ब्रह्म मुखात् निसृतो वेदः। वाणीका रूपमा परब्रह्म स्वरूप ब्रह्माजीको मुखबाट निस्किएको मन्त्र समूहलाई वेद भनिन्छ। ब्रह्माजीले साक्षात्कार गरेको हुनाले गायत्री मन्त्रलाई ज्ञानकी अधिष्ठात्री वेदमाता, सावित्री र ब्रह्मगायत्रीको संज्ञा दिइएको छ। जसको मुखबाट निस्किएको ज्ञान राशि छ सो ज्ञानले नै यो विश्वब्रह्माण्डलाई दिशानिर्देश गर्दछ।
दक्षिणतो ब्रह्मासनमास्तीर्य। – पारस्करगृह्यसूत्र
वारणादियज्ञियदारुनिर्मितं पीठमास्तीर्य कर्मतत्त्वज्ञं ब्रह्माणं तदभावे कुशनिर्मितं ब्रह्माणं वा स्थापयेत्।
यज्ञकर्ममा कर्मको मर्म बुझेका ब्रह्माको प्रतिनिधिका रूपमा आचारनिष्ठ पात्रब्राह्मणलाई वारण/सिप्लिकान काठको पीर्कामा तीनबटा कुश पूर्व टुप्पो पारी आसन दिई दक्षिण दिशातर्फ उत्तराभिमुख गराएर राख्नुपर्दछ।
पात्रब्राह्मणको अनुपस्थितिमा कुशको ब्रह्मा राखी यज्ञ सञ्चालन गर्ने विधि बताइएको छ।
यज्ञ सम्पादनका क्रममा आइपर्ने विधिगत त्रुटिलाई समाधान गर्ने पात्रका रूपमा विधिज्ञ ब्रह्माजीको स्थानमा ब्राह्मणलाई राखिन्छ र श्रेष्ठ ब्राह्मणको अभावमा ५० कुशबाट निर्मित कुशको ब्रह्मा स्थापना गर्ने कार्य अहिले चलिरहेको छ र जसको श्रोत श्रुति र गृह्यसूत्र हो।
हालका यज्ञमा पात्र ब्राह्मणको अभावमा कुशको प्रयोग गर्नुको कारण पनि यही हो।
पञ्चाशद्भिः कुशैः कार्यो ब्रह्मा पश्चान्मुखस्थितः।
स्नापितः स्थापितः कुम्भे चतुर्बाहुश्चतुर्मुखः।
वत्सजान्वाकृतिं दण्डमुत्तराग्रैः कुशैः कृतम्।। – वेदपारायणविधिः
पचास कुशबाट बनाइएको बाच्छोको खुट्टा आकृतिको ऊर्ध्वशिखा सहितको प्रतिमा निर्माण गरी वेदपुरुषको रूपमा ब्रह्माजीको पूजा गर्ने विधिहरू प्राप्त छन्।
पावकानः सरस्वती। -शुक्लयजुर्वेद २०. ८४-८६
सरस्वतीले यज्ञलाई ज्ञानका माध्यमबाट पवित्र पारून्।
हविका लागि प्रचुर मात्रामा अन्न र धन प्रदान गरून्। वेदत्रयीमा प्रयोग भएका प्रियसत्यवचनबाट यज्ञलाई विस्तार गरून्। सुमति- असल बुद्धि प्रदान गरून्। प्रज्ञाको माध्यमबाट जलले पृथ्वीलाई सेचन गर्दै विश्वमा रहेका सबै प्राणीहरूको बुद्धिलाई प्रकाशित बनाऊन्।
अयोनिजा सरस्वती – पौराणिक आख्यानमा ब्रह्मा र सरस्वतीको सन्दर्भमा जब सृष्टि कर्ता ब्रह्माले आफूमा भएको शक्तिलाई जागृत गराउनु भयो। जुन ब्राह्मी/सरस्वतीको नाममा प्रकट भइन्। आफूमा निहित सृष्टि र ज्ञानशक्तिको माध्यमबाट सृष्टिचक्र प्रारम्भ भयो। सनक, सनन्दन, सनातनसहित नारदादि ऋषिलाई ब्रह्माजीको मानसपुत्रका रूपमा लिइन्छ। त्यसैगरी सरस्वती पनि ब्रह्माकी हृदयशक्तिका रूपमा प्रकट भएकी आद्यशक्ति हुन्। ब्रह्माजीको हृदयमा निवास गर्ने भएकोले सरस्वतीलाई अयोनिजा भनिन्छ। यहाँ पति पत्नी र सहवासको विषय कहाँबाट आयो!
यी र यस्ता कथनीहरू श्रुति र गृह्यसूत्रमा उठान भएको पाइँदैन। किमार्थ ब्रह्म अपूज्य छन् भन्नु गलत भाष्य हो। वैदिक कर्मसँग सम्बन्धित यागले यी विषय स्वीकार्दैन। यज्ञमा पुजिने कर्मतत्त्वज्ञ ब्राह्मणले ब्रह्माको स्थान लिएकाले ब्रह्माजीको मूर्तिलाई अनिवार्य ठानिएन र मन्दिरको विकास र विस्तारलाई अनिवार्य रूपमा लिइएन। यज्ञप्रधान कर्ममा प्रत्यक्ष देवताका रूपमा श्रुतिले ब्रह्मालाई पुज्यो। गृह्यसूत्रले ब्रह्मालाई पुज्यो। वेद, वेदान्त र मीमांसादि दर्शनशास्त्रले यज्ञ र ज्ञानको अधिष्ठाताको रूपमा अहं ब्रह्मास्मि। तत्त्वमसि। प्रज्ञानं ब्रह्म। अयमात्मा ब्रह्म। खं ब्रह्म। अहं ब्रह्मस्वरूपिणी आदि विभिन्न स्वरूपमा उपासना गर्न थाले। प्रस्तुत वाङ्मयी शब्दब्रह्मले ज्ञानका अधिष्ठात्री परब्रह्म र शक्ति स्वरूपा वाग्देवीको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्तुतिगान गरिरहेका छन्।
ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम्।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना।। – गीता ४.२४
ज्ञानरूपी अग्निमा ब्रह्माको मुखबाट निस्किएका मन्त्रहरूद्वारा संस्कारित हवनीय द्रव्यहरूको माध्यमबाट स्रुवादि पात्रका माध्यमले आहूति दिँदै ब्रह्माले प्रतिपादन गरेको मोक्षगति प्राप्त गरी ब्रह्ममा लीन हुनु समाधि हो।
वटसावित्रीको पूजन गर्ने क्रममा वटवृक्षसहित ब्रह्मा र सावित्रीको अर्चना गर्ने विधि प्राचीन कालदेखि चलिआएको छ। वर र पीपल रोपी हुर्काइ विवाह गरिदिने संस्कार अहिले पनि चलनचल्तीमा रहेको छ।
यसरी देवयज्ञ, हविर्यज्ञ र ज्ञानयज्ञमा ब्रह्माको अनिवार्यता रहँदा पनि विभिन्न कथाका माध्यमबाट लाञ्छित गराइनु अस्वाभाविक र श्रुतिपरम्पराको अवज्ञा हो।
यवनहरूको भारतवर्षमा प्रवेशपछि यहाँको धार्मिक तथा सांस्कृतिक विविधतालाई दूषित गराउन खरिदिएका पण्डित नामधारी कृतदासहरूले मूल धार्मिक ग्रन्थहरूमा विभिन्न छेपक घुसाई बिटुलाउने काम गरे। पुस्तान्तरणसँगै कालान्तरमा ती छेपकलाई आधार मानी हिन्दू समाजलाई सामाजिक विभेदको कारक मानी फुटाउ र राजगर भन्ने विषयमा सफल बन्न अनेक दाउ खोजिरहेका छन्। मनुस्मृति र पुराणहरूमा छेपकको प्रयोग गराई हिन्दू समाजमा ननिभ्ने तरिकाले आगो झोस्न सफल भए।
यहाँका केही स्वार्थी नेता र सनातनविरोधीहरूले ब्रह्माले आफ्नो छोरी सरस्वतीसँग सहवास गर्यो। मनुस्मृतिले नारी र शुद्रलाई नीच ठान्यो भन्ने विषय उठाई समाजलाई बिथोल्ने काम गरिरहेका छन्। केही पौराणिकहरूले मूलजरो पत्ता नलगाई यस्तै खालको विषय प्रस्तुतिलाई आफ्नो सफलता ठानी रहेको अवस्था छ। यो भ्रमबाट मुक्त हुन मूलशास्त्रलाई आधिकारिक मान्नुपर्दछ। वास्तविकता नबुझी ब्रह्माजी र सरस्वतीको अनैतिक सम्बन्ध रहेको विषय वकालत गर्नु भनेको सतही ज्ञान र मूर्खता हो।





