बैतडीका ३३ र बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

हिमाल प्रेस ६ माघ २०८२ १३:२४
8
SHARES
बैतडीका ३३ र बाजुराका ६२ मतदानस्थल अति संवेदनशील फाइल तस्बिर

बाजुरा- आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन्। यहाँका ७७ मतदान केन्द्रका ६२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

उनका अनुसार बाँकी १२ वटा संवेदनशील र ४४ मतदान स्थल मध्यम र सामान्य रहेको बताए। अति संवेदनशील मतदान स्थल कूल मतदान स्थलको ८० दशमलव ५१ प्रतिशत रहेको प्रजिअ निरौलाले बताए। अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने जिला सुरक्षा समितिले जनाएको छ।

निर्वाचन समयावधीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र नगराउन जिल्लास्थित राजनीतिक दल र दलका उम्मेदवार तथा सर्वसाधारणलाई सुरक्षा समितिले आग्रह गरेको छ। जिल्लामा हाल ८७ हजार ८६१ मतदाता छन्।

बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका ३३ ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा छन्। जिल्लामा जम्मा १२९ मतदानस्थल छन्।

विगतका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशिलता तय गरिएको जनाएको छ।

स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।

प्रकाशित: ६ माघ २०८२ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast