काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपांगता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
अपांगता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले आज (बुधबार) भृकुटीमण्डप परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपांगमैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त गरे। अपांगता भएका व्यक्तिको सहयोगी निर्देशिका चाँडै कार्यान्वयनमा ल्याइने उनले विश्वास व्यक्त गरे। ‘यसअघि राजनीतिक दलका नेताले गर्छु भने गरेनन् तर, म गर्छु भन्दैन। गरिसकेपछि गरेँ है भनेर भनौँला । हाम्रो देशमा गर्छु भन्ने रोग छ,’ मन्त्री खरेलले भने।
सञ्चारमन्त्री खरेलले सरकारकोतर्फबाट निर्देशिका कार्यान्वयनमा ल्याउने र कम्तीमा सानो रूपमा भए पनि गम्भीर रूपमा अपांगता भएका नेपाली दाजुभाई दिदीबहिनीका लागि केही न केही प्रक्रियाको प्रारम्भ गरिने स्पष्ट पारे। उनले सामाजिक न्याय, समता, समानता तथा विवेधरहित समाज निर्माण र सामाजिक विभेदको अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ लाग्ने बताए।
सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा पनि सरकार अपांगता भएका व्यक्तिको साथमा रहेको जानकारी गराइसकेकाले यसलाई अगाडि बढाउने कुरामा सरकारलाई सहयोग पुग्ने बताए। उनले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलाई कसरी अपांगमैत्री बनाउन सकिन्छ, नीतिगत र संरचनागतरूपमा कार्यान्वयन गर्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

‘निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेको छ’
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वातावरण बनिसकेको र सरकार निर्वाचन गराउने प्रक्रियामा अगाडि बढिसकेको बताए।
उनले भने, ‘सरकारको ६ महिने अवधिको मूख्य दायित्व फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्ने छ, निर्वाचन जसरी पनि हुँदैछ, त्यसको सम्पूर्ण वातावरण बनिसकेको छ, सरकार यसमा दृढ छ। निर्वाचनसँगै सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढतापूर्वक अगाडि बढेको छ।’
महासंघका अध्यक्ष देवीदत्त आचार्यले अपांगमैत्री संरचना र नीतिगत सुधारका लागि सरोकारवालाको ध्यानाकर्षण गराए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद्, राष्ट्रिय अपांग महासंघ नेपाल र राष्ट्रिय अपांग कोषको संयुक्त आयोजनामा भएको कार्यक्रममा अपांगता क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

यसअघि आजै बिहान सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलको नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको थियो। खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो।
‘अपांगता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ नाराका साथ यस वर्ष अपांगता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ। अपांगता भएका नागरिकको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो। दिवसले अपांगता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ।

नेपालको संविधानले अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने तथा सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भए पनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ।



