पुस मसान्तभित्र विशेष महाधिवेशन गर्न अघि बढ्यौं : कांग्रेस महामन्त्री थापा

हिमाल प्रेस १६ पुष २०८२ १२:५० | Wednesday, December 31, 2025
22
SHARES
पुस मसान्तभित्र विशेष महाधिवेशन गर्न अघि बढ्यौं : कांग्रेस महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशन पुस मसान्तभित्र आह्वान गर्ने प्रक्रियामा अघि बढेको बताएका छन्। राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्रको एकता, आत्मविश्वास र लोकतान्त्रिक अभ्यासका लागि विशेष महाधिवेशन अनिवार्य बनेको उल्लेख गरेका हुन्।

महामन्त्री थापाले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्षम कांग्रेस निर्माण गर्नु प्रत्येक कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै त्यसैका लागि विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढेको बताएका छन्।‍ ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु,’ उनले लेखेका छन्।

थापाले कांग्रेसभित्र फरक विचारलाई लोकतान्त्रिक रूपमा व्यक्त गर्ने साझा मञ्च भनेकै विशेष महाधिवेशन भएको बताएका छन्। ‘आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै त्यो साझा मञ्च हो। पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ’, थापाले भनेका छन्।

त्यस्तै, आजभन्दा ४९ वर्षअघि विषम परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरू स्वदेश फर्किएको स्मरण गर्दै थापाले सो ऐतिहासिक दिनको महत्त्व उल्लेख गरेका छन्।

‘राष्ट्रिय एकता र मेलमिलाप दिवसको ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस्। एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस्’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

थापाले नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथ राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको आधार खोजिरहेको र त्यो आत्मविश्वास पार्टी एकताबाट मात्र सम्भव हुने बताएका छन्। ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र सम्भव हुन्छ,’ उनको भनाइ छ।

प्रकाशित: १६ पुष २०८२ १२:५० | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast