चितवनमा ८८.६ किलोमिटर चक्रपथ उद्घाटन

हिमाल प्रेस २९ पुष २०८२ १४:५९
12
SHARES
चितवनमा ८८.६ किलोमिटर चक्रपथ उद्घाटन

चितवन- देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच-७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरेका हुन्।

स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव ६ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात वर्षअघि सुरु गरिएको थियो।

विभिन्न चरणमा सम्पन्न हुँदै आएको उक्त सडकको अधिकांश खण्डमा काम सम्पन्न भइसकेको छ। केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहे पनि अन्य खण्डमा सडक निर्माण पूरा भएको जनाइएको छ।

उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकासकार्य भएको बताइन्। उनले भनिन्,‘महानगरपालिकाको गौरवको प्राथमिकताप्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग (एनएच) का रूपमा विकास भएको छ।’

सडकको मापदण्ड ३० मिटर कायम गर्ने महानगरपालिकाको निर्णय रहेको र वडाबाट आएका सुझावका आधारमा छलफल गरी व्यावहारिक ढंगले काम अघि बढाइएको उनले बताइन्।

कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको समग्र विकासमा चक्रपथले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भौतिक र सामाजिक विकासलाई सँगसँगै अघि बढाउन महानगरपालिका निरन्तर लागिपरेको जानकारी दिए।

संघीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको रिङरोडको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढको पुलचोकमा गरेका थिए।

प्रकाशित: २९ पुष २०८२ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast