विशेष महाधिवेशनको निर्णय खारेज गर्न माग गर्दै कांग्रेसको देउवा पक्ष सर्वोच्चमा, कोइराला समूह गएन

हिमाल प्रेस ४ माघ २०८२ १२:०२ | Sunday, January 18, 2026
38
SHARES
विशेष महाधिवेशनको निर्णय खारेज गर्न माग गर्दै कांग्रेसको देउवा पक्ष सर्वोच्चमा, कोइराला समूह गएन

काठमाडौँ- गगनकुमार थापा सभापति रहेको नेपाली कांग्रेसलाई दिएको मान्यता खारेज गर्न माग गर्दै रिट निवेदन लिएर शेरबहादुर पक्षीय नेताहरू आइतबार सर्वोच्च अदालत पुगेका छन्।

विशेष महाविधेशनबाट निर्वाचित कार्यसमितिलाई खारेज गर्न माग गर्दै सर्वोच्चमा आइतबार निवेदन दर्ता गराइएको नेता मीन विश्वकर्माले सञ्चारकर्मीलाई बताए।

गगन थापा पक्षले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको विषयमा नेपाली कांग्रेसमा विवाद छ। निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएको थियो।

आयोगको निर्णय संविधान, कानुन र पार्टी विधानविपरीत रहेको नेता विश्वकर्माले बताए। उनले भने, ‘आयोगबाट आएको निर्णय बदनियतपूर्ण, विभिन्न किसिमका प्रलोभनमा परेर संविधान, कानुन र पार्टी विधान विपरीत भएकाले त्यसलाई खारेज गरिपाऊँ भनेर निवेदन दर्ता गराएका छौँ।’

सर्वोच्चमा निवेदन दिन नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, मीन विश्वकर्मालगायतका नेता पुगेका थिए।

नेता डा. शेखर कोइराला पक्षीय नेताहरू भने अदालत गएका छैनन्। शेखर समूहले देउवा समूहले डाकेको बैठकमा नजाने भएको छ। यसैगरी उक्त समूहले नेपाली कांग्रेसको रूख चिह्नबाट निर्वाचन लड्ने निर्णय गरेको छ।

प्रकाशित: ४ माघ २०८२ १२:०२ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast