देउवाले छाड्न नमान्दा विभाजनतर्फ कांग्रेस

हिमाल प्रेस ३० पुष २०८२ ८:१४ | Wednesday, January 14, 2026
28
SHARES
देउवाले छाड्न नमान्दा विभाजनतर्फ कांग्रेस

काठमाडौँ- शेरबहादुर देउवाले सभापति पदबाट तत्काल हट्नुपर्ने विशेष महाधिवेशन पक्षधरको माग पूरा नहुँदा नेपाली कांग्रेस विभाजनतर्फ धकेलिएको छ। रातभरको वार्तामा सबै कुरामा सहमति भए पनि देउवाको विषयमा कुरा नमिल्दा कांग्रेस विभाजनतर्फ धकेलिएको वार्ता समितिका एक सदस्यले जानकारी दिए।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको छ। संस्थापन मानिने देउवाले विशेष महाधिवेशनको प्रक्रियालाई अस्वीकार्दा तनाव बढेको छ। संस्थापन निकट एक नेताका अनुसार देउवा पक्षले विशेष महाधिवेशनको स्वामित्व लिनेमा सहमति भयो। तर देउवाले तत्काल छाड्नुपर्ने र प्रतिनिधिसभाको टिकट बाँड्न नपाउने विशेष महाधिवेशन पक्षधरको माग थियो। तर देउवाले अहिले यथास्थितिमै रहने र वैशाखमा महाधिवेशन गरेर पद हस्तान्तरण गर्ने बताएका थिए।

‘विशेष महाधिवेशन पक्षले सभापतिज्यू चुनाव लड्न नपाउने र टिकटका लागि पनि संसदीय बोर्ड गठन गर्नुपर्ने माग अघि सार्‍यो त्यसैमा सहमति भएन।’ ती नेता भन्छन्।

नियमित महाधिवेशन हुने बेलासम्म पार्टी सञ्चालनका लागि एउटा विशेष संयन्त्र बनाएर जाऔं भनेर आफूहरूले विकल्पको प्रस्ताव पनि गर्दा समेत देउवा नमानेको संस्थापन इतरपक्षधर नेताको भनाइ छ। उनीहरूलेसभापति सक्रिय राजनीतिबाट हटे मात्रै त्यो संयन्त्र बन्ने कुरा आफूहरूले वार्तामा स्पष्ट रूपमा राखेको उनले बताए। अब वार्ता र निर्वाचन प्रक्रिया एकैपटक अघि बढ्ने ती नेताको भनाइ छ।

विशेष महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’

पोखरेलले मंगलबार बेलुकी नै विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै राति पनि सहमति नजुटे निर्वाचनमार्फत् नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए ।

प्रकाशित: ३० पुष २०८२ ८:१४ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast