हाम्रो कूटनीतिक सेवामा विदेशस्थित नेपाली नियोगमा सरुवा गरिँदा सरुवा पुर्जीमा एक अवधिका लागि निर्दिष्ट रूपमा लेखिएको हुुन्छ। त्यो भनेको चार वर्ष सेवा अवधि हो। यो नियम सबैलाई लागू हुन्छ। विदेश भूमिमा टेकेको मितिले चार वर्षसम्म कामकाज गर्न पाइन्छ। यसमा कहिलेकाहीँ अति आवश्यक समस्या पर्दा केही समय थपिन सक्छ। तर घटी भने हुँदैन- त्यस्तै कारण नपरेसम्म। सेवा अवधि पूरा हुने बेलातिर कसैकसैले अवधि लम्बयाउन अनेक जुक्ति निकाल्छन् पनि। कसैको ठूलै कारण हुन सक्छ। कसैको मनगढन्ते। हालका वर्षमा यो व्यवस्थालाई निकै कडाइका साथ लागू गरिएको बुझिन्छ।
म १७ जुन २०१० का दिन फ्रान्सका लागि नेपाली राजदूतको हैसियतले पेरिस पुगेँ। काममा व्यस्त भइरहँदा समय गएको पत्तो पाइएन। ६ महिना जति बाँकी रहँदा अब फर्कने बेला भो भन्ने आभास भयो। सोहीअनुरूप परराष्ट्र मन्त्रालयमा खबर पठाएँ र अनुरोध पनि गरेँ मलाई सम्झाइराख्नु पर्दैन भनेर। समयमै फर्कनेछु।
यसैबीच १० अप्रिल २०१४ का दिन स्वास्थ्यमा एउटा अप्रत्याशित आपत् आइपर्यो र अस्पतालमा रहनुपर्यो। यसैले दुई महिना सेवा अवधि थप्न अनुरोध गरेँ, जुन स्वीकृत पनि भयो। स्वदेश फर्केर के गर्ने भन्ने स्वाभाविक प्रश्न उठिराख्थ्यो। मनमा एउटा आइडिया फुर्यो। एउटा पुस्तक लेख्ने। ३१ वर्षको कूटनीतिक जीवन तथा ७४ देशहरूको घुमाइ पनि लम्बेचौडे अनुभव भइसकेको थियो। कसैलाई सिकाउनका लागि नभएर आफूले बटुलेको अनुभव सेयर गर्ने भन्ने नै मुख्य उद्देश्य थियो।
पुस्तक त लेख्ने निधो गरेँ। सुरु गर्न निकै गाह्रो भयो। कस्तो प्रकारको पुस्तक लेख्न, कुरा केके राख्ने, कहाँबाट सुरु गर्ने र कहाँ ल्याएर अन्त गर्ने। पुस्तक लेख्ने कुनै जीवनको उद्देश्य त थिएन नै। कुनै तिथिमिति, घटना, पात्रहरूको नामनामेसी आदि कुनै नोट केही छैन। एक मन ल भन्यो है त, किन यस्तो झन्झट बोकिरहने। फेरि अर्काे मनले भन्यो- हैन केही मिहेनत गरेपछि केही त बन्छ। आफ्नो अनुभव सेयर गर्नु भनेको समाजका लागि पनि केही उपादेयता भएकै काम हुन्छ। यसरी मनमा कुरा खेलाउँदा एउटा खाकाचाहिँ तयार गरेँ। अनि आफ्नो निजी जीवनको कहानी त्यति साह्रै महत्त्वपूर्ण नभएकाले जागिरे जीवनकै कुरालाई आधार बनाएर लेख्ने निधो गरेँ। यसरी निर्णयमा पुगेपछि एउटा खाका तयार भयो। यस्तो पुस्तक निकाल्न पाएमा केहि त उपादेयता अवश्यै रहन्छ।
दिनदिनै काम गर्दै गएँ। कम्प्युटरको कामका लागि एकजना सहयोगीलाई अनुरोध गरेँ। निजले पनि काममा त सघाएकै हुन्। कम्प्युटर पनि राम्ररी चलाउन आउने। तर पछि यसो रुजु गर्दा उनले गरेको काममा निकै सुधार गर्नुपर्ने देखेँ। होस् बरु म आफैँ गर्छु भनेर लागिपरेँ। मलाई याद छ त्यो २०७२ साल वैशाख १२ गतेको दिन थियो। उनलाई घरको आँगनबाट बिदा दिई यसो घरमा के पसेको थिएँ, अचानक रिंगटा लागेको जस्तो लाग्यो। थचक्कै बसेछु। उठ्न पनि नसकेको। भूकम्प आएको भन्ने त मनमा आउँदै आएन। पछि छरछिमेकबाट कोलाहल गरी घरघरबा्ट मान्छे निस्केपछि जुरुक्क उठेर बाहिर हुइँकिएँ। म मूलगेटबाट निस्कनु र केही सेकेन्डमै सोकेस दराज लडिहाल्यो। बल्लतल्ल बचेँ।
पुुस्तकको पाण्डुलिपि तयार भएपछि के कस्तो छ भनेर एकजना जानकार व्यक्तिलाई देखाएँ। निजले आवश्यक ठाउँमा सुधार गरिदिनुभयो। यसोउसो गरी ८ महिना जतिमा पुस्तक तयार भयो। अब नाम के राख्ने! जतिलाई सोध्यो उत्तिकै भिन्नभिन्न नाम सुझाउने। अन्ततोगत्वा आफैँले चुनेँ, कुटनीतिमा तीन दशक। अब पुस्तक छाप्ने काम आयो। कसलाई, कुन प्रेसलाई दिने भन्ने सरसल्लाह लिँदा एक जना कम्प्युटरको काममा निपुण व्यक्ति भेटृाइयो। निजले नै सबै जिम्मा लिए र समयमै पुस्तक बजारमा ल्याउन सकियो। पुस्तक लेख्नु एउटा कठिन काम हो। छाप्नु अर्को गाह्रो काम हो भने बजारमा बिक्रीको चाँजोपाँजो मिलाउनु त झन् झन्झटिया तथा ठूलो काम रहेछ। आफुलाई यी पहलुबारेमा कुनै ज्ञान थिएन। लेखक तथा प्रकाशक, वितरकबीच हुने समस्याहरूका बारेमा पनि बिस्तारै बुझ्दै आएँ।
पुस्तक लेख्नुअगाडि एकजना नामुद लेखकसँग भेट भएको थियो। उनी निकै फरासिलो तथा सहयोगी स्वभावका थिए। आफैँले पनि कैयौँ पुस्तकहरू लेखिसकेका। उनले मलाई भने- हेर्नुस् सर, तपाईँले आफ्नो अनुभव सेयर गर्न पुस्तक लेख्न लागेको कुरा त निकै स्वागतयोग्य हो। उनले हाम्रो समाजमा सबैभन्दा वढी पढिने पुस्तकहरूका बारेमा पनि जानकारी दिए।
प्रेसका व्यक्तिको सल्लाह मान्दै एकैचोटि तीन हजार प्रति पुस्तक छापेँ। रकम पनि समयमै दिएँ। कुनै कतै समस्या परेन। बजारमा आफ्नो पहिलो पुस्तक आउने भएर दंग थिएँ। एउटा आत्मसन्तुष्टि पनि थियो। गरे नहुने के छ र भन्ने भावना पनि पलायो।
स्वयम् प्रकाशक भएपछि अरू झन्झटबाट बचे पनि पुस्तक वितरणमा भने गाह्रो हुने रहेछ। पुस्तक बजारमा बिक्रीवितरण गर्ने काम अर्कै खालको रहेछ। पुस्तक छापिएपछि एउटा ठूलो पुस्तक पसलको साहुजीसँग भेट्न पुगेँ। उनले सबै कुरा सोधे, जवाफ पनि दिएँ। तर तीन हजार प्रति छापेको भन्दा विश्वास गरेनन्। अलि हकार्ने पारामा एकैचोटि यत्रो पुस्तक किन छापेको भनेर जिज्ञासा राखे। उनलाई विश्वासै लागेन। मलाई पनि झोक चल्यो। पैसा सबै दिइसकेको थिएँ। लिनेले पनि लिइसकेका थिए। तर बिक्री गरिदेला कि भनी गएकोमा साहुजीको यस्तो अविश्वास! मेरो पालो पैसा बुझ्ने साहुजीलाई सम्पर्क गरेर मोबाइल फोन नयाँ साहुजीको कानमा लगिदिएँ। उनीहरूको कुराकानीपछि हो रहेछ भनेँ। उनलाई धेरै प्रति पुस्तक छापेकोमा मन परेको रहेनछ।
मैले लामो कूटनीतिक जीवनको विभिन्न आरोहअवरोह पार गरी यहाँसम्म आएको अनुभव बटुलेर पुस्तक लखेको थिएँ। यसमा जानकारी रोचक तथा उपयोगी थिए। तर बजारमा बिक्रीवितरण गर्न भने सोचेजस्तो भएन। पुस्तकमा रहेका विषयवस्तुहरू रोचक, सत्य घटनामा आधारित तथा उपयोगी भए तापनि बिक्रीको चाँजोपाँजो मिलाउन नसक्दा आशातीत रूपमा बिक्री गर्न नसकेको अनुभव भयो। अझ भनूँ भने कतिपय पुस्तक विक्रेताहरूले मेरोे विश्वासको दुरूपयोगसमेत गरे र दिनुपर्ने पैसा दिएननन्। कतिपय अवस्थामा ठूला सम्मेलनमा बिक्रीका लागि राखिएको पुस्तक हेर्दाहेर्र्दै बलजफ्ती लिएर गएका घटना पनि थाहा भयो।
चिनेजानेका कतिपय गन्यमान्य व्यक्ति तथा मित्रलाई पुस्तक उपहारस्वरूप दिएँ। तीमध्ये एक जना पुरानो मित्र श्याम डंगोलले दुई दिनमै आद्योपान्त पुस्तक पढेर राम्रो भनी खुसी प्रकट गरे। अनि उनले भने- मोहन तिमीले त रिकर्डहरू गजबसँग राखेका रहेछौ। मैले उनलाई भनेँ- मैले कुनै रिकर्ड राखेर लेखेको पुस्तक हैन। सोच्दै-सम्झँदै लेखेको। उनले मेरा कुरा विश्वास गरेनन्। अब पर्यो फसाद! उनलाई कसरी विश्वास दिलाउने? मेरो दिमागमा एउटा आइडिया फुर्यो।
अनि मैले उनलाई भनेँ- ल डंगोल, तिमी र मसँगै बसौँ, चियाकफी खाऔँ र तिमीले मेरो पुस्तकको जुनसुकै भाग वा पन्नामा रहेका बारेमा सोधनी गर, त्यहाँ थ्रप्रै मानिसको नामनामेसी तथा मिति छन्, व्यहोरा छ्न्। तिमीले सोध्नू, म जवाफ दिन्छु। जवाफ दिन सकिनँ भने तिमीले जित्यौ। उनलाई विश्वास दिलाउन मैले गर्न सक्ने काम भनेको यति मात्र थियो। उनले मेरो च्यालेन्ज स्वीकार गरेनन्। अपितु लल भैगो, तिमी कति इन्टेलिजेन्ट छौ भनेर हामी सबैलाई थाहा भएको कुरा भनी उनी हच्किए। मलाई पनि हाइसन्चो भयो। जाबो एउटा अनुभवमा आधारित पुस्तक लेख्दा पनि यति दशकदेखिको पुरानो मित्रको यस्तो अविश्वास!
पुस्तक लेख्ने रहर त राम्रै थियो होला। तर यसबीच आउने विघ्नबाधा अनगिन्ती थिए। भनिन्छ- स्वास्नी मानिसलाई बच्चा जन्माउन र पुस्तक लेख्न उस्तै गाह्रो विषय हो। तर यस भनाइसँग म त्यतिको सहमत भने छैन। किनभने मैले पुस्तक लेख्छु भनेर अठोट गरेको १० महिनामा बजारमा नै ल्याइसकेको थिएँ।
पुस्तक लेख्दै जाँदा अन्ततोगत्वा एउटा रोचक पुस्तक बन्यो। मेरो पुस्तक विद्यार्थी, गृहिणीदेखि लिएर कूटनीति सेवामा प्रवेश गर्न चाहने, राजदूत बन्न चाहने वा भएका र अन्य सामान्य व्यक्तिका लागि पनि पठनीय पुस्तक बन्यो। कसैकसैले फोनबाट वा पत्रबाट पुस्तक पढेर ज्ञान बढेको भन्ने उद्गार पनि लेखिपठाएका थिए। कतिपयले मेरो पुस्तक पढेर विश्व घुमेको अनुभव भयो पनि भने।
सबभन्दा मन परेको वा छोएको उद्गार भने एकजना उमेरले पाको नवनियुक्त राजदूतको थियो। उनले कूटनीतिक क्षेत्रमा नयाँ नौलो भएको र काम कसरी थाल्ने भन्ने असमञ्जस समयमा मेरो पुस्तक पढेर निकै सजिलो महसुस भएको भन्ने भनाइ रह्यो। राजदूतमा नियुक्ति पाएपछि अब कसरी अगाडि बढ्ने भनी सोचविचार गरिरहेका बेला मेरो पुस्तक पढेर निकै फाइदा भएको उनको भनाइ थियो। बेलामौकामा नयाँ पुराना मित्र भेट्दा मेरो पुस्तकबारे चर्चा हुने गरेको छ। यसले पनि केही खुसी त दिन्छ नै।
पेरिसमा रहँदा एकजना महानुभावसँग भेट भएको थियो। उनी ४२ वटा पुस्तक लेखिसकेँ सर भन्दै थिए। केही समयअगाडि एल्लो प्यागोडा होटलमा एउटा कार्यक्रममा गएको थिएँ। एकजना मञ्चमा बोल्न आएका वक्ताले आफूले ८७ वटा पुस्तकहरू लेखिसकेको भनेर चिनाए। उनलाई त सरस्वतीको खहरे खोला भनी सम्मान दिनुपर्ला।
पुस्तक कति सफल भयो भएन आफ्नै ठाउँमा छ। तर नेपालीमा मात्र लेखेर हुन्न अन्य भाषामा पनि प्रकाशन गर्न सके अझ वढी पुस्तक पाठकसमक्ष पुग्न सक्छ भन्ने मनमा आयो। पुसमाघको जाडो पनि आफैँले नेपालीबाट अंग्रेजीमा उल्था गरेँ। एक वर्ष जति लाग्यो। बाहिर उल्था गराउँदा थुप्रै पैसा तथा समय लाग्ने बुझिएकाले यो पनि राम्रै काम सम्पन्न भयो। दिल्लीमा गएर हिन्दी भाषामा पनि प्रकाशन गरेँ। अब मेरो पुस्तक तीनवटा भाषामा उपलब्ध छन्। बिस्तारै सल्कँदै जाला भन्ने आशा गरेको छु।
पुस्तककै कुरा गर्नुपर्दा संसारमा सबभन्दा बढी बिक्री भएको पुस्तकमा बाइबल रहेछ जुन ६ अर्बभन्दा बढी प्रति बिक्री भएको मानिन्छ। साथै धेरै बढी भाषाहरूमा उल्था गरिएको पुस्तकमा द अल्केमिस्ट रहेछ। यसका लेखक पाउल्हो क्वेल्मे हुन्।
पुस्तक लेखेर मन हलुका गर्ने पनि धेरै छन् होला। मलाई मनमा गुम्सिरहेका कुरा पुस्तकमार्फत पोख्न पाउँदा निकै हलुका अनुभव भएको थियो। पुस्तक बजारमा आएपछि पुरानो चिनजानका एक युवा पत्रकारसँग भेट भयो। उनले अहो सर, हजुर मनको वह सबै पोखेर हलुका हुनु भएछ, हा हा हा भनेर हाँसे। कुरा एक प्रकारले ठीक थियो। अब कामकाज गर्दा कतिसँग मन मिल्छ, कतिसँग मिल्दैन, कसैलाई कसैको अलि प्रगति भयो भने मन जल्ने रहेछ। मन जलेको अवस्थामा लगाउने मलम बनेको छैन। सुझबुझ नै औषधि हो।
एउटै भए पनि पुस्तक त लेखियो, समाजमा केही छवि पनि बनाइयो। तर मैले खुटृयाउन नसकेको एउटा कुरा! पुस्तक लेखेपछि आफन्त र साथीभाइलाई उपहारस्वरूप दिने हो कि मित्रहरूले किनेर सहयोग पुर्याउने? दुवै खालका काम भए। कतिपय नयाँपुराना मित्रहरूलाई उपहार दिएँ। एकदुईजनाले थुप्रै प्रति किनेर सहयोग पनि गरे। पुस्तक पढ्ने भनेको बानी हो। झ्याउ पनि लाग्छ।
मेरो आफ्नो कुरा गर्नुपर्दा पुस्तक पढ्ने बानी छ। दिनदिनै चाहिँ हैन। रमाइलो उपयोगी पुस्तक नछाडीकनै पढ्ने गर्छु। कुनैकुनै पुस्तक त यति रोचक हुन्छ कि नसकाई मनै मान्दैन। मैले अंग्रेजीमा पढेको पुस्तक हो- The Cult at the End of the World । यसमा सन् १९९५ मा जापानमा ओम सिन्रिक्योले तहल्का मच्चाउँदाको विस्तृत विवरण उल्लेख छ। दुईजना अमेरिकी पत्रकारहरूले लेखेको यस पुस्तक यति रमाइलो, रोचक छ कि पढे पछि छाड्नै सकेको थिइनँ।
पुस्तक लेख्ने नै हो भने कैयौँ विषयवस्तु छन्। लेख्ने जमर्काे हुनुपर्यो नि। कस्सिएर लेख्न बस्दा मनमा निकै कुरा आउँछन्। लेख्न गाह्रो पनि हुँदैन। हेर्दै जाऊँ- आउने दिनमा पनि समाजमा योगदान दिन सकिने पुस्तक लेख्ने प्रयास गरूँला।




