बाह्य-आन्तरिक चुनौतीले थप जटिल बनाउँदैछ राष्ट्रिय सुरक्षा : प्रधानसेनापति

हिमाल प्रेस ७ माघ २०८२ २१:३३
26
SHARES
बाह्य-आन्तरिक चुनौतीले थप जटिल बनाउँदैछ राष्ट्रिय सुरक्षा : प्रधानसेनापति प्रधानसेनापति अशोकराज सिग्देल, पृष्ठभूमिमा एनडीयूको निर्माणाधीन भवन।

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई अब परम्परागत सैनिक तयारी तथा हतियार प्रणालीमा मात्र सीमित राख्न नहुने स्पष्ट पारेका छन्। उनका अनुसार आजको बहुआयामिक विश्व परिवेशमा राष्ट्रिय सुरक्षा सामाजिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, प्रभावकारी कूटनीति, सबल सूचना संयन्त्र, प्रविधिको सही उपयोग तथा दुरुपयोग नियन्त्रणजस्ता विविध आयामसँग गाँसिएको छ।

‘राष्ट्रिय हितसँग जोडिएका सबै विषय राष्ट्रिय सुरक्षाका अभिन्न अंग बनेका छन्,’ उनले जोड दिए। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को पाठ्यक्रमलाई अन्तिम रूप दिन आयोजित एक दिवसीय कार्यशालाको समापन समारोहमा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था जटिल, बहुआयामिक र चुनौतीपूर्ण बन्दै गएको बताए।

कार्यशालामा प्राप्त सुझाव, राय र गहन छलफलले एनडीयूको पाठ्यक्रमलाई थप सुदृढ, ज्ञानमुखी, व्यावहारिक र समयसापेक्ष बनाउन निर्णायक योगदान पुग्ने उनको विश्वास छ। ‘राष्ट्रिय सुरक्षा अब केवल सैनिक शक्तिको कुरा होइन,’ प्रधानसेनापतिले भने, ‘यो सामाजिक सद्भाव, सुशासनको प्रत्याभूति, आर्थिक स्थिरता, सन्तुलित कूटनीति, सूचना व्यवस्थापन तथा प्रविधिको रणनीतिक प्रयोगसँग अन्तरसम्बन्धित छ। यी सबैलाई समन्वयात्मक रूपमा अघि बढाउन सके मात्र हामीले राष्ट्रिय हितको सही संरक्षण गर्न सक्छौं।’

उनले अन्तर्राष्ट्रिय सुरक्षा परिदृश्यमा बहुपक्षीय संस्थाहरूको प्रभाव कमजोर हुँदै गएको, सूचना प्रविधिको दुरुपयोग बढेको, स्वार्थकेन्द्रित शक्तिहरूको प्रभाव विस्तारित भएको तथा साना राष्ट्रहरूको स्वतन्त्र निर्णय क्षमतामा दबाब परेको उल्लेख गर्दै यस्ता प्रवृत्तिले नयाँ चुनौती थपेको बताए।

नेपालको सन्दर्भमा भूराजनीतिक संवेदनशीलता, तरल आर्थिक अवस्था, विभिन्न समूह तथा संस्थाको गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारीमा अत्यधिक निर्भरता, कृषि तथा औद्योगिक उत्पादनमा आएको परिवर्तन, बढ्दो आय असमानता र बेरोजगारीले सामाजिक तथा आर्थिक संरचनालाई थप जटिल बनाएको उनको विश्लेषण छ। यस्तो बहुआयामिक वातावरणमा बाह्य तथा आन्तरिक चुनौतीहरूको गहन अध्ययन र पूर्वानुमान आवश्यक रहेको पनि उनले बताए।

‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षा व्यवस्था निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो,’ प्रधानसेनापति सिग्देलले भने। राष्ट्रिय सुरक्षाको मूल उद्देश्य राज्यका सम्पूर्ण शक्ति संयन्त्रको समन्वित तथा व्यापक प्रयोगमार्फत राष्ट्रिय हितको संरक्षण गर्नु रहेको उनको भनाइ छ। यसका लागि राष्ट्रिय सुरक्षाका आयाम, क्षेत्र, अभ्यास र विषयवस्तुमा राज्यका सबै निकायबीच साझा बुझाइ, समान धारणा र समन्वित दृष्टिकोण कायम गर्न अनिवार्य रहेको पनि उनले बताए।

नेपालको संविधानले निर्देशित गरेको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहुसांस्कृतिक समाजमा पारस्परिक सद्भाव, सहकार्य र एकता प्रवर्द्धन गर्नु राष्ट्रिय सुरक्षा प्रणाली सुदृढीकरणको आधार भएको उनले उल्लेख गर्दै भने, ‘राष्ट्रिय सुरक्षा नीतिका आधारमा प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा नीति, सार्वभौमिक सूचना नीति, परराष्ट्र नीति र अर्थनीतिजस्ता प्रमुख नीतिहरूबीच समन्वय र साझा सोच कायम गर्न सके मात्र राष्ट्रिय सुरक्षा साँच्चै बलियो बन्न सक्छ।’

प्रधानसेनापति सिग्देलले नेपालको भौगोलिक अखण्डता, सार्वभौम सत्ता र स्वतन्त्रता पुर्खाहरूको दीर्घदृष्टि, राष्ट्रप्रतिको अटल समर्पण, साहस र बलिदानबाट सम्भव भएको स्मरण गराउँदै इतिहास, परम्परा र भूगोलसम्बन्धी ज्ञानको माध्यमबाट आम नागरिकमा राष्ट्रभक्ति र एकताको भावना जागृत गर्न सके मात्र राष्ट्रिय सुरक्षा अझ मजबुत हुने धारणा राखे। यही सन्दर्भमा उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना र सञ्चालन नेपालको राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, राष्ट्रिय एकता तथा दीर्घकालीन रणनीतिक सोचसँग प्रत्यक्ष रूपमा जोडिएको बताए।

‘भविष्यका बहुआयामिक चुनौतीहरू सामना गर्न रणनीतिक तहमा सोच्न सक्ने, अन्तरनिकाय समन्वय गर्न सक्ने तथा राष्ट्रिय हितलाई सर्वोपरि राख्ने नेतृत्व विकास गर्न एनडीयू एक महत्त्वपूर्ण प्लेटफर्म बन्नेछ,’ उनले भने।

हाल एनडीयूको उद्देश्यअनुसार स्थापना, सञ्चालन र व्यवस्थापनका लागि पूर्वाधार निर्माण विकास समिति गठन भई काम तीव्र गतिमा अघि बढिरहेको छ। आर्थिक वर्ष २०८३/८४ देखि राष्ट्रिय प्रतिरक्षा तालिम सञ्चालन गर्ने लक्ष्यका साथ भौतिक पूर्वाधार निर्माण तथा पाठ्यक्रम विकास अन्तिम चरणमा पुगेको जानकारी पनि दिइएको थियो।

काभ्रेको पनौतीमा निर्माणाधीन भवन अन्तिम चरणमा छ भने भद्रकालीस्थित सम्पर्क कार्यालयलाई पनौती स्थानान्तरण गर्ने तयारी भइरहेको छ। कार्यशालामा पूर्व राजदूत डा. शम्भुराम सिम्खडा, दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डे, त्रिभुवन विश्वविद्यालयका डा. पिताम्बर भण्डारी, अवकाशप्राप्त प्राध्यापक डा. मिना वैद्य मल्ललगायतले नेपालको राष्ट्रिय सुरक्षा, एकता र समृद्धिमा एनडीयूको भूमिका विषयमा गहन प्रस्तुति दिएका थिए।

वक्ताहरूले बदलिँदो विश्व राजनीति, तरल अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुआयामिक सुरक्षाका चुनौतीबीच नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील सानो राष्ट्रका लागि रणनीतिक सोच विकास अपरिहार्य भएकोमा जोड दिए। भदौमा घटेका घटनाहरूले समन्वयको अभाव स्पष्ट देखाएको भन्दै यस्ता प्राज्ञिक संस्थाको आवश्यकता झन् बढेको उनीहरूको निष्कर्ष थियो।

कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, सुरक्षा विज्ञ, कूटनीतिज्ञ तथा पत्रकारहरूले सक्रिय सहभागिता जनाउँदै सुझाव तथा जिज्ञासा राखेका थिए। एक दिनभरि चलेको यो कार्यशालामा विश्वविद्यालयको अन्तिम चरणमा रहेको पाठ्यक्रमबारे कार्यकारी निर्देशक तथा पूर्व उपरथी गोकुल भण्डारीले विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

आयोजकका अनुसार, कार्यशालामा राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई परम्परागत सैनिक अवधारणामा सीमित नराखी सामाजिक स्थायित्व, सुशासन, आर्थिक उन्नति, सन्तुलित कूटनीति तथा सबल सूचना संयन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा व्यापक सहमति देखिएको छ।

यो सहमति नेपालको राष्ट्रिय सुरक्षा प्रणालीलाई थप सुदृढ तथा समावेशी बनाउने दिशामा महत्त्वपूर्ण कदम साबित हुनेछ। एनडीयू जस्ता संस्थाहरू विश्वका धेरै मुलुकमा सञ्चालनमा रहेका छन्।

छिमेकीद्वय भारत-चीन, विश्व शक्ति अमेरिका, बेलायत, पाकिस्तान, श्रीलंका, बंगलादेश तथा केही अफ्रिकी राष्ट्रहरूमा यस्ता प्राज्ञिक केन्द्रहरूले उच्च तहका निजामती तथा सुरक्षा अधिकारीहरूलाई रणनीतिक शिक्षा प्रदान गर्दै आएका छन्। नेपालमा पनि यस्तो विश्वविद्यालयले भविष्यका नेतृत्वलाई बहुआयामिक चुनौती सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ माघ २०८२ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast