कास्कीका ३ वटै क्षेत्रमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

हिमाल प्रेस २ माघ २०८२ १९:४२
6
SHARES
कास्कीका ३ वटै क्षेत्रमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

पोखरा- आगामी २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कास्कीमा प्रतिनिधि सभा सदस्यका लागि ३ क्षेत्र कायम छन्।

कास्की क्षेत्र नम्बर ३ को लागि पोखरा–५, मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरियो।

उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेले उद्घाटन गरे। बेल्वासे मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। यो कार्यालयले क्षेत्र ३ को निर्वाचन गराउनेछ। मुख्य निर्वाचन अधिकृत बेल्बासेले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैसँग आग्रह गरे।

सो अवसरमा सहभागी कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा रणनीति बनाएर कार्यान्वयन सुरु भइसकेको बतँइन्। उनले जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा फरार कैदीबन्दी पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएकोसमेत जानकारी दिइन्। कार्यालय स्थापना अवसरमा कास्की विभिन्न दलका प्रतिनिधिसमेत सहभागी थिए।

यसैगरी, क्षेत्र नम्बर १ को निर्वाचनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। क्षेत्र २ को निर्वाचन ड्यामसाइडमा रहेको सिंचाइ कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख नारायण ढकालले जानकारी दिए। क्षेत्र १ मा सीता रेगमी र २ मा निर्मलाकुमारी खड्का निर्वाचन अधिकृत तोकिएका छन्।

आसन्न निर्वाचनमा कास्कीमा ३ लाख ८ हजार ५७२ मतदाता रहेका छन्। गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी मतदाता प्रदेश राजधानी पोखरा (कास्की) मै छन्।

प्रदेश निर्वाचन अधिकृत नारायण ढकालका अनुसार तीमध्ये महिला मतदाता १ लाख ६० हजार १५३ छन्। पुरुष मतदाता संख्या १ लाख ४८ हजार ४१५ छ। अन्य मतदाता ४ जना मात्र छन्। कास्कीमा १५३ मतदानस्थल तोकिएको छ।

गत २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीमा २ लाख ६४ हजार ४५६ मतदाता थिए। अहिले ४४ हजार ११६ मतदाता जिल्लामा थप भएका हुन्। निर्वाचन आयोगले यही ६ माघ प्रत्यक्षतर्फ मनोनयन दर्ताको दिन तोेकेको छ।

प्रकाशित: २ माघ २०८२ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast