सर्वोच्च अदालत भवन। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। दुई दिनअघि पेस गरिएको रिटलाई अध्ययनपछि मंगलबार दर्ता गरिएको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जनाले रिट दायर गरेका छन्। उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ पुस २ गते हुने सर्वोच्च अदालतका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले बताए।
रिटमा उनीहरूले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबी गर्दै निर्वाचनका सबै गतिविधि रोक्न माग गरेका छन्। साथै संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिको नाममा परमादेश माग गरिएको छ।
केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ सरकार गठन नगरी सुशीला कार्कीलाई गैरसंवैधानिक रुपमा नियुक्त गरिएको उनीहरूको दाबी छ। कार्कीको नियुक्ति, शपथ तथा प्रतिनिधिसभा विघटनसमेत बदर गर्न माग गरिएको छ।
यसअघि एमालेका सांसदहरूले समेत यस्तै मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।



