‘संज्ञान विमर्श’ को आठौँ शृंखला : नाट्साहित्यमा बहस

हिमाल प्रेस ११ पुष २०८२ २१:१७ | Friday, December 26, 2025
32
SHARES
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : नाट्साहित्यमा बहस

काठमाडौँ- ‘संज्ञान विमर्श’ को आठौँ शृङ्खलालाई नेपाली नाटकको विवेचनामा केन्द्रित गरिएको छ । पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटकलाई पूर्वीय तथा पाश्चात्य सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको हो।

वरिष्ठ समालोचक, साहित्यकार एवम् भाषा वैज्ञानिक प्रा. डा. माधव पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभागकी उपप्रा. डा. शोभा ढुंगानाले ‘समका पौराणिक नाटकमा पूर्वीय र पाश्चात्य नाट्य सिद्धान्तको तुलनात्मक अध्ययन’ शीर्षकको प्रस्तुति राखेकी थिइन्।

कार्यक्रममा प्रस्तोता ढुंगानाले समको ‘प्रह्लाद’ नाटकलाई दुःखान्त नाटकका रूपमा चिनाइन्। उनले समय सन्दर्भअनुसार पाश्चात्य नाट्य सिद्धान्तमा परिवर्तित मान्यता भित्रिएको तर पूर्वीय मान्यतामा भने परिवर्तनका संकेत प्राप्त हुन नसकेको धारणा अघि सारिन्।

प्रमुख अतिथि पोखरेलले नेपाली समाजमा विमर्शको संस्कृति कमजोर रहेको औँल्याउँदै ‘संज्ञान विमर्श’ ले यस्तो अभाव पूर्ति गरी विमर्शको संस्कृति स्थापना गर्न सहयोग गर्ने विचार व्यक्त गरे। उनले विद्वान् कहलिएका नेपाली बौद्धिकलाई ‘ओखरले भरिएको हाँडी’ को संज्ञा दिए।

पोखरेलले ज्ञानको उत्पादनमा निरन्तर क्रियाशील भई अघि नबढे ज्ञान निर्माणको पृष्ठाधार मक्किने मात्र नभई भाँचिएर झर्न पनि सक्ने धारणा प्रस्तुत गरे।

विशिष्ट अतिथिका रूपमा उपस्थित क्याम्पस प्रमुख सहप्रा. डा. रघुवीर विष्टले हरेक आन्दोलनपछि साहित्यले महत्त्वपूर्ण सन्देशसहित सम्भावनाको नयाँ यात्रा प्रारम्भ गर्ने सफलता प्राप्त गरेको बताए।
सहायक क्याम्पस प्रमुख डा. रूद्र चर्मकारले सिर्जनशील मनहरूको उत्साहजनक सहभागिताबाट विचारको नवीन मार्ग निर्माण हुने अभिमत प्रस्तुत गरे।

क्याम्पसका विद्यार्थी कल्याण प्रमुख डा. बालकृष्ण खत्रीले यस प्रकृतिका विमर्श कार्यक्रमले ज्ञान निर्माण तथा ज्ञान प्रसारणका कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार राखे।

कार्यक्रमका सभाध्यक्ष विभागका उपप्रा. डा. दीपकप्रसाद गौतमले समालोचनामा नवीन दृष्टिका साथ समका नाटकको समालोचना अघि बढाउने सफल प्रयत्नका निम्ति डा. ढुंगानाको सिर्जनशील क्षमताको प्रशंसा गरे।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. जीवनकुमार श्रेष्ठ, नेपाली विभागका विभागीय प्रमुख सहप्रा. माधव उपाध्याय लम्साल, विभागका प्राध्यापकहरू तथा स्नातकोत्तर तहका नेपाली विषयका छात्रछात्राको सहभागिता थियो।

प्रकाशित: ११ पुष २०८२ २१:१७ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast