‘शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्दैछौँ, प्रधानमन्त्री कुलपति हुने व्यवस्था हट्छ’

हिमाल प्रेस २४ मंसिर २०८२ १४:२३
32
SHARES
‘शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्दैछौँ, प्रधानमन्त्री कुलपति हुने व्यवस्था हट्छ’

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेकी कुलपति सुशीला कार्कीले उच्च शिक्षामा राजनीति अन्त्य जरुरी भएको बताएकी छन्। धुलिखेलमा बुधबार आयोजित समारोहमा उनले प्रधानमन्त्री नै कुलपति हुने विद्यमान व्यवस्थामा सुधार आवश्यक रहेको र ऐन संशोधनमार्फत प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने तयारी सरकारको प्राथमिकतामा राखेको बताइन्।

प्रधानमन्त्री कार्कीले सो विषयमा शिक्षामन्त्री महावीर पुनको नेतृत्वमा विश्वविद्यालयका सरोकारवाला निकायहरूसँग परामर्श तथा गृहकार्य भइरहेको बताइन्। उनले अनावश्यक दलीय हस्तक्षेपले उच्च शिक्षाको गुणस्तरमा नकारात्मक प्रभाव परेको भन्दै ठोस सुधारका कदम चाल्नुपर्ने बताइन्।

समारोहमा विश्वभर उच्च शिक्षामा भइरहेको प्रविधिक परिवर्तनका साथै आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटीजस्ता विषयले शैक्षिक प्रणालीलाई रूपान्तरण गरिरहेको कार्कीको भनाइ थियो। नेपालमा उच्च शिक्षामा लगानी कम भएको स्वीकार गर्दै उनले यस क्षेत्रमा बजेट विनियोजन बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताइन्।

काठमाडौँ विश्वविद्यालयमा विदेशीसहित विद्यार्थी भर्ना वृद्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विदेशी विद्यार्थी र प्राध्यापक भिसा प्रक्रियामा सहजीकरण गर्नुपर्ने बताइन्। विदेशी विद्यार्थीलाई सिधै विद्यार्थी भिसा उपलब्ध गराउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने संकेत समेत उनले दिइन्।

उपाधि प्राप्त विद्यार्थीहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले उपाधि यात्रा समाप्ति नभई नयाँ सुरुवात भएको बताइन्। युवाले देशमै अवसर पहिचान गर्न, नयाँ क्षेत्र सिर्जना गर्न र जहाँ गए पनि नेपालले गर्व गर्ने नागरिक बन्न उनको आग्रह थियो।

समारोहमा जेएनयूका उपकुलपति शान्तिश्री धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, अभिभावक तथा विद्यार्थीको उपस्थितिमा २,२०९ जना विद्यार्थी दीक्षित भए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast