अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र केशव बडाल
काठमाडौँ- नेकपा एमालेका तीन प्रभावशाली नेताले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। सक्रिय राजनीतिबाट बाहिरिने घोषणा गरेका नेताहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र केशव बडाल हुन्।
एमाले राजनीतिमा लागेर पार्टीका उपल्लो तहमा पुगेका तीनै नेताले ७० वर्षे उमेर हदका कारण पार्टीबाट अलग हुने घोषणा गरेका छन्। यद्यपि केपी शर्मा ओली भने पार्टी विधान सच्याएर तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा छन्।
शाक्य र ज्ञवाली कुनै बेला ओलीलाई दुई कार्यकाल र ७० वर्षे उमेरहदको विधान बनाउन सहयोग गर्ने नेताहरू हुन्। उनीहरू दुवै जना यसअघि दुई कार्यकाल उपाध्यक्ष बनिसकेका छन्। उनीहरूले जारी महाधिवेशनको बन्दसत्रअघि बसेको केन्द्रीय कमिटी बैठकमा अब साधारण सदस्य मात्र रहने घोषणा गरेका थिए।
शाक्यको नाम महिला नेताको सूचीमा अग्रणी छ। २०३६ सालपछि भूमिगत राजनीतिमा सक्रिय शाक्य एमाले उपाध्यक्षसम्म भइन्। पार्टीको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट एमालेको उपाध्यक्ष बनेकी थिइन्। उनी संघीय सरकारको दुई पटक मन्त्री भइन् भने बागमती प्रदेश सरकारको मुख्यमन्त्री पनि भइन्। उनका पति एमाले नेता अमृतकुमार बोहरा हुन्। बोहरा पनि सक्रिय राजनीतिमा छैनन्।
२०२६ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ज्ञवाली २०७१ सालमा नेकपा एमालेको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी ४६ सालदेखि हरेक महाधिवेशनमा केन्द्रीय कमिटीमा निर्वाचित भएका नेता हुन्। ज्ञवाली २०५६ सालदेखि स्थायी कमिटी, ८औँ महाधिवेशनमा सचिव र ९औँ महाधिवेशनबाट उपाध्यक्ष भएका थिए।
२०६६ सालमा केन्द्रीय संगठन विभाग प्रमुख एवम् मध्यपश्चिमाञ्चल संयोजक, ०६५ सालमा केन्द्रीय सचिवालयको सचिव र ६४ सालमा केन्द्रीय पार्टी स्कुल विभागको प्रमुख थिए।
ज्ञवाली २०५६ सालमा एकालेका तर्फबाट राष्ट्रियसभामा विपक्षी दलका नेता थिए। उनले २०७८ सालमा एक कार्यकाल सक्रिय हुने बताएका थिए।
यसैगरी २०७८ सालदेखि पार्टीको अनुशासन आयोगका अध्यक्ष रहेका बडालले आइतबार भएको बन्दसत्रमा पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन्। उनले भने, ‘पदभन्दा बाहिर रहेर, भुइँस्तरमा बसेर पार्टी र जनताको हितमा समर्पित भएर लाग्नेछु।’
२०३१ सालमा कम्युनिस्ट पार्टीका सदस्य बनेका बडालले पार्टीमा सल्लाहकार परिषद्को अध्यक्ष, केन्द्रीय सहकारी विभाग प्रमुख, उद्योग विभाग प्रमुखलगायतको जिम्मेवारी सम्हालिसकेका छन्। बडाल एकपटक उद्योगमन्त्री भएका थिए।



