसमेत भइसकेका कांग्रेस नेता कुमार खड्का पार्टी प्रवेश गरेसँगै रास्वपाको चुनाव चिन्ह घण्टी बजाएका थिए।
विगतमा अखण्ड नेपाल हुँदै खड्का पछिल्लो समय कांग्रेस प्रवेश गरेका थिए। गत २०७९ सालको चुनावमा आफ्नै पार्टी कांग्रेस उम्मेदवार हराउन भूमिका खुलेको आरोपमा कांग्रेसले निष्कासन समेत गरेको थियो।
बिन्दुकुमार थापालाई प्रदेशसभा सदस्यको टिकट दिइएपछि बिच्किएका उनी थापालाई हराउन भूमिका खेलेको आरोपमा कांग्रेसले केही महिनाअघि निष्कासन गरेर कारबाही गरेको थियो।
उनी अखण्ड नेपाल पार्टीमा रहँदा संघमा महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी पाएका थिए। यस्तै, गण्डकी प्रदेशसभामा उनी भौतिक, पूर्वाधार मन्त्री बनेका थिए।
यसैगरी, रास्वपा प्रवेश गर्नेमा पर्यटन व्यवसायीसमेत रहेका एमाले नेता पुष्प अधिकारी हुन्। उनी कास्कीको रुपाकोटस्थित चल्तीको रुपाकोट रिसोर्टका संचालक हुन्।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालकी अध्यक्ष मिलन थापा पनि कांग्रेस छाडेर रास्वपा गएकी छन्। उनी गण्डकी सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाकै बुहारी हुन्। मिलनका पति अटो व्यवसायी ध्रुव थापा हुन्। जेनजी आन्दोलनका क्रममा विन्दु र ध्रुवको निवास तथा व्यवसायमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो।
पार्टी प्रवेश गर्नेहरुलाई रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झालगायतले घण्टी चिह्न भएको ब्याच लगाएर स्वागत गरेका थिए। कार्यक्रमअघि पोखरामा र्याली प्रदर्शन गरिएको थियो।



