देउवा पक्षले भन्यो – कांग्रेसमा कुनै मतभेद छैन, राष्ट्रिय भेला बोलाउने हल्ला कपोकल्पित

हिमाल प्रेस ११ माघ २०८२ २०:०४ | Sunday, January 25, 2026
94
SHARES
देउवा पक्षले भन्यो – कांग्रेसमा कुनै मतभेद छैन, राष्ट्रिय भेला बोलाउने हल्ला कपोकल्पित फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको राष्ट्रिय भेला बोलाउने हल्ला निराधार रहेको बताएको छ। राष्ट्रियसभा चुनावलगत्तै राष्ट्रिय भेला लगाउन लागेको चर्चा चलेपछि देउवा समूहले यस्तो बताएको हो।

निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राष्ट्रियसभा निर्वाचनलगत्तै देउवा–खड्का पक्षले पार्टीको राष्ट्रिय भेला बोलाउने भन्ने समाचार कपोकल्पित हल्लामात्र रहेको बताएका छन्। उनले समग्र पार्टीको ध्यान अहिले रूख चिह्नमै बहुमत ल्याउनेतर्फ मात्र केन्द्रित रहेको प्रस्ट पारेका छन्।

‘अहिले हाम्रो पार्टीभित्र कुनै मतभेद छैन र सबैको ध्यान निर्वाचन र रूख चिह्नमा बहुमत ल्याउनमै केन्द्रित छ,’ विश्वकर्माले सामाजिक सञ्जालमा लेखेका छन्,‘राष्ट्रियसभा निर्वाचनलगत्तै देउवा–खड्का पक्षले राष्ट्रिय भेला बोलाउने भन्ने समाचार कपोकल्पित हल्लामात्र हो।’

विश्वकर्माले पार्टीको तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरिएकोले सबै स्वीकार गर्नुपर्ने जिकिर गरेका छन्। उनले भनेका छन्,‘पार्टीको तर्फबाट सभापति गगन थापालाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरेको छ! अन्यथा गर्ने कसैलाई छुट हुँदैन।’

पार्टी चुनावी मैदानमा रहेको बेला यस्ता भ्रामक सूचनाहरू प्रशस्त आउने भन्दै उनले कांग्रेस र पार्टीका उम्मेदवारलाई असर पर्ने कार्य नगर्न पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।

पार्टीमा विवाद भएकाले निर्वाचन आयोगपछि अदालतमा मुद्दा हुँदाहुँदै पनि निर्वाचनमा असर पर्न नदिन उम्मेदवार छनोटमा सहमति गरी देशव्यापीरूपमा कांग्रेसजनले ‘रूख चिह्न’मा निर्विवाद मत माग्ने वातावरण बनाइएको उनले प्रस्ट पारेका छन्।

प्रकाशित: ११ माघ २०८२ २०:०४ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast