सामुदायिक सुरक्षा जाली अर्थशास्त्र : चुनावपछिको सरकारले गर्नुपर्ने काम

जगन्नाथ काफ्ले ११ माघ २०८२ १३:२८
6
SHARES
सामुदायिक सुरक्षा जाली अर्थशास्त्र : चुनावपछिको सरकारले गर्नुपर्ने काम

जेनजी आन्दोलनपछिको परिवर्तित अवस्थामा देशको कुनाकुनामा चुनावको सारगर्मी ह्वात्तै बढेको छ। नयाँ तथा पुराना दलहरूले आगामी चुनावमा आआफ्नै एकल बहुमतको सपना देखेर भावी प्रधानमन्त्रीसमेत घोषणा गरिसकेका छन्। चुनावको नतिजा के हुन्छ, सरकारको नेतृत्व कसले लिन्छ र नयाँ सरकारले देश र देशबासीका निमित्त के गरेर देखाउँछन् सबै समयले बताउँदै जाला। तर गहिरिएर सोच्ने हो भने अहिलेसम्म कुनै पनि नयाँ तथा पुराना दलहरूले चुनावपछिको सरकारले के गर्ने स्पष्ट खाका कोरेका छैनन्।

आमसर्वसाधारणको असन्तुष्टि सम्बोधन गर्ने, देशको बेथिति व्यवस्थापन गर्ने र सामाजिक तथा आर्थिक समस्या समाधानको उपाय पत्ता लगाएर उन्नतिको रफ्तारमा देशलाई कसरी दौडाउने भन्ने मार्गदर्शन दिन सकेका छैनन्। प्रधानमन्त्रीबाहेक ठोस चुनावी मुद्दा उठाउन सकेका छैनन्। पुराना दलहरू त आफ्नै पुरानै ढर्रामा चल्ने कुरामा कुनै सन्देह नगर्दा हुन्छ। नयाँ दिन्छु भनेर उदीयमान दलहरूले पनि कुनै नयाँ मुद्दा उठाउन नसक्दा भने नयाँ दलले नै चुनाव जितेर सरकारको नेतृत्व गर्दासमेत आमसर्वसाधारणले राहत अनुभव गर्न सकेन भने फेरि पनि वितृष्णा पलाउने र देशमा अशान्ति होला कि भन्ने चिन्ता छ। यिनै चिन्ताका बीचमा यस लेखमार्फत देशमा तुरुन्तै अनुभव गर्न सकिने दिगो आर्थिक रूपान्तरण गरेर सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने ‘हाइब्रिड मोडेल’ प्रस्ताव गरिएको छ। यो मोडेल चुनावी एजेन्डा बनाउन र चुनावपछिको सरकारले अनुशरण गरेमा सर्वसाधारणको आकांक्षा सम्बोधन गर्न र देशलाई द्रुत सकारात्मक रूपान्तरण गर्न मार्गप्रशस्त गर्नेछ।

विश्वव्यापी रूपमा खास गरी कोभिडको महामारीपछाडि राज्यको सामाजिक कल्याणकारी प्रणालीहरूले महत्त्वपूर्ण चुनौती सामना गरिरहेका छन्। फिनल्यान्ड, स्विडेन, नर्वे र डेनमार्कजस्ता ऐतिहासिक रूपमा उत्कृष्ट सामाजिक सुरक्षा भएका देशहरूमा समेत निरन्तर रूपमा सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा जालीको दिगोपनका मुद्दाहरूलाई उजागर गरेको छ। कुनै समय निर्विकल्प उदार र कल्याणकारी लाभहरूमा गर्व गर्ने र नमुना ठानिने यी देशका सरकार अब कडा बजेट चाप, उच्च सामाजिक सेवाको माग र जनसांख्यिकीय परिवर्तनहरूसँग जुधिरहेका छन् जसले सबैभन्दा उन्नत कल्याणकारी कार्यक्रमहरूको अभ्यासलाई पनि चुनौती दिइरहेको देखिन्छ।

विकासशील देशहरूमा, विश्व बैंक र दाताहरूद्वारा अनुदानमा आधारित सामाजिक सुरक्षा जाली कार्यक्रम अत्यावश्यक देखिएका छन्, तर अल्प विकसित मुलुकका करोडौँ जनसंख्या उक्त सेवाबाट बाहिर रहेको तथ्यांकले देखएको छ। यस विषयमा कडा विरोधाभास यो हो कि धनी कल्याणकारी राज्यहरूले समेत आफ्नो प्रणाली कायम राख्न संघर्ष गर्दा बाह्य सहायतामा निर्भर गरिब राष्ट्रहरूले दीर्घकालीन स्थिरताको कसरी सुनिश्चित गर्न सक्छन् भन्ने चिन्ता छ। यो विश्वव्यापी अवस्थाले आर्थिक र सामाजिक स्थिरताका लागि लचिलो, आत्मनिर्भर जग निर्माण गर्दै समाजहरूले कसरी आफ्नो सबैभन्दा कमजोर जनसंख्यालाई सुरक्षित गर्न सक्छन् भन्ने बारे नयाँ विचारहरू जगाएको छ।

यसै सन्दर्भमा एउटा नयाँ अवधारणा, ‘सामुदायिक सुरक्षा जाली अर्थशास्त्र’ नीति निर्माताहरू, अनुसन्धानकर्ताहरू र विकास विज्ञहरूमाझ चासोको विषय बनेको छ, जुन अवधारणा फिनल्यान्डको तुर्कु स्कुल अफ इकोनोमिक्सका अनुसन्धानकर्ताका रूपमा मैले प्रस्ताव गरेको हुँ। यो अर्थशास्त्रको मोडेलले समुदाय स्वामित्वमा आधारित व्यवसायलाई सामाजिक सुरक्षासँग जोड्ने ‘हाइब्रिड’ सामाजिक-आर्थिक प्रणालीको वकालत गर्दछ। यसले विकसित राष्ट्रहरूमा राज्य नेतृत्व समाजकल्याण र विकासशील देशहरूमा अनुदान पोषित सुरक्षा जालीहरूको परम्परागत दृष्टिकोणलाई चुनौती दिन्छ। बरु यसले समुदाय आधारित, आत्मनिर्भर मोडेललाई प्रवर्द्धन गर्दछ जसले एकीकृत ढाँचाभित्र सामाजिक कल्याणलाई उत्पादनसँग जोडेर समाधान दिने प्रस्ताव गरेको छ। मूलतः यसले समुदायहरूले आफ्नो सुरक्षा, लचिलोपन र समृद्धिको जिम्मा आफैँ लिन सक्षम हुन्छन् भन्ने उपाय दिन्छ।

यो विचार वर्तमान प्रणालीहरूको सीमितता पहिचान गरेर सुरु हुन्छ। परम्परागत सामाजिक सुरक्षा जालीहरू (जस्तै- नगद स्थानान्तरण, खाद्य सहायता, आवास सहुलियत वा बेरोजगारी भत्ताहरू) आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्ति तथा समूहहरूलाई सहायता गर्न महत्त्वपूर्ण हुन्छ। यद्यपि, तिनीहरू प्रायः बाह्य अनुदान कोष, राजनीतिक चक्र र आर्थिक परिवर्तनबाट प्रभावित हुने र उतारचढावपूर्ण सरकारी बजेटमा भर पर्छन्।

धेरै विकासशील राष्ट्रहरूमा, कार्यान्वयनमा ढिलाइ, कमजोर संस्थागत क्षमता, अभिजात (कुलीन) वर्गको कब्जा र स्थानीय परिवेशसँग कमजोर तालमेल हुनाले तिनीहरूको प्रभावकारितालाई अझ कमजोर पार्दछ। धनी देशहरूमा पनि जनसंख्याको उमेर र वित्तीय दबाब बढ्दै जाँदा सामाजिक सुरक्षाको दिगोपनको बारेमा चिन्ता बढ्दै गइरहेका छन्। कोभिड महामारीले यी मुद्दालाई झनै जटिल बनायो। लामो समयदेखि चलिरहेको दिगोपनमा अझ चुनौती थपिदिएको छ।

प्रस्तावित सामुदायिक सुरक्षा जाली अर्थशास्त्रले समुदाय, बजार र राज्यबीचको सम्बन्धलाई पुनः कल्पना गरेर यी समस्याको समाधान दिन्छ। विपन्न व्यक्ति तथा समूहलाई सहायताको निष्क्रिय प्राप्तकर्ताका रूपमा राख्नुको सट्टा, मोडेलले उनीहरूलाई स्थानीय रूपमा शासित सामाजिक-आर्थिक प्रणालीमा सक्रिय सहभागीका रूपमा परिकल्पना गर्दछ। समुदाय सञ्चालित संस्थागत निकायले मोडेलको केन्द्रमा बसेर काम गर्छ। यो निकायले समुदायका सबै परिवार र व्यक्तिहरूको प्रतिनिधित्व गर्दछ, सामाजिक-आर्थिक खाताको प्रबन्ध गर्दछ, सामूहिक लगानी व्यवस्थापन गर्दछ, सेयर र प्रोत्साहनहरू वितरण गर्दछ, सरकारी कार्यक्रमहरूसँग समन्वय गर्दछ र प्रत्येक घरपरिवारलाई आधारभूत आवश्यकताहरू पूरा गर्न तथा जोखिम भएको बेला सामाजिक सुरक्षा सहज रूपमा पुर्याउन सुनिश्चित गर्दछ। यसले घरपरिवार, उद्यमी, बजार, स्थानीय सरकारहरू र बाह्य सरोकारवालाहरूबीच पुलका रूपमा काम गर्दछ। साथै समुदायलाई मध्यस्थकर्ता तथा कुलीन वर्गको कब्जाबाट जोगाउँछ र लाभहरूको समान वितरण सुनिश्चित गर्दछ।

मोडेलको आर्थिक इन्जिन सामुदायिक लगानी र साझा उद्यमशीलतामा निर्माण भएको हुन्छ। समुदायले स्थानीय स्रोतहरू-  पुँजी, भूमि, श्रम, ज्ञानलाई एकत्रित कोष र समुदाय स्वामित्वमा रहेका विभिन्न उद्यममा परिचालन गर्छन्। यी उद्यमले आम्दानी उत्पन्न गर्छन् जसले समुदायको सुरक्षा जालीलाई प्रत्यक्ष रूपमा योगदान गर्दछ। यसले सरकारी बजेट वा दाताको सहयोगलाई समेत उत्पादनमूलक व्यवस्थापन गरेर दिगो वित्तीय आधार निर्माण गर्दछ।

स्थानीय आर्थिक गतिविधिमा सामाजिक सुरक्षालाई एकीकृत गरेर मोडेल परम्परागत कल्याणकारी कार्यक्रममा सामान्यतया देखिने परनिर्भरताबाट आत्मनिर्भरतामा परिणत गर्नमा समर्पित हुन्छ। यस मोडेलले स्थानीय स्तरमै उद्यमशीलता विकास, रोजगारी सिर्जना र आर्थिक विविधीकरणका लागि ‘प्लेटफर्म’ पनि प्रदान गर्दछ। जसले समुदायको प्रतिस्पर्धात्मकता बढाउनुका सथै हरेक सामाजिक-आर्थिक चुनौती सामना गर्न सक्षम बनाउँछ।

सामुदायिक सुरक्षा जाली अर्थशास्त्रको एक विशिष्ट विशेषता भनेको वैज्ञानिक नवप्रवर्तनलाई स्वदेशी ज्ञानसँग मिलाउने कुरामा यसको ध्यान केन्द्रित गर्नु हो। मोडेलले समुदायहरूमा बहुमूल्य परम्परागत अभ्यासहरू, पारिस्थितिक अन्तर्दृष्टिहरू र स्थानीय सीपहरू छन् जुन आधुनिक प्रविधिमार्फत बढाउन सकिन्छ भनेर स्वीकार गर्दछ। यी ज्ञान प्रणालीलाई संयोजन गरेर समुदायहरूले उत्पादकता बढाउन, वातावरणीय दिगोपन प्रवर्द्धन गर्न र जलवायु परिवर्तन तथा अन्य विषम झट्काविरुद्ध सामना गर्ने क्षमता निर्माण गर्न सक्छन्। यो मोडेलले जैविक विविधता संरक्षण, दिगो प्राकृतिक स्रोत प्रयोग, र जलवायु अनुकूलनशील विकासलाई प्रोत्साहन गर्दछ। समुदायहरूलाई आर्थिक सहभागीको रूपमा मात्र नभई तिनीहरूको प्राकृतिक, सांस्कृतिक र पारिस्थितिक परिदृश्यको संरक्षकका रूपमा पनि स्थान दिन्छ।

यो प्रारूपले तीन अन्तरसम्बन्धित स्तरहरूमा काम गर्दछ। बृहत् स्तरमा, राष्ट्रिय नीतिहरू, कानुनी रूपरेखाहरू, सरकारी बजेट र बजार वातावरणले सामुदायिक कार्यान्वयनका लागि सशक्त बनाउन आकार दिन्छ। सरकारले नियामक समन्वय, प्राविधिक तथा आर्थिक सहयोग र सामाजिक सुरक्षा जाली कार्यक्रमहरू प्रदान गरेर महत्त्वपूर्ण भूमिका खेल्न सक्छ जसले सामुदायिक पहललाई पूरक र थप बलियो बनाउँछ। मध्यम स्तरमा, सामुदायबाट सञ्चालित निकायले संस्थागत संयन्त्रहरू विकास गर्दछ, जवाफदेहिता सुनिश्चित गर्दछ, सामूहिक लगानीहरू व्यवस्थापन गर्दछ, राज्यका संयन्त्र र बजारसँग सहकार्य गर्दछ।

सूक्ष्म स्तरमा, व्यक्ति तथा घरपरिवारले आफ्नो लगानी क्षमता, जीविकोपार्जन रणनीतिहरू, जोखिम र सुरक्षा जालीमार्फत प्रणालीमा आबद्ध हुन्छन्। यो बहुस्तरीय संरचनाले फराकिलो संस्थागत संरचनाबाट आमसर्वसाधारणलाई लाभ दिनुका साथै स्थानीय परिस्थिति र वास्तविकतामा आधारित भएर मोडेलले काम गर्छ भन्ने कुरा सुनिश्चित गर्दछ।

मोडेलले स्पष्ट रूपमा परिपूरक सम्बन्ध निर्माण गरेर काम गर्छ। बलियो सामुदाय सुशासित संरचनाले समावेशी आर्थिक व्यवसायहरूको प्रबन्ध मिलाउँछ र निष्पक्ष सेयर वितरणका लागि जग निर्माण गर्दछ। यी व्यवस्थाले समुदायका सदस्यहरूले पर्याप्त र सुरक्षित जीवन निर्वाहका साथ सामाजिक सुरक्षाको सुनिश्चितता पाउँछन् साथै लगानी गर्न, नयाँनयाँ उद्यमशीलता लिन र उत्पादक जोखिम उठाउनसमेत बढी इच्छुक हुन्छन्।

समुदायको सुरक्षा जालीमा योगदान गर्ने स्रोतहरूलाई बलियो बनाउने, आत्मनिर्भर आयको स्रोतहरू सिर्जना गर्ने र रोजगारुीको नयाँनयाँ अवसर सिर्जना गर्दछ। उद्यमशील पहलहरू र समुदाय समर्थित उद्यमहरूले त्यसपछि स्थानीय वस्तु तथा सेवाहरूको उत्पादन, रोजगारीका अवसरहरू र आय प्रवाहहरू विस्तार गर्छन्, जसले स्थानीय प्रतिस्पर्धात्मकता पनि बढाउँछ।

समयसँगै, सांस्कृतिक एकता, पारिस्थितिक लचिलोपन र परम्परागत स्थानीय ज्ञानले मोडेलकोको दिगोपनलाई बलियो बनाउँछ। सहयोगी सरकारी नीतिहरू र प्राविधिक आविष्कारहरूले संस्थागत कमजोरीलाई अझ साँघुरो बनाउँछन् र समुदायको सुशासित निकायलाई सशक्त बनाउँछ, जसले गर्दा समाजमा वर्चस्व भएको वर्गको कब्जा र बाह्य झट्काको विरुद्धमा सशक्त रहन्छ।

मोडेलले चार प्रमुख सरोकारवालाहरूलाई विशेष जोड दिएको छ। तिनीहरूको भूमिकाहरू एकअर्कामा जोडिएका छन्। पहिलो हो- सरकार, सरकारले नियामक ढाँचाहरू स्थापना गर्छन्, प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्छन् र सामाजिक सुरक्षा कार्यक्रम लागू गर्छन्। दोस्रो हो- समुदाय सुशासित निकाय, यसले सामूहिक लगानीको प्रवन्ध तथा व्यवस्थापन गर्दछ, स्रोतहरू बाँडफाँट गर्दछ, द्वन्द्व समाधान गर्दछ र लाभहरूको उचित वितरण सुनिश्चित गर्दछ।

तेस्रो हो- समुदाय सुशासित निकाय मातहतमा रहने उद्यमीहरू, जसले सामुदयिक नवप्रवर्तन (उद्यम) चलाउँछन्, वस्तु तथा सेवाको उत्पादन गर्छन्, रोजगारी सिर्जना गर्छन्, नयाँ प्रविधिहरू अपनाउँछन् र सामुदायिक सुरक्षा जाल कोषमा योगदान गर्छन्। चौथो हो- घरपरिवार तथा व्यक्तिहरू, जसले आफूसँग भएको बचत तथा स्रोतहरू लगानी गर्छन्, निर्णय लिने काममा भाग लिन्छन्, उद्यमका सेयरहरू प्राप्त गर्छन्, नयाँ उद्यम प्रस्ताव गर्छन्, आर्थिक अवसरहरू र सामाजिक सुरक्षा दुवैबाट फाइदा लिन्छन्। यो सरोकारवालाहरूको परिपूरक प्रणालीले सबैको अधिकार र जिम्मेवारीलाई सन्तुलनमा राख्छ। एकताबद्ध प्रणाली सञ्चालन र स्वावलम्बी समाजलाई प्रवर्द्धन गर्दछ।

मोडेलको सशक्त विशेषता रहे पनि व्यवहारमा आइपर्ने चुनौती पहिचान गरिएको छ। कमजोर ढाँचा र अभ्यास गरिएमा लक्षित उद्देश्य प्राप्त हुन र यथेष्ट प्रोत्साहन पाउन मुस्किल पर्न सक्छ। कमजोर सक्रियता, स्थानीय साधन, स्रोत र परिस्थितिसँग नीतिगत बेमेल, कार्यान्वयनमा ढिलाइ र टाठाबाठा वर्गको प्रभुत्वको जोखिमले प्रभावकारिता कमजोर बनाउन सक्छ। परनिर्भरताबाट आत्मनिर्भरतामा संक्रमणका लागि सावधानीपूर्वक संस्थागत ढाँचा, बलियो सुशासन र स्थानीय परिवेशको संवेदनशील संयोजन गर्न आवश्यक पर्दछ। यी चुनौती हाम्रो गाउँटोलमा मात्र सीमित हुँदैनन् तिनीहरूले विश्वव्यापी रूपमा कल्याणकारी प्रणालीहरूले सामना गर्ने व्यापक कठिनाइ तथा चुनौतीलाई समेत प्रतिबिम्बित गर्छन्। तैपनि स्थानीय स्वामित्व, सामूहिक लगानी र एकीकृत सामुदायिक सुशासनमा आधारित मोडेल कार्यान्वयनले समसामयिक चुनौतीहरूलाई अझ सशक्त, दिगो, आधारभूत र प्रभावकारी रूपमा सम्बोधन गर्ने मार्ग प्रदान गर्दछ।

विश्वव्यापी कल्याणकारी प्रणालीहरूले अभूतपूर्व चुनौती सामना गर्दा दिगो, समुदाय नेतृत्वमा समाधानका लागि बढ्दो महत्त्व रहेको छ। सामुदायिक सुरक्षा जाली अर्थशास्त्रले सामाजिक सुरक्षाको भविष्यका लागि एक प्रेरणादायी दृष्टिकोण र समाधानको उपाय प्रस्तुत गर्दछ। साथै यसले सरकारी बोझ कम गर्न, स्थानीय सशक्तीकरण प्रवर्द्धन गर्न, बलियो सामुदायिक अर्थतन्त्र विकास गर्न, छिमेकी तथा सामुदायिक सम्बन्ध बलियो बनाउन, आफ्नै सुरक्षा जालीहरू तयार गर्न र प्रभावकारी बनाउन सम्भव बनाउँछ। यसले निष्पक्षता, लचिलोपन र अवसरको विश्वव्यापी उद्देश्यहरूलाई प्रभवकारी कार्यान्वयन गर्दछ, जसले विकसित र विकासशील राष्ट्रहरू दुवैलाई तथा सहरी एवम् ग्रामीण परिवेशलाई दीर्घकालीन सामाजिक सुरक्षा रणनीतिमा पुनर्विचार गर्न मार्गप्रशस्त गर्दछ।

यद्यपि अझै पनि मोडेलको अवधारणात्मक विकास, निरन्तर परीक्षण र परिष्करणको चरणमा छ। मोडेलले साहसपूर्वक सुझाव दिन्छ– उचित संस्थागत समन्वय र सामाजिक-आर्थिक उपकरणहरूको सदुपयोग गरेर समुदायले कल्याणकारी स्वावलम्बी प्रणालीहरू स्थापना गर्न सक्छन् जुन सुरक्षात्मक मात्र होइन उत्पादक, लचिलो, आत्मनिर्भर र दिगोपन पनि हुन्छ। जहाँ परम्परागत कल्याणकारी प्रणालीहरू बढ्दो चुनौती भोगिरहेका छन् र दाता सञ्चालित पहलहरू प्रायः दिगो प्रभाव सिर्जना गर्न असफल हुन्छन्, सामुदायिक सुरक्षा जाली अर्थशास्त्र समयसापेक्ष र नवीन दृष्टिकोणका रूपमा देखा परेको छ।

यसले अनुसन्धानकर्ता, नीति निर्माता, विकास अभियानता र समुदायहरूलाई सुखद र सुन्दर भविष्यको कल्पना र अभ्यास गर्न प्रोत्साहित गर्दछ जहाँ आर्थिक उन्नति, सामाजिक सुरक्षा तथा सुरक्षा जाली साझा समृद्धिको जगमा विकसित हुन्छन्। समुदायहरूले नेतृत्व गर्दा यो दृष्टिकोणले समाजकल्याण र दिगो आर्थिक विकासको सम्भावनामा आशावादी दृष्टिकोण प्रदान गर्दछ।

(काफ्ले फिनल्यान्डको तुर्कु विश्वविद्यालयअन्तर्गत तुर्कु स्कुल अफ इकोनमिक्सका अनुसन्धानकर्ता हुन्।)

प्रकाशित: ११ माघ २०८२ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast