काठमाडौँ- नेपाली कांग्रेसभित्र निर्वाचन अगावै महाधिवेशन गरिनुपर्ने विषयलाई लिएर चुलिएको विवाद समाधान गर्न संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको सक्रियता बढेको छ।
यसैक्रममा संस्थापन पक्षसँग आबद्ध २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टीलाई विभाजनतर्फ जान नदिन पहल गर्न आग्रह गरेको छ।
शुक्रबार बिहान महाराजगन्जस्थित सभापति देउवाको निवासमा भएको भेटमा उक्त समूहले निर्वाचन अघि नियमित महाधिवेशनको विषयमा उत्पन्न अन्योल र विवादबारे छलफल गरेको थियो।
भेटका क्रममा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफ्नो चाहना स्पष्ट पारेका छन्। केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीभित्र देखिएको मतभेद समाधानका लागि आफूहरू मध्यस्थ भूमिकामा रहेको बताइन्।
सभापति देउवासँग पार्टीलाई निकास दिनुपर्ने र विभाजनतर्फ जान नदिन नेतृत्वले अग्रसर भूमिका खेल्नुपर्ने आग्रह गरिएको उनले बताइन्। ‘सभापतिज्यूले पार्टी एकतामै अगाडि बढ्न चाहेको स्पष्ट गर्नुभयो,’ उनले भनिन्।
संग्रौलाले हिमालप्रेससँग कुरा गर्दै आफूहरू सभापतिसँगको भेटपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरिरहेको बताइन्। उनले भनिन्, ‘अहिले हामी महामन्त्रीहरूसँग छौं।’
पुस १६ गतेका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेका थिए। उनीहरूले २७ पुस २७ गते विशेष महाधिवेशन गर्ने तयारीसमेत अघि बढाएका छन्। विशेष महाधिवेशन पक्षधर समूहले भृकुटीमण्डप बुक गरिसकेको बताइएको छ।



