काठमाडौँ- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेशी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन्। अधिकांशले स्वतन्त्र तथा साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरु चर्चामा छैनन्। सञ्चारमाध्यममा पनि मधेशी महिला उम्मेदवारहरुले स्थान पाउन नसकेको गुनासो छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कुल ३८८ महिलाले उम्मेदवारी दिएका छन्। तीमध्ये १५७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
मधेश प्रदेशमा भने ७१ जना स्वतन्त्रसहित १०९ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
मधेश प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन्। तीमध्ये पर्सामा सात जना स्वतन्त्रसहित १२, बारामा १० जना स्वतन्त्रसहित १६, रौतहटमा १० जना स्वतन्त्रसहित १३, सर्लाहीमा तीन जना स्वतन्त्रसहित ६, महोत्तरीमा ११ जना स्वतन्त्रसहित १९, धनुषामा १२ जना स्वतन्त्रसहित १५, सिरहामा पाँच जना स्वतन्त्रसहित आठ र सप्तरीमा १३ जना स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा ओर्लिएका छन्। यसरी यस प्रदेशमा सबैभन्दा बढी महिला उम्मेदवार सप्तरीबाट २० जना र सबैभन्दा कम सर्लाहीबाट ६ जना छन्।
मधेश प्रदेशमा प्रतिनिधिसभाका ३२ सिटमध्ये नेपाली कांग्रेसले दुई जना महिलालाई उम्मेदवार बनाएको छ। तीमध्ये सिरहा-४ मा चन्द्रकला यादव र महोत्तरी-२ मा किरण यादव रहेका छन्। त्यस्तै नेकपा (एमाले) तीन जना महिलालाई उम्मेदवार बनाएको छ। मधेशबाट एमालले उम्मेदवार बनाएका महिलाहरुमा पर्सा–१ मा रिमाकुमारी यादव, बारा–३ मा ज्वालाकुमारी साह र धनुषा–३ मा जुलीकुमारी महतो छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सप्तरी-१ मा पुष्पा चौधरी, महोत्तरी–४ मा गौरीकुमारी यादव र सर्लाही–१ मा नितिमा कार्की (भण्डारी) गरी चार जना महिलालाई उम्मेदवार बनाएका छन्।
नेपाली कम्युनिष्ट पार्टीले दुई जना महिलालाई उम्मेदवार बनाएका छन्। तीमध्ये रौतहट–३ मा पुनम देवी र सप्तरी–४ मा रुबीकुमारी कर्ण रहेका छन् भने जनमत पार्टीले पर्सा–३ बाट मालती कुशवाहा र ४ बाट सीमा कलवारलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन्।
यसै गरी यो प्रदेशमा सबैभन्दा बढी नेपाल मजदुर किसान पार्टीले पाँच जना महिलालाई उम्मेदवार बनाएको छ। तीमध्ये रौतहट–३ बाट रेखा पटेल, सर्लाही–ं३ बाट रमा कोइराला, सप्तरी–२ बाट नीलमकुमारी यादव, धनुषा–३ बाट गङ्गालक्ष्मी वैद्य र महोत्तरी–१ बाट कृष्णश्वरी मानन्धर रहेका छन् भने आमजनता पार्टीले चार जना महिलालाई उम्मेदवार बनाएको छ। तीमध्ये पर्सा–२ बाट रञ्जुकुमारी साह, सर्लाही–४ बाट रिङ्की साह, सप्तरी–४ बाट अनिताकुमारी चौधरी, सिराहा–३ बाट ज्ञानुदेवी दनुवार रहेका छन्।
त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनले दुई जना महिलालाई उम्मेदवार बनाएको छ। तीमध्ये बार–२ राधादेवी महरा र बारा–३ बाट सम्झना गोलेलाई सो पार्टीले उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ओर्लिएको छ।
यसै गरी राप्रपा, श्रम संस्कृति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल राष्ट्रिय जनमोर्चा, राष्ट्रनिर्माण दल नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, जनता समाजवादी पार्टी नेपाल, उज्यालो नेपाल पार्टी, राष्ट्र निर्माण दल, श्रमशक्ति पार्टी र जसपा नेपालबाट एक–एक जनाले उम्मेदवारी दिएका छन्। मधेश प्रदेशमा एक जना पनि महिला उम्मेदवार नभएको क्षेत्र रौतहट–२ रहेको छ। केही पूर्वमन्त्रीहरूको समेत राजनीतिक भविष्य जोडिएको हुनाले त्यस क्षेत्रमा हुने रोचक चुनावी प्रतिस्पर्धाले सबैको ध्यान तानेको छ। अधिकांश महिलाले दलमा अवसर नपाएको र आफ्ना मुद्दा उठाउन स्वतन्त्र उम्मेदवारी दिएका देखिन्छ। केही क्षेत्रमा डमी उम्मेदवारको प्रवृत्ति बढ्दै गएको विश्लेषकहरूको भनाइ छ।
पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य जुलीकुमारी महतो धनुषा क्षेत्र नं.३ बाट नै चुनावी मैदानमा उत्रिएकी छन्। एमालेको राजनीतिमा क्रियाशील भएकी महतो अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएकी थिइन्। नेता महतोले नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका परमेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झा, नेपाली कम्युनिष्ट पार्टीका रामललित मण्डलसहितका उम्मेदवारहरूसँग कडा प्रतिस्पर्धा गरिरहेकी छन्।
यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्रबाट एमालेकी जुली महतोले ३३ हजार ३८८ मत ल्याएर चुनाव जितेकी थिइन्। तर उक्त क्षेत्रमा नेपाली कांग्रेसको समेत बलियो पकड कायम छ। नेता विमलेन्द्र निधिले त्यसै क्षेत्रबाट २०६४ र २०७० को संविधानसभा सदस्यको चुनाव जितेका थिए।
२०६४ मा निधिसँग प्रतिस्पर्धा गर्दा नेता जुली महतो पराजित भएपछि २०७० मा समानुपातिक सांसद बनेकी थिइन्। २०७४ मा भएको निर्वाचनमा तत्कालीन राजपाका नेता राजेन्द्र महतोबाट नेता निधि पराजित भएका थिए। जुली महतो समानुपातिक सांसद बनेकी थिइन्।
त्यस्तै २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेता निधिले समानुपातिक रोज्दा गठबन्धनको तर्फबाट अनिलकुमार झालाई हराउँदै एमालेकी जुली महतो निर्वाचित भइन्। यसपटकको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीका परमेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झा र नेपाली कम्युनिष्ट पार्टीका राम ललित मण्डलसहित अन्य विभिन्न दलबाट उम्मेदवारी दिएकाले रोचक प्रतिस्पर्धा हुने निश्चित छ।
यसै गरी, नेपाली कांग्रेसकी नेत्री किरण यादव महोत्तरी क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन्। महिलाको मुद्दामा लामो समयदेखि लड्ने र नागरिक अधिकार स्थापनाका लागि पनि निकै सक्रियताका साथ लागेकी नेत्री यादवले नेपाली राजनीतिलाई अस्थिरताको भुमरीबाट निकाल्न महिलामैत्री राजनीति अपरिहार्य भएको बताइन्। उनले अहिले महिलाको चाहना समान अवसर तथा स्रोत र शक्तिमा समान अधिकार मात्र होइन, समान उपलब्धि पनि भएको बताइन्। यसका लागि धेरैभन्दा धेरै महिला प्रतिनिधिसभामा जितेर जानुपर्ने उनको भनाइ छ। ‘विभिन्न समयमा भएको सामाजिक र राजनीतिक आन्दोलनले महिला र पुरुषको सामाजिकीकरणको प्रक्रियालाई परिवर्तन गरेको छ,’ उनले भने।
मुख्यतः संघीय लोकतान्त्रिक संविधानको संरक्षणबाट मात्र मधेशको आर्थिक विकासको आधार सिर्जना हुने भएकाले चुनावमा संघीय संविधानको रक्षा र विकासको नारा सँगसँगै लिएर आफू चुनावी मैदानमा होमिएको उनले बताए।
विशेषगरी महोत्तरी-२ कांग्रेसको गढ भए पनि पछिल्लो समय जसपाका नेता शरतसिंह भण्डारीले निरन्तर चुनाव जित्दै आएका छन्। यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेत्री किरण यादव जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, नेकपा (एमाले)का कासिम नदाफ, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणकुमार यादवसहितका उम्मेदवारहरूसँग कडा प्रतिस्पर्धा गरिरहेकी छन्।
यसअघि २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता भण्डारीले लोसपाबाट २५ हजार १९० मत ल्याएर विजयी हुँदा तमलोपाका विजयकुमार सिंहले ११ हजार १२० र एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत ल्याएका थिए। २०७४ मा कांग्रेसले सिट नपाएर भण्डारीले सहजै चुनाव जिते पनि यसपटक कांग्रेसकी किरण यादवसमेत उम्मेदवार भएको हुनाले त्यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
त्यस्तै पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेत्री ज्वालाकुमारी साह बारा क्षेत्र नं.३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन्। यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, जनमत पार्टीका प्रमोदप्रसाद गुप्ता, जसपा नेपालका रामबाबुकुमार यादव र रास्वपाका अरविन्द साहसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेकी छन्।
यसअघि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट एमालेकी ज्वालाकुमारी साहले २० हजार २५१ मत ल्याएर निर्वाचित हुँदा जसपाका रामबाबुकुमार यादवले १७ हजार २७९ र लोसपाका लालबाबु सिंह भुइँहारले ११ हजार ९६४ मत प्राप्त गरेका थिए।
अधिकांश महिला उम्मेदवारहरुले ठूला दल र शक्तिशाली उम्मेदवारबीच किन स्वतन्त्र उम्मेदवार बनेको भन्ने प्रश्नको जवाफमा राजनीतिमा महिलाको उपस्थिति कमजोर छ, त्यसैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर महिला सशक्तीकरणको सन्देश दिएको उनीहरू बताउँछन्।
पछाडि परेका, पीडित र राज्यको पहुँचबाट बाहिर परेका समुदायका घाउमा मलहम लगाउन सकिन्छ भन्ने विश्वासका साथ आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुजिताकुमारी गौतमको भनाइ छ।
‘प्रतिस्पर्धाको कृत्रिम कुरा गरेर सदियौँदेखि उत्पीडन एवं राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारबाट बञ्चित मधेशका अल्पसङ्ख्यक मुस्लिम र दलित महिलाले जितेर आउलान् भनेर नै उनीहरूलाई नल्याउने योजना हो,’ सप्तरी-२ का स्वतन्त्र उम्मेदवार अम्बिकादेवी साफीले भनिन्, ‘निर्वाचनका माध्यमबाट मुलुकमा आफ्नो अधिकार सुनिश्चित गर्न सम्पूर्ण दलित र अल्पसङ्ख्यक मुस्लिम महिलाले चुनावमा सक्रिय सहभागिता जनाउनु पर्दछ।’
चुनावमा महिलालाई अवसर नदिएको विरोधस्वरूप स्वतन्त्र उम्मेदवारी दिनेहरू पनि धेरै छन् । नेपालको राजनीतिक परिप्रेक्ष्यमा महिलाको पहुँच सीमित रहेको र राजनीतिक दलमा महिलालाई नेतृत्व र निर्णायक भूमिकामा अवसर नदिएका कारण स्वतन्त्रमा महिला आउने गरेका छन्।
आगामी फागुन २१ को निर्वाचनका लागि उम्मेदवार बनेका नेता तथा तिनका कार्यकर्ताका नाचगान र नारा जुलुसले मधेश प्रदेशमा चुनावी उल्लास देखिएको छ । ‘महिला र पुरुषको जन्म समान रुपबाट हुने गरे पनि दलहरुमा अझै महिलालाई आलङ्कारिक ( सेरोमोनियल) उपस्थिति गराउने चलन रहेको छ,’ पर्सा क्षेत्र नं २ बाट राप्रपाकोतर्फबाट उम्मेदवार बन्नुभएका वीणा जयसवालले भनिन्, ‘पुरुष त चुनाव जितेर गए तर संघीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वय गर्न सकेनन् भने यसपालि मतदाताले हामीलाई पत्याएमा चुनाव जितेर गएपछि संविधानको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गर्छौं र महिलाको अधिकार पनि सुनिश्चित पार्छौं।’
महिला उम्मेदवारहरूले आफूहरू चुनाव अभियानमा रातोदिन लागेपनि सञ्चारमाध्यमले प्रचारप्रसार नहुँदा खासै चर्चा नहुने गरेको बताउँछन्। -शीतलप्रसाद महतो/रासस



