काठमाडौँ- बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३ औं स्थापना दिवसका अवसरमा कला क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजना गरिएको कार्यक्रममा ‘साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान-२०८२’ बाट कलाकार कृष्णभक्त महर्जनलाई प्रदान गरिएको छ।
कलाकार महर्जनलाई वरिष्ठ कलाकार हरिहर शर्मा, पुरस्कार संस्थापक तथा केन्द्रका सल्लाहकार प्रमोद प्रधान, केन्द्रका अध्यक्ष अनन्त वाग्ले लगायतले नगद २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे। यसअघि यो सम्मानबाट स्रष्टाहरू शान्तदास मानन्धर, टेकवीर मुखिया, नुपुर भट्टचार्य सम्मानित भइसकेका छन्।
त्यस्तै, ‘राकुपा बालबाङ्मय बाल पुस्तक पुरस्कार-२०८१’ बाट ‘बालापनका धर्साहरु’ पुस्तकका लागि आर्या त्रिपाठी, ‘केके कर्माचार्य बालवाङ्मय चित्रकला सम्मान २०८२’ बाट चित्रकार देवेन्द्र पाण्डे ‘देवेन’ र ‘जयहिरा बालबाङ्मय किशोर आख्यान पुरस्कार-२०८१’ बाट पुस्तक ‘कालग्रन्थ’ का लागि रोशन पोखरेल सम्मानित भएका छन्।
सम्मानित सबैलाई वरिष्ठ कलाकार शर्मा, केन्द्रका अध्यक्ष वाग्ले, पुरस्कारका संस्थापकहरु केके कर्माचार्य, सिर्जना शर्माले जनही १० हजार रुपैयाँ नगद तथा सम्मानपत्र हस्तान्तरण गरे।
केन्द्रका अध्यक्ष वाग्लेले सम्मानित तथा पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्दै बालवाङ्मय तथा अनुसन्धान केन्द्रले १३ वर्षको यात्रा गर्दै गर्दा अझै जिम्मेवार र सचेत भएर अगाडि बढ्नुपर्ने बताए।
नयाँ आउने बालबालिकालाई चरीत्रवान बनाउन नेपाली नाटक, कथा जस्ता साहित्य सिर्जनाले सघाउन सक्ने बताउँदै केन्द्रका सल्लाहकार प्रधानले साहित्य सिर्जनाले नै योग्य भएका बालबालिका मार्फत देश निर्माण हुन सक्ने धारणा राखे।



