विष्णु रिमाल
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताएका छन्।
प्रेस चौतारी नेपालद्वारा आज आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र संघर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताए।
‘पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन। हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ। यही स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमा रहेको छ’, उनले भने।
रिमालले मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा पार्टी अघि बढ्ने बताए। ‘बाहिर चर्चामा आए जस्तो प्रतिस्पर्धा गर्न पाइँदैन या चुनाव हुँदैमा पार्टीमा समस्या आउँछ भन्ने कुरा यथार्थ होइन,’ उनले भने।
महाधिवेशनमा विद्यादेवी भण्डारी पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन्। एमालेको महाधिवेश यही मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुँदैछ। महाधिवेशन प्रतिनिधिको रूपमा दुई हजार ४०० जना सहभागी हुने उक्त पार्टीले जनाएको छ।



