काठमाडौँ- नेकपा एमालेले ११ औँ महाधिवेशनमार्फत आगामी नेतृत्वको टुंगो लगाएको छ। राजधानीमा २७ मंसिरदेखि बिहीबारसम्म चलेको महाधिवेशनले नयाँ नेतृत्वको टुंगो लगाएको हो।
केपी शर्मा ओली र ईश्वर पोखरेल गरी दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएकोमा संस्थापन पक्षकै पकड बलियो देखिएको छ।
१९ जना पदाधिकारीमध्ये ओलीनिकट १७ जना निर्वाचित हुँदा पोखरेल पक्षको जम्मा दुई जनाले बाजी मारेका छन्। पदाधिकारीतर्फ भएका पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत प्राप्त गरेका छन्। उपाध्यक्षमा निर्वाचित उनले १ हजार ७३७ मत ल्याएका छन्। संस्थापन समूहबाट प्रतिस्पर्धामा उत्रिएका गुरुङले अध्यक्ष ओलीभन्दा बढी मत पाएका हुन्।
पदाधिकारीतर्फ प्राप्त गरेको गुरुङको पहिलो पपुलर मत हो।
अध्यक्षमा निर्वाचित भएका ओलीले १ हजार ६६३ मत प्राप्त गरे। पदाधिकारीतर्फ उनले प्राप्त गरेको यो दोस्रो ‘पपुलर’ मत हो। त्यस्तै केन्द्रीय सदस्यतर्फ प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन्। केन्द्रीय सदस्यमा उनले १ हजार ९४२ मत ल्याएका छन्। ज्ञवालीले प्राप्त गरेको या सबैभन्दा पपुरल मत हो।
पदाधिकारी र केन्द्रीय सदस्यतर्फ गरी ज्ञवालीले सबैभन्दा बढी मत प्राप्त गरेका हुन्। ओली टिमबाट महासचिवमा उम्मेदवार हुन नपाएपछि ज्ञवाली रुष्ट बनेका थिए। ओलीसहित शीर्ष नेताहरूसँग रुष्ट बनेका उनले उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।
ज्ञवालीले छोडेको उपाध्यक्ष पदमा ओली टिममा रघुजी पन्तलाई समेटिएको थियो। सुरुमा ओली टिममा नपरेका उनले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका थिए। रुष्ट बनेका ज्ञवाली केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि पन्तलाई उपाध्यक्ष पदमा ल्याइएको थियो।





