पोखरामा जलन अस्पताल निर्माण अध्ययन

हिमाल प्रेस २४ मंसिर २०८२ २१:२६
18
SHARES
पोखरामा जलन अस्पताल निर्माण अध्ययन

पोखरा– पोखरा भ्रमण वर्ष–२०२५ उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा तत्कालीन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज घाइते गम्भीर घाइते भए।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ३ फागुनमा आयोजित उक्त उद्घाटन समारोहमा एक्कासि बेलुन बिस्फोटमा गम्भीर घाइते पौडेल र आचार्यको पोखरामा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरियो। कीर्तिपुर अस्पतालमा करिब दुई सातसम्मको उपचारपछि उनीहरु डिस्चार्ज भएका थिए।

काठमाडौँपछिको दोस्रो ठूलो सहर पोखरामा एउटा पनि जलन उपचार अस्पताल नभएको र आफू पनि मृत्युको मुखबाट फर्केको भन्दै मेयर आचार्यले सुविधासम्पन्न जलन अस्पताल बनाउने घोषणा गरेका थिए। त्यसो त सरकारले पनि सातै प्रदेशमा बर्न अस्पताल निर्माण गर्ने घोषणा गरिसकेको छ।

सोही घोषणाअनुरुप पोखरामा एक सय शय्याको बर्न तथा स्पेशलाइज्ड हस्पिटल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ।

साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा अस्पताल बनाउन कोरियन सहयोग नियोग (कोइका) को उच्चस्तरीय विज्ञ टोली अध्ययनका लागि पोखरा आएको छ। कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङ, डेपुटी कन्ट्री डाइरेक्टर, असिस्टेन्ट कन्ट्री डाइरेक्टरसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञहरूको टोली ३ दिनदेखि पोखरामै छ।

टोलीले पोखरा महानगरपालिकाअन्तर्गत सञ्चालित जीभीजेड परियोजना (प्रदर्शन केन्द्रमा निर्माणाधीन परियोजना केन्द्र) को प्रगति तथा अनुगमन गर्नुका साथै अस्पताल निर्माणबारे आवश्यक परामर्श गरिरहेको छ।

अध्ययनका लागि कोइकाका कन्ट्री डाइरेक्टरसहित १७ जना विज्ञहरूको उच्चस्तरीय टोली खटिएको छ। प्रारम्भिक अनुमानअनुसार यो परियोजना करिब एक अर्बभन्दा बढी लागतको हुनेछ।

साविक लेखनाथ नगरपालिका कार्यालय रहेको क्षेत्रमध्ये ३ रोपनीमा वडा २७ को कार्यालय निर्माण सम्पन्न भइसकेको छ भने ५ रोपनीमा एडीबीको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढिरहेको छ।

२८ रोपनीमा जलन (बर्न) अस्पतालसँगै प्रसूति तथा स्त्री रोग, बालबालिका, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवाहरू समावेश गरी यसलाई एक स्पेशलाइज्ड हस्पिटलको रूपमा विकास गर्ने महानगरका मेयर धनराज आचार्यले बताए।

कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मीका अनुसार नेपालमा जलनका ७० प्रतिशत घटना घरभित्रै हुने गरेका छन्। देशभर ९० केन्द्र भएमा जलनको प्राथमिक उपचार घटना भएको २ घण्टाभित्रै गर्न सकिने उनी बताउँछन्।

घटना घटिसकेपछि आत्तिन नहुने भन्दै डा. नकर्मीले केही प्राथमिक उपचारका उपाय सुझाए।

‘आगो लागेपछि आत्तिएर भाग्न हुँदैन। भुइँमा लड्नुपर्छ। लडीबुडी गर्नुपर्छ, जिउमा भएको लुगा र गहना खोल्नुपर्छ,’ उनले थपे, ‘तातोपना घुम्सिएर घाउ गहिरो हुन्छ। पोलेको ठाउँमा पानी खन्याउनुपर्छ। त्यसले घाउ गहिरो हुँदैन।’

प्रकाशित: २४ मंसिर २०८२ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast