किरण विक।
काठमाडौँ- युवा नेता किरण विकले आगामी निर्वाचनमा रूपन्देही क्षेत्र–२ बाट उम्मेदवारी दिने तयारीमा गरेका छन्। उज्यालो नेपाल पार्टी हुँदै हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेका विक आगामी निर्वाचनमा सोही क्षेत्रबाट लड्ने तयारीमा रहेको निकट स्रोतले जनाएको छ।
चुनावमा उनले क्रिप्टोकरेन्सीको कानुनीकरण तथा नियमनलाई एजेन्डाका रूपमा अघि सारेका छन्। विकले निरन्तर क्रिप्टोको वैधानिकताबारे आवाज उठाउँदै आएका छन्। उनका अनुसार नेपालमा हाल लागू कानुनले क्रिप्टोकरेन्सीसम्बन्धी गतिविधिलाई अपराधीकरण गर्दा युवाहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
क्रिप्टोसँग सम्बन्धित कारोबारका कारण धेरै युवा जेलमा रहेका र ठूलो परिमाणको सम्पत्ति राज्यको नियन्त्रणमा रहेको उल्लेख गर्दै उनले वर्तमान कानुन विश्वव्यापी प्रवृत्तिसँग मेल नखाने, अन्यायपूर्ण र पुरानो भएको दाबी गरे। विकका अनुसार करिब २० लाख नेपाली नागरिक क्रिप्टो कारोबारमा रुचि राख्छन् भने झण्डै ५ लाख युवा दैनिक रूपमा क्रिप्टो गतिविधिमा संलग्न छन्।
किरण विकले क्रिप्टो पूर्ण रूपमा प्रतिबन्ध लगाउँदा यसको प्रयोग रोकिएको नभई युवाहरूलाई अवैध र असुरक्षित माध्यमतर्फ धकेलिएको बताए। यसका कारण ठगी, चोरी र आर्थिक अपराधको जोखिम बढेको उनको भनाइ छ।
‘क्रिप्टोलाई गैरकानुनी बनाउँदा अनजानमै युवाहरू अवैध नेटवर्कतर्फ आकर्षित भएका छन्,’ उनले भने। वर्तमान कानुनले क्रिप्टो कारोबार रोक्न नसक्ने तर थप युवालाई जेल पठाउने जोखिम बढाउने भन्दै यसले देशलाई प्रत्यक्ष घाटा पुर्याउने उनको दाबी छ।
विकले सरकारले तत्काल स्पष्ट कानुन निर्माण गर्न, आवश्यक कानुनी प्रावधानहरू तय गर्न र क्रिप्टो तथा ब्लकचेन प्रविधिका लागि छुट्टै नियामक निकाय गठन गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार व्यवस्थित र नियमन गरिएको क्रिप्टो प्रणालीले देशको अर्थतन्त्र सुदृढ बनाउने र नेपाली युवाका लागि रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना बोकेको छ। नेपालले अन्य मुलुकभन्दा अगाडि बढ्दै क्रिप्टो नीतिमा अग्रसरता लिनुपर्नेमा जोड दिँदै विकले भने, समयमै निर्णय लिन सके नेपाल अन्तर्राष्ट्रिय ब्लकचेन र क्रिप्टो कम्पनीहरूको गन्तव्य बन्न सक्छ।
‘यदि नेपालले क्रिप्टोलाई सबैभन्दा चाँडो स्वीकार गर्ने देशहरूमध्ये एक बन्यो भने, यसले अन्य व्यवसायभन्दा धेरै सम्पत्ति र लगानी आकर्षित गर्न सक्छ,’ उनले बताए। राजनीतिक रूपमा, क्रिप्टोको कानुनीकरणलाई स्पष्ट एजेन्डा बनाएकै कारण युवामाझ आफ्नो बलियो समर्थन बनेको दाबी गर्दै विकले करिब ५ लाख मतदाताको प्रत्यक्ष समर्थन आफूलाई रहेको दाबी गरे।
प्रविधिमैत्री युवा, टेक उद्यमी तथा जेन–जी पुस्तामाझ आफू युवा प्रतीक (युथ आइकन) का रूपमा उभिँदै गएको उनको भनाइ छ।
आगामी दिनमा यदि आफू रुपन्देही–२ बाट प्रतिनिधि सभामा निर्वाचित भए क्रिप्टो कारोबारका कारण जेलमा रहेका युवाको रिहाइका लागि पहल गर्ने र जफत गरिएको सम्पत्ति कानुनी प्रक्रियामार्फत फिर्ता गराउन संसद्मा आवाज उठाउने प्रतिबद्धता उनले जनाए।
हाल क्रिप्टोकरेन्सी नेपालमा गैरकानुनी रहेको यथार्थ स्वीकार गर्दै विकले युवाहरूलाई कुनै पनि प्रकारको क्रिप्टो गतिविधिमा संलग्न नहुन आग्रह गरे। तर, यसलाई कानुनी बनाउन लोकतान्त्रिक र संवैधानिक प्रक्रियामार्फत एकजुट भएर संघर्ष गर्न युवाहरूलाई आह्वान गरे।
वरिष्ठ नेताहरूलाई ब्लकचेन र क्रिप्टोजस्ता विश्वव्यापी प्रविधिगत परिवर्तन बुझाउन कठिन भएको उल्लेख गर्दै विकले संसद्मा स्वयं पुगेर यो विषय उठाउनु नै प्रभावकारी उपाय ठानेको बताए। ‘पुराना नेताहरूले विश्वव्यापी प्रविधि परिवर्तन बुझ्न नसक्दा समय खेर गइरहेको छ, त्यसैले यो जिम्मेवारी मैले आफैं संसद्मा गएर लिने निर्णय गरेको हुँ,’ उनले भने। रूपन्देही २ मा यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका थिए।
एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गरेका थिए। पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्दा स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार सात सय ८२ मत प्राप्त गरेका थिए।
राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत पाए।



