सहरमा आज : तीन नाटक र पाँच फिल्मसँगै फोटोग्राफी महोत्सव

सुस्मिता बजगाईं २० मंसिर २०८२ ७:२४
20
SHARES
सहरमा आज : तीन नाटक र पाँच फिल्मसँगै फोटोग्राफी महोत्सव

काठमाडौँ- आज मंसिरको तेस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

समग्रमा यो साता थिएटरमा तीन नाटक मञ्चन भइरहेको छ। ‘के? अस?’, ‘महारानीको जात्रा’ र ‘मिलारेपा’। हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भएका छन्। त्यस्तै विभिन्न स्थानमा चित्रकला प्रदर्शनी पनि चलिरहेको छ।

हेरौं, यो साता कहाँ के के हुँदैछ

‘फोटो काठमाडौँ’ को छैटौँ संस्करण अन्तर्गत अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव जारी

उपत्यकाको तीनै जिल्लामा कात्तिक २८ देखि ‘फोटो काठमाडौँ’ को छैटौँ संस्करण अन्तर्गत अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव चलिरहेको छ।

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद् लाई महोत्सवको मुख्य स्थल बनाइएको छ। साथै, ललितपुरस्थित पाटनको मङ्गाहिति र च्यासल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, नक्सालको नन्दीकेशर बगैँचा र भक्तपुरस्थित थिमि (मध्यपुर) को निगू पुखुमा पनि चलिरहेको छ।

मंसिर २८ सम्म चल्ने प्रदर्शनी प्रवेश नि:शुल्क छ। महोत्सवमा नेपाली फोटोग्राफर तथा फिल्म निर्माताहरूका साथै स्यान्टियागोदेखि लुबुम्बासी र क्विटोदेखि डकारसम्मका ३० भन्दा बढी नेपालीसहित ग्लोबल साउथका कलाकारको सिर्जना राखिएको छ।

साथै उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला, कलाकारसँग वार्ता, प्यानल छलफल, पोर्टफोलियो समीक्षा र फिल्म प्रदर्शनी पनि चलिरहेको छ।

थिएटरमा तीन नाटक

कौसी थिएटरमा ‘के? युएस?’

टेकुस्थित कथा घेराको कौसी थिएटरमा मंसिर १२ देखि नाटक ‘के? युएस?’ मञ्चन भइरहेको छ। नाटक भोलीसम्म (मंसिर २१) सम्म मञ्चन हुनेछ। नाटकका लेखक तथा निर्देशक इलुममणि दीक्षित र विजय आनन्द ताम्राकार हुन्। नाटकको मुख्य भूमिकामा उनीहरू नै देखिएका छन् यी दुई पात्रमार्फत नाटकमा मानवीय भावना अराजकता र मनोविज्ञानको खोज प्रस्तुत गर्न खोजिएको छ। स्टुडियो आकारको प्रस्तुति रहेको नाटक डार्क कमेडीमा आधारित छ।

कान्तिपुर थिएटरमा ‘महारानीको जात्रा’

गैरीधारा नक्सालस्थित कान्तिपुर थिएटरमा कात्तिक २४ देखि नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ। नाटक मञ्चनको आज अन्तिम दिन हो। आज शनिबार दुई सो छ, दिउँसो १ बजे र साँझ ५ बजे। कान्तिपुर फिल्म एकेडेमीको प्रोडक्सनमा बनेको नाटकका परिकल्पनाकार तथा निर्देशक दिपल बराल हुन्।

रमेश पुरी निर्माता रहेको नाटकमा कलाकारका रुपमा उषा रजक, राज न्यौपाने, सुहाना आचार्य, निकिता आचार्य, दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, विमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटाले अभिनय गरेका छन्। यी सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।

मण्डलामा ‘मिलारेपा’

थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक १८ देखि नाटक ‘मिलारेपा’ मञ्चनरत छ। नाटक तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनकथामा आधारित छ। नाटकमा मिलारेपाको बाल्यकालदेखि तपस्या गरेर ज्ञान प्राप्तिसम्मको यात्रा प्रस्तुत गरिएको छ। मिलारेपाको भूमिकामा रूपेश लामाले अभिनय गरेका छन्।

चाङ् ङ्योन हेरूकले लेखेको नाटकको नेपाली नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्। बुद्धि तामाङ र उमेश तामाङ संयुक्त निर्देशनमा मञ्चन भएको हो। नाटक यही मंसिर २१ सम्म मञ्चन हुनेछ। नाटकमा अन्य कलाकार रमिला मोक्तान, विकाश लामा, सानु मार्यौं तामाङ, रस्मिला तामाङ, रिया लामा विजय तामाङ ब्लोन, बल बहादुर राई, मिलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्व स्याङ्बो, सविता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय टुवा, रत्न मंगगल, टसी लामा, अजय लामा, पवन कुमार गोले र सविता तामाङको अभिनय छ।  नाटक सोमबारबाहेक हरेक दिन दिउँसो १ बजे र साँझ ५ः ३० बजे मञ्चन भइरहेको छ।

हलमा कुनकुन फिल्म?

अभिमन्युः च्याप्टर वान

मंसिर १८ देखि हलमा फिल्म ‘अभिमन्युः च्याप्टर १’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक सुशान्त गौतम हुन्। यो उनको डेब्यु फिल्म हो। फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको मुख्य भूमिकामा छन्। ड्रामा जनरामा बनेको फिल्ममा अन्य कलाकारमा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायतले अभिनय गरेका छन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको ७ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हल, सिके सिनेमाजमा फिल्म ‘अभिमन्यु च्याप्टर वान’ प्रदर्शन भइरहेको छ।

हर्ष
मंसिर १२ देखि हलमा नेपाली फिल्म ‘हर्ष’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक एकता पौडेल हुन्। यो उनको डेब्यु फिल्म हो। पारिवारिक कथामा बनेको फिल्ममा वर्षा राउत, खगेन्द्र लामिछाने र बाल कलाकार साइमन वादी मुख्य भूमिकामा छन्।
फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिटी स्क्वायर मलमा फिल्मको एक सो छ।

परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्। फिल्मले अहिलेसम्म १६ करोडभन्दा माथि कमाइसकेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको १४ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज, सिटी सिनेमाज फिल्म ‘परान’ चलिरहेको अन्य हल हुन्।

जेरी अन टप

असोज ३१ देखि हलमा नेपाली फिल्म ‘जेरी अन टप’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्। फिल्मले अहिलेसम्म १२ करोड भन्दा माथि व्यापार गरेको छ। निर्माण टिमले आज प्रदर्शनकाे ५१ दिन पनि मनाउँदै छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिटी स्क्वायर मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स र एफक्युब सिनेमाजमा फिल्म ‘जेरी अन टप’ चलिरहेको छ।

धुरन्धर

बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ।

फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टर, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स र सिभिल मलमा फिल्मले ३० भन्दा बढि सो पाएको छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा बलिउड फिल्म ‘धुरन्धर’ प्रदर्शनरत छ।

तेरे इस्क मे

हिन्दी फिल्म ‘तेरे इस्क मे’ मंसिर १२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता धनुष र कृति सेनन छन्। प्रेम कथामा बनेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक आनन्द एल.राय हुन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल र छाया सेन्टरमा २२ सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा उच्च सोसहित फिल्म चलिरहेको छ।

विक्ड फर गुड
हलिउड फिल्म ‘विक्ड फर गुड’ नेपालमा प्रदर्शन भइरहेको छ। जोन एम. चु निर्देशित फिल्म पारिवारिक जनरामा बनेको छ। फिल्ममा सिन्थिया एरिभो, एरियाना ग्रान्डे, जोनाथन बेलीलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल र छाया सेन्टरमा फिल्मको तीन सो छ।

प्रकाशित: २० मंसिर २०८२ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast