डोटीबाट उठे अखिल अध्यक्ष धामी, इन्टरनेट पुर्‍याउनेदेखि रोजगारीका लागि भारत जाने परम्पराको अन्त्य गर्ने प्रतिबद्धता

हिमाल प्रेस ७ माघ २०८२ १३:२२ | Wednesday, January 21, 2026
14
SHARES
डोटीबाट उठे अखिल अध्यक्ष धामी, इन्टरनेट पुर्‍याउनेदेखि रोजगारीका लागि भारत जाने परम्पराको अन्त्य गर्ने प्रतिबद्धता

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डोटीबाट उम्मेदवारी मनोनयन दर्ता गराएपछि नेकपा एमालेका युवा नेता दीपक धामीले आफ्नो सम्पूर्ण ऊर्जा जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै धामीले आफू डोटीबाट प्रतिनिधिसभा सदस्यको युवा उम्मेदवारका रूपमा औपचारिक रूपमा चुनावी मैदानमा उत्रिएको बताए। उनले आफ्नो उमेर, समय, श्रम र सिप डोटेली जनताको जीवन परिवर्तनका लागि खर्चिने दृढ अठोट लिएको उल्लेख गरे।

आगामी निर्वाचनमा नेकपा एमाले को चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गरी विजयी गराइदिन उनले सम्पूर्ण डोटेली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष विनम्र अनुरोध गरे। साथै सुखदुःखका हरेक घडीमा जनतासँगै रहने प्रतिबद्धतासमेत व्यक्त गरे।

डोटीको यथार्थ चित्रण गर्दै धामीले जिल्लाले धेरै नेतालाई देशको सर्वोच्च निकायसम्म पुर्‍याए पनि समयानुकूल विकासको लाभ लिन नसकेको गुनासो गरे। उनका अनुसार आज पनि डोटीका धेरै स्थानमा इन्टरनेट सेवा विस्तार हुन सकेको छैन भने सुत्केरी महिला र बिरामीलाई स्टेचरमा बोकेर स्वास्थ्य चौकी पुर्‍याउनुपर्ने बाध्यता कायमै छ। ‘स्वास्थ्य चौकीमा सिटामोल नै सबै रोगको उपचार बनेको तितो यथार्थ छ,’ उनले भने।

धामीले कच्ची सडक नपुगेका बस्ती, गुणस्तरीय शिक्षा अभावका कारण निजी विद्यालयको महँगो शुल्क बेहोर्न बाध्य अभिभावक, छोराछोरीलाई होस्टेल र सहरका कोठामा राखेर पढाउनुपर्ने अवस्था र रोजगारीका लागि भारततर्फ जाने युवाको बाध्यताले डोटीको पीडा झल्काउने बताए। कृषिमा निर्भर परिवारका लागि पनि बाटो, ढुवानी, सहुलियत र कर्जाका समस्या अझै समाधान हुन नसकेको उनको भनाइ छ ।

‘डोटेली जनताले धेरै मागेका छैनन्, यी आधारभूत समस्याको समयमै कार्यान्वयन हुन सके डोटी प्राकृतिक मात्र होइन, मानवीय दृष्टिले पनि धनी जिल्ला बन्न सक्छ,’ धामीले भने।

डोटीले धरैलाई हरेको भन्दै उनले यस पटक युवालाई साथ दिएर हेर्न आग्रह गरे। ‘यसपटक युवालाई साथ दिएर हेरौँ, धेरै पटक आसमा बस्यौँ, यसपटक भरोसा गरिहेरौँ’, उनको अनुरोध छ ।

प्रकाशित: ७ माघ २०८२ १३:२२ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast