प्रलोपाको बैठक : पुराना दलले निकास दिन सकेनन्, नयाँ अपरिपक्व’

हिमाल प्रेस २ पुष २०८२ ११:४०
54
SHARES
प्रलोपाको बैठक : पुराना दलले निकास दिन सकेनन्, नयाँ अपरिपक्व’

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेताहरूले संगठन विस्तार गर्दै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमै केन्द्रित हुनुपर्ने धारणा राखेका छन्। नयाँ बजारस्थित एक बैंक्वेटमा मंगलबारदेखि जारी बैठकमा नेताहरूले पुरानै ढर्राको राजनीति दोहोर्‍याउने नभई वैकल्पिक र नयाँ शैलीको राजनीति स्थापित गर्दै चुनावी मैदानमा उत्रनु पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तार, कार्यविधि निर्माण,कार्यविभाजन र कार्यक्रम तय गर्नुपर्नेमा नेताहरूको जोड रहेको छ।

बैठकमा वैकल्पिक राजनीतिक शक्तिबीच कार्यगत एकता, गठबन्धन वा मोर्चाबन्दीको विषय उठे पनि तत्कालका लागि पार्टीले आफ्नै संगठनात्मक क्षमता मजबुत बनाउँदै चुनावमा होमिनुपर्ने धारणा प्रमुख रूपमा आएको छ।

केन्द्रीय सदस्य रोशन पोखरेलले बैठकमा उठेका धारणाबारे भने, ‘हिजो पनि साथीहरूले धारणा राख्नुभयो,आज पनि राख्दै हुनुहुन्छ। मूलतः पुरानै तरिकाको राजनीति किन दोहोर्‍याउने भन्ने प्रश्न उठेको छ। नयाँ तरिका, नयाँ शैली, नयाँ सांगठनिक संरचना र केही पृथक् नीति तथा कार्यक्रम लिएर जानुपर्छ भन्ने सुझाव आएको छ। विशेषगरी सांगठनिक संरचना नै वैकल्पिक राजनीतिक चरित्र झल्काउने खालको हुनुपर्छ भन्ने मत बलियो छ।’

बैठकमा महाधिवेशनको विषयले पनि प्रवेश पाएन। ‘महाधिवेशनभन्दा पनि चुनावमा होमिनुको विकल्प छैन भन्नेमा सबै एकमत छन्,’ उनले भने। मंगलबारको बैठकमा पार्टीका १५१ केन्द्रीय सदस्यमध्ये ३५ जनाले धारणा राखेका थिए। बाँकी केन्द्रीय सदस्यहरूले बुधबार आफ्नो धारणा राख्न थालेका छन्।

केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले मुलुकमा देखिएको राजनीतिक अस्थिरता बैठकको केन्द्रीय चिन्ताको विषय बनेको बताए। ‘अधिकांश नेताहरूले मुलुकमा देखिएको राजनीतिक अस्थिरता गम्भीर समस्याका रूपमा आएको बताएका छन्,’ उनले भने, ‘पुराना दलहरूले सही ढंगले निकास दिन सकेनन्, नयाँ र वैकल्पिक भनिएका दलहरू पनि अझै परिपक्व भइसकेका छैनन्। त्यसैले अहिलेको राजनीतिक संकटलाई बुद्धिमत्तापूर्वक नेतृत्व गरेर निकास दिन सक्ने शक्ति आवश्यक छ भन्ने धारणा आएको छ।’

यसैबीच, पार्टी अध्यक्ष दुर्गा सोबले बैठकमा विभिन्न राजनीतिक दस्तावेज प्रस्तुत गरिएको जानकारी दिँदै पार्टीको सांगठनिक संरचनालाई बलियाे बनाउने ढंगेले छलफल  भएको बताइन्।

‘पार्टीको प्रतिबद्धतापत्र अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले प्रस्तुत गर्नुभयो। मैले केन्द्रीय समिति सदस्यहरूको अन्तिम सूची प्रस्तुत गरेँ,’ अध्यक्ष सोबले भनिन्, ‘राम कार्कीले प्रलोपाको राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभयो। आज डा. बाबुराम भट्टराईले सम्बोधन गर्नुहुन्छ। उहाँ हाम्रो संरक्षक र अभिभावकको भूमिकामा हुनुहुन्छ।’ प्रस्तुत प्रतिवेदनमाथि आज केन्द्रीय सदस्यहरूले सुझाव राख्दैछन्।

गत मंसिर ७ गते दुर्गा सोब नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), सुदन किराँती नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान नेपाल, सन्तोष परियार तथा जेनजी पुस्ताका युवासहित विभिन्न धारका राजनीतिक शक्तिहरू एक भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) घोषणा गरिएको थियो।

हाल प्रलोपामा पाँच सदस्यीय अध्यक्ष परिषद् गठन गरिएको छ। पार्टीमा जनार्दन शर्मा केन्द्रीय सदस्यका रूपमा रहेका छन् भने डा.बाबुराम भट्टराई संरक्षकको भूमिकामा छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी युवा पुस्ताको विद्रोहपछि पार्टीमा युवापुस्ताको उल्लेखनीय उपस्थिति देखिएको छ। यही पृष्ठभूमिमा प्रलोपाले अध्यक्ष परिषद्मै जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्दै ओजश्वी भट्टराईलाई अध्यक्ष परिषद् सदस्यका रूपमा समेटेको छ।

प्रकाशित: २ पुष २०८२ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast