श्रद्धा श्रेष्ठ : विज्ञता पर्यटनमा, मन्त्रालय महिला तथा बालबालिका

विजय नेपाल २६ मंसिर २०८२ १८:२५
98
SHARES
श्रद्धा श्रेष्ठ : विज्ञता पर्यटनमा, मन्त्रालय महिला तथा बालबालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ

पोखरा– पोखरामा त्यसबेला चल्तीको थियो, एभिया क्लब। सोही क्लबका सञ्चालकसमेत रहेका पाइलट स्टेफेन श्रेष्ठ अर्का चाइनीज पर्यटक लिएर अल्ट्रालाइट जहाज उडाउँदै थिए। तर, पोखराको पुम्दीभुम्दीस्ति विश्व शान्ति स्तुपमा उक्त जहाज दुर्घटना हुन गयो। दुर्घटनामा परी पाइलट स्टफेसनसहित पर्यटकले अकालमा ज्यान गुमाए।

सन् ३ अक्टोबर, २०१३ को त्यो कहालीलाग्दो दुर्घटनाको पनि १२ वर्ष पूरा भइसकेको छ। कतिपयले उक्त दुर्घटना बिर्सिसके पनि होलान्। तर, श्रद्धा श्रेष्ठलाई भने जीवनभर नमिठो घाउ दिएर गयो, त्यो दुर्घटनाले।

पतिवियोग झेलेकी एकल महिला उनै श्रद्धा नेपालको पर्यटन क्षेत्रको अनुभवी पर्यटन विशेषज्ञरुपमा चिनिन्छिन्। नेपाल पर्यटन बोर्ड पोखरामा केही वर्षसम्म प्रमुख रहेर अनुभव हासिल गरेकी उनी पछिल्लो समय नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धक पदमा कार्यरत् थिइन्।

उनलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सुम्पिएको छ। शुक्रबार दिउँसो राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीसहित चार मन्त्रीलाई शपथ दिलाए।

पोखरा कर्मघर भएकी उनी करिब दुई दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशील छन्। पर्यटन बोर्डमा जागिर खाँदाखाँदै उनी मन्त्री बन्न सफल भएपछि पोखरेलीहरु समेत यतिखेर खुसी छन्।

नेपाली मूलका नागरिकसँग विहे गरेर नेपालमै घरजम गरेकी श्रद्धाकी सासू नतासा रसियन हुन्। हाल श्रेष्ठ परिवारको पोखरामा वडा १७, ड्यामसाइडमा बसोबास रहीआएको छ।

पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष गोविन्दराज पहारी पोखरामा लामो समयसम्म रहेर पर्यटन क्षेत्रमा काम गरेको, पर्यटन बुझेको व्यक्ति मन्त्री बनेको सुन्दा खुसी लागेको प्रतिक्रिया दिए। उनले भने, ‘पोखरालाई राम्रोसँग चिनेको, बुझेको मानिस मन्त्री बन्नु हामी पर्यटन व्यवसायीहरुका लागि पनि खुसीको कुरा हो।’

पोखरामा पर्यटन व्यवसायीहरुको छाता संगठन पर्यटन परिषद् पोखराका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पनि श्रद्धा श्रेष्ठलाई निकै मेहनती, इमानदार र पर्यटन राम्रोसँग बुझेको भनी चित्रण गर्छन्।

‘पोखरामा छँदा नेपाल पर्यटन बोर्डमा पनि कार्यरत् रहनुभयो, पढेलेखेको, नेपालको पर्यटन बुझेको र पर्यटन क्षेत्रमा युवा तथा महिला उद्यमशीलता प्रवद्र्धनमा पनि उहाँ विज्ञ हुनुहुन्छ,’ उनले भने, ‘पर्यटन मन्त्रालय नै दिएको भए पनि हुन्थ्यो, तैपनि हामी पोखरेली खुसी छौँ।’

लामो समयसम्म नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा काम गर्दै उनले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने काममा नेतृत्व गरिन्। उनी दिगो पर्यटन, युवा क्षमता विकास, महिला नेतृत्व र समुदायमा आधारित पर्यटनजस्ता विषयमा सक्रिय रहिन्।

त्यसैगरी, उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर थुप्रै परियोजनाहरू सञ्चालन गरेकी छन्। उनी पर्यटन बोर्डमा दिगो पर्यटन परियोजना प्रमुखका रुपमा कार्यरत् थिइन्। उक्त परियोजना राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सहकार्यमा सञ्चालित परियोजना हो। यसले ग्रामीण तथा समुदायमा आधारित पर्यटनमा जोड दिने लक्ष्य राख्ने गर्दछ।

त्यतिमात्र हैन, उनी पर्यटन बोर्डको ब्रान्ड प्रबद्र्धन र कर्पोरेट पार्टनरसिप प्रबन्धक रुपमा विभिन्न मुलुक घुमेकी छन्। विदेश भ्रमणमा उनले नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेकी छन्।

नेपालमा कोरोना महामारी भित्रिँदा उनले पर्यटन संकट समाधान टिममा सदस्य रहेर आफ्नो क्षमता देखाएकी थिइन्। उनले अमेरिकाको मिसिगन विश्वविद्यालयबाट विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अध्ययन गरेकी छन्। यसकारण पनि उनको शैक्षिक योग्यता, व्यावसायिक क्षमता र अन्तर्राष्ट्रिय पहिचानलाई मजबुत बनाएको पाइन्छ।

प्रकाशित: २६ मंसिर २०८२ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast