काठमाडौँ- काठमाडौँ महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले आफ्ना माग तथा समस्या समाधानको माग गर्दै महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनकाजी श्रेष्ठ र शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीको ध्यानाकर्षण गराएका छन्।
शिक्षकहरूले महँगी भत्ताको तत्काल व्यवस्था, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनुपर्ने, तालिमपश्चात् प्रमाणपत्र उपलब्ध गराइनुपर्ने र प्राथमिक तह तृतीय श्रेणी अनुसार तलब व्यवस्था गरिनुपर्नेमा ध्यानाकर्षण गराएका हुन्।
१८ जना ईसीडी शिक्षकको टोलीले सोमबार शिक्षा विभाग र वडा कार्यालय पुगेर विद्यालयमा अन्य शिक्षकसरह, कतिपय अवस्थामा अझ बढी समय (बिहान ९:३० देखि साँझ ४ बजेसम्म) काम गर्दै आए पनि संघीय तथा स्थानीय सरकारबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएको गुनासो गरे।
ईसीडी शिक्षकहरूले विभिन्न तालिमहरू लिँदै आए पनि ती तालिमको प्रमाणपत्रसमेत प्राप्त गर्न नसकिएको समस्या पनि राखे। आफूहरू काठमाडौँ महानगरपालिकाअन्तर्गतका कर्मचारी भएकाले महानगरले आफ्ना पीडा बुझी समाधान गर्नुपर्ने उनीहरूको माग छ।
ईसीडी शिक्षक सुमित्रा स्थापितकाअनुसार भेटका क्रममा वडा अध्यक्ष श्रेष्ठले मागहरू जसरी पनि पूरा हुने आश्वासन दिँदै नयाँ बजेटमार्फत समस्या सम्बोधन गरिने बताएका छन्।
यसैगरी शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले पनि मागहरूबारे गम्भीरतापूर्वक छलफल गरी प्रक्रिया अघि बढाइने आश्वासन दिए।



