बन्दसूचीका सेलिब्रेटीहरू

सुस्मिता बजगाईं ५ माघ २०८२ १९:१३
30
SHARES
बन्दसूचीका सेलिब्रेटीहरू

काठमाडौँ- मौसम चिसो भए पनि अहिले देश चुनावी माहोलले गर्माएको छ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ कुन दलबाट कोको चुनावमा उठ्दैछन् भन्ने आम दर्शकमा कौतुहलता विषय बनेको छ। निर्वाचन आयोगले पनि सोहीअनुसार चुनावी कार्यक्रमहरू अगाडि बढाइरहेको छ।

यसैबीच आयाेगले समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिसकेको छ। रोचक कुरा के छ भने यस वर्ष थुप्रै कलाकार खुलेरै राजनीतिक यात्रामा होमिएका छन्। यसअघि समानुपातिकतर्फ उम्मेदवार सिफारिसमा थुप्रै कलाकार, मोडल, मिस नेपाल, गायक/गायिका परेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै सात जना सेलिब्रटीको नाम सार्वजनिक भएको थियो। जसमा परेका थिए- गायिका डा. त्रिशाला गुरुङ, सत्यकला राई, संगीतकार एवं गायक प्रकाश सपुत, कलाकार रीमा विश्वकर्मा, आशिफ साह, मिस नेपाल अनुष्का श्रेष्ठ र मोडल रुपक विश्वकर्मा घिमिरे। यसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा थुप्रै सेलिब्रेटी राजनीतितर्फ होमिने संकेत थियो।

त्यतिबेला रास्वपाले कलाकार धेरै भित्र्यायो भनेर एक किसिमको आलोचनानै भयो। उम्मेदवारबीच मतभेद भएपछि केही कलाकारले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नाम फिर्ता लिए । फिर्ता लिनेमा थिए गायिका त्रिशाला गुरुङ र अभिनेता तथा कार्यक्रम सञ्चालक आशिफ शाह।

यसैबीच माघ ४ गते निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ, जसमा रास्वपाले गायिका सत्यकला राईको नाम हटाएको छ। आफ्नो नाम आयोगको बन्दसूचीमा नदेखेपछि गायिका राईले हटाएकोमा पार्टीलाई धन्यवाद दिएकी छन्।

आफ्नो शुभचिन्तकको अनुरोधमा आफूले पहिले नै नाम फिर्ता लिन नसकेको उनले स्टाटसमार्फत बताएकी छन्। साथै उनले आफूले पेस गरेको एजेन्डालाई संसदमा उठाइदिन आग्रह गरेकी छन्। उनले भनेकी छन्, ‘मेरा शुभचिन्तकहरूलाई विश्वास दिलाउन चाहान्छु कि यो अन्त्य होइन, सुरुवात हो।’

उनको नाम पनि हटेपछि निर्वाचन आयोगको सूचीमा सीमित कलाकारले स्थान पाएका छन्। पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री तथा कार्यक्रम सञ्चालिका रीमा विश्वकर्मा, मोडल तथा अभिनेता रुपक घिमिरेको नाम बन्दसूचीमा छ।

मिस नेपाल श्रेष्ठ रास्वपाको आदिवासी जनजातिको महिलातर्फ बन्दसूचीमा परेकी छन्। प्रकाश सपूत दलित पुरुषतर्फ छन्।

यतिबेला उनी सांगीतिक यात्राका क्रममा विभिन्न स्थानको मेला महोत्सवमा व्यस्त छन्। उनले माघ ११ सम्म सांगीतिक यात्रामा दर्शकसँग रमाउने र त्यसपछि चुनाव लाग्ने बताएका छन्। केही दिनअघि फेसबुकमा उनले माघ १ देखि ११ सम्मको महोत्सव तालिका सार्वजनिक गरेका थिए।

माघ १२ देखि फागुन २१ सम्मको यात्रा फरक भूमिका र जिम्मेवारीको यात्रा हुन सक्ने उनले उल्लेख गरेका छन्। ‘सम्भवत, यो वर्षका लागि यति नै। त्यसपछि आउने समय (१२ देखि २१) को यात्रा फरक भूमिका र जिम्मेवारीको यात्रा हुन सक्छ’ उनले लेखेका छन्।

त्यस्तै रीमा विश्वकर्मा रास्वपाको दलितको महिलातर्फ र मोडल रुपक घिमिरे दलित पुरुषतर्फ समानुपातिक सूचीमा छन्।

नेकपा एमालेले गायिका कोमल वलीलाई खसआर्य महिलातर्फ समानुपातिक उम्मेदवार बनाएको छ।

प्रकाशित: ५ माघ २०८२ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast