काठमाडौँ- नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी आज (आइतबार) बाट सुरु भएको छ। जंगीअड्डामा आयोजित प्रदर्शनीको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेका हुन्।
आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी आयोजना गरिएको सेनाले जनाएको छ।
उद्घाटन समारोहमा नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट तीन जना गैरसैनिक फोटोग्राफरहरू, तीन वटा नेपाली सेनाका युनिटहरू र एक जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल ३१ वटा स्टलहरू राखिएका छन्।
सेना दिवस २०८२ को अवसरमा आयोजित प्रदर्शनी माघ ७ गतेसम्म चल्ने नेपाली सेनाले जनाएको छ।



