राष्ट्रियसभा निर्वाचन

मधेशमा कांग्रेस-एमाले-जसपा नेपाल गठबन्धन बलियो, नेकपाको छैन जित्ने सम्भावना

सुभाष कर्ण २५ पुष २०८२ २१:४०
42
SHARES
मधेशमा कांग्रेस-एमाले-जसपा नेपाल गठबन्धन बलियो, नेकपाको छैन जित्ने सम्भावना

जनकपुरधाम- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपाल गठबन्धनको बलियो पक्ष देखिएको छ।

निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा कुल १० हजार ५८५ मतभार रहेको छ। यस मध्ये कांग्रेस-एमाले-जसपा नेपाल गठबन्धनको पक्षमा ८ हजार १८६ मतभार सुरक्षित देखिएको छ, जसले गठबन्धनलाई बलियो स्थितिमा पुर्‍याएको हो।

मधेश प्रदेशमा रहेका १०७ प्रदेश सभा सदस्य २७२ सथानीय तह जनप्रतिनिधि कायम रहेकोमा केही मतदाता कारबाहीमा परेपछि निर्वाचन आयोगले प्रदेशसभातर्फ १०४ र स्थानीय तहतर्फ २६७ मतदाता बनाएको छ। राष्ट्रियसभा निर्वाचन आयोग कार्यालयका अनुसार प्रदेशसभातर्फ तीन जना र स्थानीय तहतर्फ पाँच जना जनप्रतिनिधि निलम्बनमा परेका छन्।

प्रदेश सभामा एमालेका दिपेन्द्र ठाकुर, जसपा नेपालका सरोज सिंह कुशवाहा र लोसपाका अभिराम शर्मासहित तीन जना निलम्बनमा छन्। स्थानीय तहतर्फ माओवादी केन्द्र (हाल नेकपा) बाट बागमती नगरपालिकाका मेयर र उपमेयर, कांग्रेसबाट धनौजी गाउँपालिकाका उपमेयर, जसपा नेपालबाट राजविराज नगरपालिका मेयर, एमालेबाट कल्याणपुर नगरपालिका मेयर निलम्बित छन्।

राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुने व्यवस्था छ। प्रदेशसभातर्फ ५ हजार ५१२ र स्थानीय तहतर्फ ५ हजार ७३ मतभार रहेको छ।

गठबन्धनको पक्षमा प्रदेशसभाबाट ३ हजार ८१६ र स्थानीय तहका जनप्रतिनिधिबाट ४ हजार ३७० मतभार प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ।

दलगत मतभार विवरण अनुसार नेपाली कांग्रेससँग २२ प्रदेशसभा सदस्य र १०१ स्थानीय तहका प्रमुख-उपप्रमुख छन्, जसबाट ३ हजार ४८५ मतभार बनेको छ। नेकपा एमाले दोस्रो स्थानमा रहँदै २४ प्रदेशसभा सदस्य र ५५ स्थानीय तहका प्रतिनिधिबाट २ हजार ३१७ मतभार रहेको छ ।

तेस्रो शक्तिका रूपमा जसपा नेपाल देखिएको छ। जसपा नेपालका १८ प्रदेशसभा सदस्य र ५० स्थानीय तहका प्रतिनिधिबाट १ हजार ९०४ मतभार रहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८ प्रदेश सांसद र २४ स्थानीय तहका प्रतिनिधिबाट ८८० मतभार कायम छ।

माओवादी केन्द्रसँग ९ प्रदेश सांसद र १६ स्थानीय तहका प्रतिनिधिबाट ७८१ मतभार, जबकि नेकपा (एस) सँग ७ प्रदेश सांसद र ११ स्थानीय तहका प्रतिनिधिबाट ५८० मतभार रहेको छ।

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, विवेकशील साझा पार्टी तथा केही स्वतन्त्र जनप्रतिनिधि भने कुन गठबन्धनलाई समर्थन गर्छन् भन्ने निर्क्योल भइसकेको छैन।

जनमत पार्टीसँग १३ प्रदेश सांसद र ३ स्थानीय तहका प्रमुख–उपप्रमुखबाट ७४६ मतभार छ। नागरिक उन्मुक्ति पार्टी, राप्रपा र संघीय समाजवादी पार्टीका समान १/१ प्रदेशसभा सदस्यबाट ५३-५३ गरी १५९ मतभार रहेको छ। स्वतन्त्रतर्फ ३ स्थानीय तहका प्रतिनिधिबाट ५७ मतभार रहेको छ ।

राजनीतिक समीकरणका हिसाबले ठूला दलहरू आ-आफ्नै रूपमा मैदानमा उत्रिए पनि साना तथा मध्यम दलहरूको समर्थन पाए पनि माओवादी केन्द्र र नेकपा एस एक भएर बनेको नेकपा राष्ट्रिय सभा निर्वाचनमा जित्ने सम्भावना सम्भावना देखिँदैन।

निर्वाचन आयोगको कार्यतालिका अनुसार पुस १९ गते मतदाता नामावली सार्वजनिक भइसकेको छ। दाबी विरोध तथा उजुरीको छानबिनपछि पुस २२ गते अन्तिम मतदाता नामावली पनि प्रकाशन गरी सकिएको छ। पुस २३ गते उम्मेदवारी दर्ता, पुस २४ गते उजुरी, र पुस २७ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। उम्मेदवारले पुस २८ गते निर्वाचन चिह्न प्राप्त गर्नेछन्।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: २५ पुष २०८२ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast