जानकी गाउँपालिकामा विद्यार्थी लक्षित साइबर अपराध सचेतना कार्यक्रम

हिमाल प्रेस २३ पुष २०८२ १६:५७
6
SHARES
जानकी गाउँपालिकामा विद्यार्थी लक्षित साइबर अपराध सचेतना कार्यक्रम

नेपालगन्ज- बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रममा पालिकाभित्रका आठ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थी तथा शिक्षक सहभागी छन्।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराधका कारण र त्यसबाट जोगिने व्यवहारिक उपायबारे विस्तृत जानकारी दिइने गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए।

उनले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीहरू डिजिटल संसारका सक्रिय प्रयोगकर्ता भएकाले उनीहरू सचेत बने समाज सुरक्षित बन्न सक्ने बताए।

गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले जानकी गाउँपालिकाको समृद्धि र सुशासनमा विद्यार्थीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै प्रविधिको सही उपयोगले मात्रै समाजलाई सकारात्मक मार्गमा अघि बढाउन सकिने बताइन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे तथ्यांकसहित जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सामाजिक सञ्जालमार्फत चरित्र हत्यासम्बन्धी एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। करिब ५०० जति उजुरी आए पनि धेरैजसो मुद्दा छलफल र समझदारीमार्फत टुंग्याएको उनको भनाइ छ।

सहभागी विद्यार्थी कल्पना बर्माले कार्यक्रमबाट सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने तरिका सिक्न पाइएको धारणा राखिन्। उनले सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक पक्षका बारेमा जानकारी प्राप्त भएको बताइन्।

प्रकाशित: २३ पुष २०८२ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast