कांग्रेस–एमाले गठबन्धनले महन्थलाई सहयोग गर्ने, अन्योलमा लोसपा

सुभाष कर्ण २४ पुष २०८२ २१:४५
50
SHARES
कांग्रेस–एमाले गठबन्धनले महन्थलाई सहयोग गर्ने, अन्योलमा लोसपा

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकता गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा निर्वाचनमा छुट्टै उम्मेदवारी दिएपछि राजनीति तरंगित बनेको छ।लोसपासँग एकता गर्ने निर्णय गरेको जसपा नेपालले नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनसँग भएको समझदारीविपरित राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिएपछि राजनीति तरंगित बनेको हो।

जसपा नेपाल र लोसपाबीच पुस १३ गते पार्टी एकीकरण गर्ने निर्णय भएको थियो। त्यसपछि कांग्रेस–एमाले गठबन्धनसँग भएको छलफलमा उम्मेदवार किटेरै जसपा नेपाल–लोसपालाई मधेशमा एक सिट दिने समझदारी जुटेको थियो।

दुवै गठबन्धनबीच लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने समझदारी भएको थियो। लोसपाका पदाधिकारीहरूले पनि अध्यक्ष ठाकुरलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने सहमति दुवै गठबन्धनमा जुटेको बताएका थिए।

यसका बाबजुद जसपा नेपालले ठाकुरले उम्मेदवारी दिएकोबाहेक कांग्रेस–एमालेका उम्मेदवारहरूको कलस्टरमा आफ्नो उम्मेदवार खडा गरेको छ। जसपा नेपालले आफ्नो छुट्टै उम्मेदवार खडा गरेपछि दुवै गठबन्धनको साझा उम्मेदवार बनेका ठाकुर नै संकटमा पर्ने सक्ने आकलन गरिएको छ।

यद्यपित कांग्रेस–एमाले गठबन्धनले भने अहिलेसम्म केन्द्रमा भएको सहमतिअनुसार लोसपा अध्यक्ष ठाकुरलाई नै सहयोग गर्ने संकेत दिएको छ।

केन्द्रमा भएको सहमतिअनुसार मधेश प्रदेशका चारमध्ये एक सिट जसपा नेपाल–लोसपालाई दिने र यो सिटमा लोसपा अध्यक्ष ठाकुरलाई उम्मेदवार बनाउने निर्णय भएको थियो।

यही सहमतिअनुसार जसपा नेपालको समर्थनमा ठाकुरको उम्मेदवारी दर्ता गरिएको भए पनि उसले दलित, महिला र अल्पसंख्यक समूहका तीन पदमा छुट्टै उम्मेदवारी दिएपछि गठबन्धनभित्र असन्तुष्टि चुलिएको छ। यी तीन समूहमा कांग्रेस–एमालेले आफ्नो उम्मेदवार खडा गरेका छन्।

जसपा नेपालको यो कदमलाई कांग्रेस र एमालेका नेताहरूले ‘बार्गेनिङ’ रणनीतिको रूपमा हेरेका छन्। तर, दुवै दलका प्रदेशस्तरीय नेताहरूले केन्द्रको निर्णय नै अन्तिम हुने बताएका छन्। सहमतिविपरितको उम्मेदवारीले गठबन्धनको परिणाममा खासै प्रभाव नपर्ने उनीहरूको भनाइ छ।

जसपा नेपालका नेताहरूले प्राविधिक कारणले छुट्टै उम्मेदवारी दिएको बताएका छन्। प्राविधिक कारण केहो भन्नेबारे प्रस्ट नगरे पनि ठाकुरका साथै थप एक सिटका लागि ‘बार्गेनिङ’ गर्ने रणनीतिअनुसार जसपा नेपालले छुट्टै उम्मेदवारी दिएको बताइएको छ। जसपा नेपालकै कतिपय नेताहरूले मधेश प्रदेशमा आफूहरूले दुई सिट पाउनुपर्ने बताएका छन्।

जसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव प्राविधिक त्रुटि देखिएपछि केन्द्रीय निर्देशनअनुसार आफूहरूले छुट्टै उम्मेदवारी दिएको बताए।

‘प्राविधिक त्रुटि देखिएपछि हामीले उम्मेदवारी दिएका हौँ, यो केन्द्रीय निर्देशनअनुसार नै भएको हो,’ उनले भने,‘फिर्ता हुने नहुने केन्द्रीय निर्देशनमा भर पर्छ। जे निर्देशन आउँछ हामी त्यो पालना गर्ने हो। अन्य कुरा केन्द्रीय अध्यक्ष्यज्यूसँग सोध्नुस्।’

जसपा नेपालका सचिवसमेत रहेका पूर्वप्रदेशमन्त्री शैलेन्द्र साह दुवै पार्टीबीच एकीकरण गर्ने राजनीतिक निर्णय भए पनि औपचारिक रूपमा प्रक्रिया सम्पन्न हुन बाँकी रहेको उनको भनाइ छ।

उनले भने,‘गठबन्धनको सहमतिअनुसार हामीले ठाकुरजीलाई समर्थन गरेका हौँ। केही प्राविधिक विषय नमिलेका कारण हामीले अन्य समूहमा उम्मेदवारी दिएका हौँ।’

कांग्रेस–एमाले गठबन्धनबाट जसपा नेपाललाई दुई सिट दिने कुरा भएको उनको भनाइ छ। ‘कांग्रेस–एमाले गठबन्धनबाट जसपा नेपाललाई दुई सिट दिने कुरा थियो। यही सहमतिअनुसार हामीले थप एक सिट मागेका हौँ। थप एक सिट पाए उम्मेदवारी फिर्ता लिन्छौँ, नभए उम्मेदवारी कायमै रहनेछ,’ साहले भने।

गठबन्धनको सहमतिविपरित जसपा नेपालले छुट्टै उम्मेदवार दर्ता गराएपछि चुनावी अंकगणित हेरफेर हुनसक्ने सम्भावना बढेको छ। जसपा नेपालको छुट्टै उम्मेदवारीका कारण ठाकुर नेतृत्वको लोसपासमेत मतदान गर्ने विषयमा अन्योलमा परेको छ। आफूलाई समर्थन गर्ने कांग्रेस–एमालेका उम्मेवार वा जसपा नेपालका उम्मेवारलाई मत दिने अन्योलता लोसपामा देखिएको नेताहरूले बताएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष मतदाता हुन्छन्। मधेशमा कांग्रेस र एमालेको मतभार स्पष्ट बहुमतमा रहेकोले कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारका साथै ठाकुरको जित सुनिश्चितजस्तै देखिन्छ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव जसपा नेपालले उम्मेदवारी फिर्ता नलिए पनि गठबन्धनसँग पर्याप्त मतभार रहेकाले परिणाम प्रभावित नहुने बताए।

एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतो पनि जसपा नेपाल वा लोसपाकोभन्दा आफूहरूले गठबन्धनको उम्मेदवारलाई चिनेको बताए। गठबन्धनका उम्मेवार ठाकुर रहेकोले आफूहरूले पूर्ण सहयोग गर्ने उनले बताए।

त्यस्तै कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झा केन्द्रीय निर्देशनअनुसार नै आफूहरू अगाडि बढ्ने बताए। जसपा नेपालले छुट्टै उम्मेदवारी दिए पनि आफूहरूको उम्मेदवारलाई फरक नपर्ने उनको भनाइ छ।

प्रकाशित: २४ पुष २०८२ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast